Search

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

बाँपीझ्याला, सत्तारुढ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू भएको छ । बैठक दिउँसो १ बजेका लागि तय भए पनि ढिला गरी शुरू भएको हो ।

बैठकअघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा एक्लाएक्लै वार्ता गरेका छन् । पार्टीभित्र विवाद चर्किंदै गएपछि गत कात्तिक २५ गतेयता दुवै अध्यक्षबीच एक्लाएक्लै वार्ता हुन सकेको थिएन । त्यसयता भएका पार्टी सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव र जवाफले विवाद बढाउँदै लगेको छ ।

ओलीसँग वार्ता गर्न अध्यक्ष प्रचण्ड दिउँसो १२ बजेदेखि बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको मंसिर १७ गतेको बैठकले आजका लागि बैठक बोलाएको थियो । बुधवारको बैठकमा ओली सहभागी नभएपछि विवादित एजेन्डामा छलफल भएको थिएन । आजको सचिवालय बैठकमा ओलीलाई अनिवार्य उपस्थित हुन बुधवारको बैठकले आग्रह गरेको थियो ।

प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । गत शनिवारको बैठकमा प्रचण्डले ओलीको दस्तावेज दम्भले भरिएको पोको भएको प्रारम्भिक टिप्पणी गरेका थिए ।

ओली र प्रचण्ड दुवै प्रस्तावमाथि छलफल गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा लैजानुपर्ने प्रचण्ड र माधव नेपाल समूहको माग छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने अडान लिएको छ । ओलीले प्रचण्डको प्रस्ताव सचिवालयले खारेज गरेर भदौ १६ गतेको सहमतिमा फर्किनुपर्ने लिखित प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते बोलाइएको भएपनि भोलि २१ गतेका लागि सारिएको छ । केन्द्रीय कमिटी बैठक मंसिर २५ गते बोलाइएकोमा हालसम्म यथावत नै छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!