Search

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको जात्रा प्रांगणमै सिमित रहने

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको जात्रा प्रांगणमै सिमित रहने

रेखा शाक्य (राजमति)
स्वतन्त्र पत्रकार तथा फोटो पत्रकार

बाँपीझ्याला, काठमाण्डौं । चावहिलस्थित श्री चन्द्रविनायक तथा श्री भैरवनाथको जात्रा भोलि पूर्णिमाको दिन देखि शुभारम्भ हुँदैछ । तर प्रत्येक वर्ष तिथि अनुसार कार्तिक पूर्णिमा देखि कृष्णपक्षको तृतीया सम्म चार दिन मनाइने परम्परा रहेको यो जात्रा यो वर्ष चावहिल गणेश स्थानको परिसर भित्रै सिमित रहने भएको छ । देशमा विद्यमान कोरोना महामारीको प्रकोप बढ्दै गइरहेको अवस्था र सरकारी पक्षले पनि सर्वसाधारणको स्वास्थ्य सुरक्षा हेतु सार्वजनिक स्थलमा जात्रा पर्व संचालन नगर्नु भन्ने सूचना जारी गरेको अवस्थालाई मध्य नजर राख्दै यस्तो निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा समन्वय समिति, जात्रा संग प्रत्यक्ष सरोकार राख्ने गुठी पाला संस्था तथा व्यक्ति विशेष, श्री पशुपति आमलकोट कचहरी तथा का म न पा वडा नं ७ समितिको संयुक्त बैठकको गहन छलफलपछि भएको निर्णय अनुसार मंसीर १५ गते पालाहरु त्रिरत्न शाक्यको घरबाट श्री भैरवनाथको मूर्ति र जुजु मान शाक्यको घरबाट श्री गणेशको मूर्ति ल्याई चावहिल स्थित देवताको स्थानमा विराजमान गराइनेछ ।

सोहि बेलुकी गणेश भगवानको मूर्ति अगाडी हलिमलि सजाउने छ भने भैरवनाथको अगाडी धुनी बालिनेछ । यस्तै कुटुबहालस्थित जम्बोक (स्याल) राजा लाई त्यहींको शाक्य गुठीयारहरुले भातले सजाउने छ भने बेलुकी धुनी जलाउने छ ।

जात्राको सम्पूर्ण आवश्यकता धार्मिक विधिले पुर्याउने भएता पनि प्रत्येक वर्षमा जस्तै विभिन्न ठाउँमा खटमा घुमाउने र पूजा लिने कार्य भने रोकेको छ । तर जात्रा समन्वय समितिले भक्तजन र दर्शनार्थीको भावनालाई कदर गर्दै जात्रा विशेष पूजाको लागि मन्दिर परिसरमा रहेको दुईवटै ढोका विहान ३ बजे देखि साँझ सम्म मंसीर १६ र १७ गते भक्तजनबाट पूजा थाल लिई पालाहरुले नै गरिदिने व्यवस्था मिलाएको छ ।

अन्तमा जात्राको अन्तिम १८ पनि सोही प्रांगणमा सम्बन्धित गुठीयार र व्यक्तिविशेषहरुको रोहवरमा सिमित जनशक्तिको बीचमा सिन्दुर जात्रा गर्र्द जात्राको समापन गरिने भएको छ ।

प्राचीन तथा एैतिहासिक महत्वले भरिएको यस मन्दिरमा विभिन्न ठाउँबाट भक्तजनहरु आउने गर्दछ । यस मन्दिरमा विराजमान गणेशको पूजा भाकल गर्नेहरुले र विशेष गरी शुभकामको थालनीको लागि पनि गर्ने गरिन्छ । यस चावहिल गणेशको पूजा गर्दा बच्चा देखि बुढापाकाहरुको शरीरमा खटिरा आइ दुख दिइरहेकोमा किसली (माटोको प्यालामा चामल, गोलो सुपारी र पैसा राखि चढाउने) राखि पूजा गरेमा खटिरा निको हुने विश्वास अझै सम्म कायमै छ ।

साथै पूर्णिमाको राती यस मन्दिर प्रांगणमा बालिएको धुनीमा आफ्नो ढाड सेकेमा ढाड दुखाइको समेत निवारण हुने जनविश्वासमा सो दिन भक्तजनहरु आई आगोको रापले ढाड सेक्न आउने गरेको दृश्य वर्तमान अवस्थामा पनि हेर्न सकिन्छ । दैनिक रुपमा पूजा आजा हुँदै आएको यस मन्दिरमा विशेष गरी मंगलबार र शनिबार भने निकै भीड हुने गर्दछ । सवालाख बत्ती बाल्न आउने देखि लिएर विवाहको कार्यक्रम र बच्चाको पास्नीको दिन मन्दिरमा आई गणेश भगवानको समक्ष भात खुवाउने काम समेत हुँदै आइरहेको पाइन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!