बाँपीझ्याला, काठमाण्डौ । काठमाडौंमा बसोबास गर्ने आदिवासी थारु समुदायका महिलाहरुले कोरोना महामारीका कारण यसपटक भर्चुअलमार्फत नै समाचकेवा मनाउँदैछन्।
थारु महिला सभा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘भर्चुअल समाचकेवा’ कार्यक्रममा थारु समुदायका महिला दिदीबहिनीहरुले समाचकेवाको विभिन्न लोक गीत गाएर समाचकेवा मनाउन लागिएको थारु महिला सभाका अध्यक्ष निलम चौधरीले बताइन्।
उनका अनुसार यो वर्ष कोरोना भाइरस( कोभिड १९)ले सबै क्षेत्रलाई प्रभाव पारेको तथा एकैठाउँमा भेला हुने स्थिति नहुने भएपछि प्रविधिको प्रयोग गर्दै थारुको संस्कृति जगेर्नाका लागि समाचकेवा मनाउन थालिएको हो।
कार्यक्रममा थारु समाज सेवी खिलानन्द लेखीले समाचकेवा थारु समाजको एउटा ओजिलो र ऐतिहासिक पर्व भएको बताए।
उनले भने, ‘ थारु समाजमाा भएको सामाजिक संस्कृतिका साथै त्यहाँ भएका विकृतिहरुलाई पनि खलपात्रका रुपमा प्रस्तुत गरिएको छ। खासगरी दिदीभाइबीचको स्नेह र मायालाई कुरौटेहरुले गलत तरिकाले व्यख्या गर्नेहरु त्यही ढंगले देखाइएको छ।’
उनका अनुसार थारु राजा किसन-भुसन सेनको छोरी समालाई कुरौटे (चुगला)ले चरित्र हत्या गर्न राजा कहाँ गलत चुकली लगाएपछि वनबास स्थिति उत्पन्न भएको र दाइ बहिनीको विछोड भएपछिको परिस्थितिलाई थारु समाजले हजारौ वर्षदेखि लोकगीतमार्फत समाचकेवा खेलेर मनाउँदै आएका छन्।
यस्तै थारु समाजसेवी एवं अगुवा महिला गीता चौधरीले थारु समाजमा भाइ-बहिनीको लागि विशेष चाड भएकाले यसलाई परम्परागत रुपमा मनाउँदै आए पनि समाजलाई राजनैतिक चेतनाको रुपमा अगाडि लैजानु पर्नेमा जोड दिइन्।