रेखा शाक्य (राजमति)
स्वतन्त्र पत्रकार र फोटोपत्रकार
बाँपीझ्याला, काठमाण्डौं । ३८० वर्ष पुरानो भनिएको पाटनको कार्तिक नाच यो वर्ष कोँरोना संक्रमणको कारणले दुई दिन नचाई समापन गरिने भएको छ । आज शुक्रबार बराह नाच र भोलि शनिवार नृर्सिह अवतार देखाउने छ । प्रत्येक वर्ष पाटन मंगलबजारको कार्तिक दबलीमा १२ दिन सम्म नचाउने रही आएको नाचलाई यो वर्ष सुरक्षा हेतु २ दिनमा छोट्याएर समापन गर्न लागेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचारसंयोजक सञ्जय शर्माको भनाइ रहेको छ ।
यो नाच राजा सिद्धिनरसिंह मल्लले चलाएको भनि इतिहासमा उल्लेखित छ । परम्परा अनुसार पाटनको यो कार्तिक नाच कछलाथ्व पंचमी अर्थात मंसीर ४ गते देखि शुरु हुनु पर्ने हो । तर वर्तमान अवस्थालाई मध्यनजर गरी नाचलाई छा्ेट्याउने तवरले हिजो बिहिबार मात्रै धार्मिक विधिपूर्वक नाट्येश्वरीको पूजा गरिएको छ ।
परम्परा अनुसार नाचको पहिलो दिन बाथः नाच, दोश्रो दिन नदि पार गराउने, तेश्रो दिन उषाहरण लिलाको साथमा वाणासुरलाई सहश्रभुजा वरदान चौथो दिन उषा अनिरुद्र श्रृंगार त्यसपछि क्रमश दिनमा देवी नाच, युद्ध कला, वाणासुरको सहश्रभुजा काटिने, जलशयन, मधु कैटव वध, वराह अवतार (हिरण्याक्ष वध), नृसिंह अवतार (हिरण्यकश्यपु वध) वस्त्रहरण लिला र दधि लिला देखाई कातिर्क नाचको समापन गरिने परम्परा रहीआएको थियो ।
राजा सिद्धिनरसिंह मल्लले चलाएको यो नाच विश्वकै लामो नाट्य परम्पराको रुपमा लिने गरिन्छ । राजा सिद्धिनरसिंह मल्लले कृण्णलीलामा आधारित यस नाचलाई ७ दिन सम्म चलाउने गरेकोमा पछि छोरो श्रीनिवास मल्लले लोक नाटक पनि थप गरि १५ दिन सम्म चलाउने परम्परा बसाले भने श्रीनिवासको पनि छोरा योगनरेन्द्र मल्लले शास्त्रीय नाच समेत थप गरी १ महिना सम्म देखाउने परम्परा चलाएको कुरा इतिहासमा उल्लेखित छ । पछि आर्थिक संकटको कारणले २ दिनमा पनि छोट्याएको इतिहासमा उल्लेखित छ । पहिला जस्तो भएपनि पछि १२ दिन सम्म नचाउने परम्परा चलिंदै आइरहेको देखिन्छ ।
यो नाचमा पुग नपुग १०० जना कलाकारको सहभागिता रहने गर्दछ । नाचमा भूमिका निभाउनेमा राजोपाध्याय, जोशी, चित्रकार, श्रेष्ठ लगायत अन्य नेवाः समुदायकाले पनि सहभागिता जनाउँदै आइरहेकाछन् ।