अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरमा आज १ः४३ देखि २ः५४ सम्म आएर एकछिन रोकिएको थियो फेरी निरन्तर ३ः५४ सम्म पसिना आएर रोकिएको छ । । मध्यान्ह पूजाको लागि राजपूजा पालो पर्ने गुठीयार बन्द मन्दिर प्रवेश गर्दा पसिना आएको थाहा भएको छ । वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर नगरपालीका वडा नं. –२ का वडाध्यक्ष विराजमान श्रेष्ठको र गुठीयार भरत श्रेष्ठको भनाई रहेको छ ।

भीमसेन (भीमेश्वर) को शिला (मूर्ति) मा पसिना र जनविश्वास :
भीमेसेनको शिलामा पसिना आउनुकोे आफ्नै मौलिक विशेषता रहेको छ । देशभित्र देशबाहिर कुनै दुर्घटना अथवा बिघ्नबाधा वा संकट पर्नुभन्दा पूर्व भीमसेनको शिलामा पसिना आउँछ भन्ने विश्वास यहाँका स्थानीय बासिन्दाहरुको रहेको छ । भीमसेनको शिलामा आउने पसिनालाई देशमा संकट पर्ने भविष्यवाणीको बलीयो सूचकको रुपमा पनि लिने गरिन्छ । हुन त दोलखामा हालसम्म उपलब्ध पुराना ताम्रपत्र, भोजपत्र, ताडपत्रमा शिलामा आउने पसिनाको बारेमा उल्लेख छैन तापनि भीमेश्वरको मन्दिरको देव्रेपट्टि स्थित गदा एक अंगुल उठेको भनी वि.सं. १८३२ मा उल्लेख गरिएको पाइएको छ । वि.सं. १९९० सालको भूकम्प आउनुपूर्व भीमेश्वरको शिलामा पसिना आएको भन्ने यहाँ का बयोबृद्ध स्थानीय बासिन्दाहरुको भनाई रहेको छ ।

यसै गरी बि.सं. १९९७ सालमा चार शहीदहरुलाई मृत्युदण्ड दिनुपूर्व, वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलन हुनुपूर्व, २०११ सालमा राष्ट्रपिता त्रिभुवनको स्वर्गारोहन हुनुपूर्व, वि.सं. २०२८ सालमा श्री ५ महेन्द्रको स्वर्गारोहण हुनुपूर्व, वि.सं. २०४५ मा भूकम्प आउनु पूर्व, २०४६ सालको जनआन्दोलनपूर्व भीमेश्वरको मूर्तिमा खलखल्ती पसिना आएको कुरा स्थानीय बासिन्दाहरु बताउछन् । वि.सं. २०५७ सालको माघ महिनाको १ गते बेलुका ६ ः४० बजे र माघ १४ गते बेलुकाको ५ ः४० बजे गरी २ पटक भीमेश्वरको मूर्तिमा पसिना आएको थियो ।

यसलाई २०५८ साल जेठ १९ गते राजदरबारमा घटेको राजपरिवारका सदस्यहरुको त्रासदीपूर्ण घटनाको पूर्व सूचनाको रुपमा उभ्याएका छन् । त्यस्तै गरी २०६४ साल माघमा आएको थियो । यसैगरी २०७० साल मंसिर ३० गते र माघ १३ गते दोलखा भीमेश्वरमा पसिना आएको थियो । यसलाई २०७२ साल बैशाख १२ गते र २९ गते आएको भुकम्पलाई जोडिएको छ । यसै गरी २०७४ असोज १० गते दिउँसो २ः५५ देखि ५ः१५ सम्म आएको थियो । यसै गरी २०७६ साल फागुण ८ गते विहिवार विहान ६ः२८ बजे देखि ७ः२५ सम्म आएको थियो । विश्वमा कारोना भाईरसको संक्रमणलाई जोडिएको छ ।
यसै गरी आज २०७७ मंसिर ९ गते दिउँसो मध्यान्ह पूजाको लागि गुठीयार बन्द मन्दिर भित्र प्रवेश गर्दा पसिना आएको जानकारी प्राप्त भएको छ । दिउँसो १ः ४३ देखि २ः ५४ सम्म पसिना आएको छ । यसरी आज भीमेश्वको शिलामा आएको पसिनाले देशमा के अनिष्ट गर्ने हो भनी स्थानिय वासिन्दाको भनाई रहेको छ ।
यसरी यो पटकसम्म दोलखा भीमेश्वरमा १८ औं पटक पसिना आएको छ । यी घटनाक्रमले गर्दा दोलखा भीमेश्वरको मूर्तिमा पसिना आएपछि देशभित्र केही घटना आउन सक्ने संकेत अर्थात पूर्वानुमान गर्न थालिएको छ । भीमसेनको दायाँ पट्टीबाट पसिना आयो भने राजपरिवारलाई र बायाँपट्टि पसिना आयो भने जनतालाई अनिष्ठ हुने धार्मीक मान्यता रहँदै आएको छ । यसरी भीमेश्वरको शिलामा पसिना आउँदा वरिपरिका द्रौपदी, कुन्ती, गदा र प्रवेशद्वार माथिको तोरण, क्षेत्रपाल (क्षापर) मा समेत पसिना आउंछ ।

यसरी पसिना आउंदा दिक्षा कर्म भएका पुजारीबाट मात्र पसिना पुछ्ने चलन छ । पसिना पुछेको रुवा र प्रसाद सहित जिल्ला प्रशासन कार्यालय मार्फत राजदरबारमा खबर पठाउने परम्परा रहेको थियो भने हाल जिल्ला प्रशासन कार्यालय रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतीको कार्यालयमा गुठीयारहरुले सिधै पु¥याउने गरेका छन् । यसरी खबर पठाई सकेपछि राजदरबारबाट क्षमा पूजा स्वरुप बोका पूजा पठाउने चलन रहेको थियो भने हाल यसलाई राष्ट्रपतीको कार्यालयले क्षमा पुजा पठाउने गरिएको वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले र स्थानिय गुठियार भरत श्रेष्ठको भनाई रहेको छ ।