Search

सरकारकै असफलता र अकर्मण्यताको असर सडकमा देखियोः दलहरु

सरकारकै असफलता र अकर्मण्यताको असर सडकमा देखियोः दलहरु

बाँपीझ्याला, काठमाण्डौं । सरकारको कमजोरी तथा अर्कमण्डताका कारण देशभर जनतामा असन्तुष्टि बढेको र त्यसको परिणाम सडकमा देखिन थालेको तथा केही पक्षहरुले त्यसलाई आफ्नो हित अनुकुल प्रयोग गर्न थालेको दलका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदली बैठकमा नेपाली कांग्रेससहितका विपक्षी दलका नेताहरुले सरकार जनताको भावना विपरित चलेको र जनता अपेक्षा अनुसार काम गर्न असफल भएको बताए ।

बालुवाटारमा भएको बैठकबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भने, ‘हामीले सरकार कोभिड–१९ को महामारी नियन्त्रण तथा त्यससँग जोडिएका विषयमा सरकार पूर्ण रुपमा असफल भएको बतायौँ । रोकथाम र उपचारमा नागरिकको पहुँच दिन सकेको छैन । सचेतना अभियान कमजोर भयो । स्वास्थ्यकर्मीको सुरक्षा हुन सकेन ।’

सरकारको तर्फबाट भ्रष्टाचार तथा अनियमितता, विभेदकारी र मदनकारीसत्ता एवम् लोकतान्त्रिक संविधानको मर्म विपरित कमजोर बनाउने प्रयास भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।

हिन्दू राज्य तथा राजसंस्थाको पक्षमा सडकमा भइरहेका आन्दोलन पनि सरकारप्रति जनताको असन्तुष्टिकै परिणाम रहेको बताएको कांग्रेस नेता डा. महतले बताए । उनले भने, ‘त्यो वर्तमान सरकारप्रतिको असन्तुष्टि हो, विभिन्न कोणबाट आ–आफ्नो हित अनुकुल प्रयोग गर्ने प्रयास भएको छ । संविधान कार्यान्वयनमा सरकारले गम्भीर त्रुटी गरेको छ ।’

यस्तै चाँडो भन्दा चाँडो संसद अधिवेश बोलाउन र संवैधानिक निकायमा पद पूर्ति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

यस्तै राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भ्रष्टाचार तथा अनियमितता भएको बताएको जानकारी दिए । यस्तै सरकारको कार्यशैलीका कारण अहिले विभिन्न खालका जनताका असन्तुष्टि सडकमा देखिन थालेको बताएको उनले उल्लेख गरे ।

यस्तै राप्रपाका नेता दीपक बोहोराले आफ्नो पार्टीले वर्तमान संविधानप्रति प्रतिवद्धता जनाउँदै हाल भइरहेका प्रदर्शनहरुमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए । उनले भने, ‘हामीले यहि संविधान भित्र हिन्दू राज्य र राजसंस्थाको स्थानका सम्बन्धमा सर्वदलीय छलफल गर्न प्रस्ताव गरेका थियौँ । तर अरु कुनै दलले यसबारे कुनै कुरा उठाएनन् ।’

कोभिड महामारीमा सरकारको असफलता तथा भ्रष्टाचारबारे पनि आफूहरुले कुरा उठाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सबै आलोचना तथा सुझावलाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएको नेताहरुले जानकारी दिएका छन् । तर उनले केही आरोपहरु भने आधार हिन रहेको समेत बताएका थिए ।

सत्तारुढ दल नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु पनि सहभागी थिए, तर प्रधानमन्त्री बाहेक कोही पनि बोलेनन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!