Search

शीतलनिवासमा राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

शीतलनिवासमा राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

बाँपीझ्याला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढिरहेको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यकारी अध्यक्ष प्रचण्डलाई शीतलनिवास बोलाएर छलफल गरेकी छिन् । नेकपा विवादमा राष्ट्रपतिले चासो राख्दै आएकी छिन् भने यसअघि पनि पटक पटक उनले नेताहरुलाई बोलाएर विवाद मिलाउन पहलकदमी लिँदै लिएकी थिइन् ।

आजको भेटवार्ता पनि विवाद समाधानको प्रयासस्वरुप भएको बताइएको छ । प्रचण्ड राष्ट्रपतिलाई भेट्न बिहीबार साँझ शीतलनिवास पुगेका थिए भने करिब एक घण्टा शीतलनिवासमा बिताएर खुमलटार फर्किएका छन् । पार्टी विवादकै विषयमा छलफल भएको बताइएपनि कुराकानीको थप विषय खुलिसकेको छैन ।

आजै अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरेका थिए । नेकपाभित्रको विवादका कारण सचिवालय र स्थायी समिति बैठक समेत प्रभावित बन्दै आएको छ ।

गत कात्तिक २८ गतेको सचिवालयमा प्रचण्डले ओलीमाथि विभिन्न आरोप लगाउँदै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको थियो । त्यसपछि ओलीले मंसिर १३ मा प्रचण्डको काउण्टरमा प्रस्ताव ल्याएका थिए भने पार्टीभित्र अहिले पनि आरोप प्रत्यारोपको श्रृङ्खला जारी छ । विवादकै कारण बुधबारको सचिवालय बैठकमा ओली सहभागी भएनन् भने सचिवालय शनिबारसम्मका लागि सारिएको छ ।

ओलीले प्रचण्डको प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै त्यो फिर्ता नभएसम्म बैठक अघि बढ्न नसक्ने बताउँदै आएका छन् भने प्रचण्डसहितका इतर समूहका नेताहरुले भने ओली बैठकबाट भाग्न खोजेको टिप्पणी गर्दै आएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!