Search

विकास आयोजनाको उच्चस्तरीय अनुगमन टोलीद्वारा अनुगमन

विकास आयोजनाको उच्चस्तरीय अनुगमन टोलीद्वारा अनुगमन

बाँपीझ्याला, सुदूरपश्चिम । सङ्घीय सरकारको विभिन्न निकायका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको आज स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको छ । उक्त सिँचाइ आयोजनाको अनुगमन गर्ने क्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले पूर्व तयारीको अभावले आयोजना निर्माणको काममा ढिलाइ देखिएको बताए ।


वलीले भने, “योजना सञ्चालन गर्दा आउनसक्ने अप्ठ्याराहरुको पहिले नै पहिचान गरी समाधान गर्न नसक्दा योजनाको काम द्रुत गतिमा अगाडि बढ्न नसकेको अनुगमनबाट देखिन्छ ।” उनले यो अनुगमनले आगामी योजनाहरुको पूर्वतयारीका लागि पाठसमेत सिकाएको बताए । ऊर्जा, जलस्रोत, तथा सिंँचाइ मन्त्रालयका सचिव मधुसुधन अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी देखिएका समस्याहरुलाई केन्द्रीय तहमा छलफल गरी समस्या समाधानको बाटो खोज्ने र कामलाई द्रुत गतिमा अगाडि बढाउने उद्देश्यका साथ आयोजनाको अनुगमन थालिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय गौरवको आयोजनाहरुको संयुक्त अनुगमन शुरु गरिएको बताए । उनले अनुगमनका क्रममा देखिएका आयोजनाका चुनौतीलाई मन्त्रिपरिषद्बाट समाधानको बाटो खोजिने बताए ।

उक्त सिँचाइ आयोजना प्रमुख केदार श्रेष्ठले आयोजनाको हालसम्म करिब ४८ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए । आगामी वैशाख भित्र मूल नहर र चालु आर्थिक वर्षको अन्तिमसम्म विद्युत् आयोजनाको उद्घाटन गरिने उनले बताए । “हामी योभन्दा पनि छिटो काम गर्न सक्थ्यौँ, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो,“ मुआब्जा वितरण र वनको रुख कटानीको प्रक्रियामा जानु पर्दा काममा बाधा पु¥याएको थियो ।”

उच्चस्तरीय उक्त टोलीमा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र अर्थ मन्त्रालयका सहसचिब धनीराम शर्मासमेत सम्मिलित थिए ।

जिल्लाको पूर्वी सीमा कर्णाली नदी मुहान भएको यो आयोजनाको मुहानको इन्टेकबाट पश्चिमतर्फ जाने आठ दशमलब आठ किलोमिटर लामो मूल नहरको निर्माणको काम पूरा भइसकेको छ । चिसापानी स्थित मुहान (इन्टेक)मा पानी नियन्त्रण गर्न निर्माण पूरा भएका आठ वटा ढोकाबाट नहरमा पानी खसाल्ने व्यवस्थाका लागि गेट उचाल्ने र बन्द गर्ने उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ ।

मूल नहरको दक्षिणतर्फको फिडर नहरमध्ये दश दशमलव ५० किलोमिटर लामो फिडर नहरको निर्माण पनि पूरा भएको छ । यस्तै लम्कीतर्फको विस्तार नहर १४ दशमलव सात किलोमिटर लामो रहेकोमा छ किलोमिटर लामो नहर निर्माण पूरा भएको छ ।

लम्की विस्तार तर्फको बाँकी भागमा मानव बस्ती रहेकाले सो क्षेत्रमा जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ । यो क्षेत्रमा नहर निर्माणका लागि रेखाङ्कन भएको ठाउँमा कूल ३९ हेक्टर जग्गाको मुआब्जा दिनु पर्नेमा हालसम्म ३६ हेक्टर जग्गाको मुआब्जा सम्बन्धित जग्गा धनीलाई वितरण गरिसकिएको छ ।

आयोजना अन्तर्गतका रानी, जमरा र कुलरिया फिडर नहरका तीन वटै इन्टेक निर्माण पनि पूरा भइसकेको छ । दक्षिणतर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाट विद्युत् आयोजनाको विद्युत् गृह निर्माण कार्य ७० प्रतिशत पूरा भइसकेको छ ।

नेपाल सरकारको लागत र जनश्रमदानसमेतबाट विसं २०६६ बाट निर्माण शुरु गरिएको यो आयोजनाको पहिलो चरणको निर्माणको काम आर्थिक वर्ष २०७४÷०७५मा पूरा भएको थियो । आर्थिक वर्ष २०७५÷०७६ बाट दोस्रो चरणको काम शुरु गरिएको थियो ।

विश्व बैंकको ऋण सहयोगसमेत रहेको यो आयोजना निर्माणको काम आगामी सन् २०२३ मा पूरा गर्ने लक्ष्य लिइएको छ । मूल नहरको रेखाङ्कनमा परेको मुक्त कमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण विगतमा केही समय आयोजना निर्माणले गति लिन सकेको थिएन ।

मुक्त कमैया बस्तीका परिवारलाई हाल जग्गाको सट्टा भर्ना दिई अन्यत्र ठाउँमा पुनःस्थापना गरिसकिएको छ ।

आयोजना अन्तर्गतनै पूर्वपश्चिम राजमार्गको समानान्तर हुने गरी विस्तार गर्न लागिएको लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदीसम्मको थप करिब छ हजार हेक्टर र दीर्घकालमा कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

आयोजनाको सिँञ्चित क्षेत्रको जग्गालाई कटान रोकथाम गर्न कर्णाली, चोरी, चरेला, रोरा, पथरैया नदी र जिल्लाको दक्षिणी सीमाको मोहना नदी नियन्त्रणको कामसमेत भइरहेको छ ।

कोभिड—१९को सङ्क्रमणका कारण शुरुका महिनामा निर्माण कार्यमा प्रभाव परे पनि अहिले निर्माण कार्य निरन्तर भइरहेको आयोजनाका सूचना अधिकारी पेमा लासिवाले बताए ।

आयोजनाको निर्माण शुरु गरिएसँगै जिल्लाको पूर्वी क्षेत्रमा कृषि उत्पादन वृद्धिसम्बन्धी विभिन्न क्रियाकलापसमेत भइहेका छन् ।

झण्डै १२० वर्ष अघिदेखि नै स्थानीय कृषक समूहद्वारा आफ्नै परिश्रमले व्यवस्थापन र प्रयोग हुँदै आएको यो ठूलो सिँचाइ प्रणाली हो । आर्थिक वर्ष २०६६÷०६७ देखि नेपाल सरकारले यो सिँचाइ प्रणालीलाई आधुनिकीकरण गर्न शुरु गर्दै राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो ।

यो आयोजनाको निर्माण पूरा भएमा लम्कीचुहा नगर क्षेत्र र टीकापुर नगर क्षेत्रको १४ हजार ३०० हेक्टर जग्गा सिँचाइ सुविधा पुग्ने भई एक लाख ४२ हजार ३६६ जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।

अनुगमन टोलीले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग प्रदेशमा सञ्चालित ठूला विकास आयोजनाबारे छलफल गरेको थियो । बिहीवार नै टोलीले कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजना र महाकाली नदीमा निर्माणाधीन पुलको स्थलगत अनुमगमन निरीक्षण गरेको थियो । रासस

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!