Search

द्वाल्खाको ऋणी बने म यसपटक –२ जात्राको पहिलो दिन जनैपूर्णिमा

द्वाल्खाको ऋणी बने म यसपटक –२ जात्राको पहिलो दिन जनैपूर्णिमा

पहिलो भागको केही अंश …
कृष्णनारायणजीले त्यहीं थाब्न बजारमा अर्को एकदुई ठाउँमा बस्नको लागि प्रयास गरिदिनु भो तर सब विफल । कारण काठमाडौंमा कोरोना संक्रमित बढेको खबर । म पनि काठमाडौंबाटै आएकोले मैले कोरोना साथै ल्याउने सम्झिनु भो क्यारे माथिल्लो बजारमा त्यसैले कसैले पनि राख्न मानेन । अब के गरुँ ?

रेखा शाक्य, (राजमति) हाल ताहाचल
स्वतन्त्र पत्रकार/ फोटो पत्रकार

जान त सोम भाई र हरी सरको घरमा जान सकिन्थ्यो तर भोको पेट र दुइटा ठूलो ब्याग लिइ पुनः तल्लो टोलमा जाने साहस म मा थिएन । कृष्ण नारायणजीले अन्तमा भाई अजय प्रधानलाई फोन गर्नु भयो । वहाँले आफ्नै बन्दै गरेको ूदी पुखुर्चा रिर्सोटू मा मलाई राख्न भन्नु भो । मनमनै वहाँको सहृदयलाई धन्यवाद दिएं । मेरो थाकेको ज्यान देखेपछि कृष्णनारायणजीले नै ब्याग तान्दै गन्तब्य सम्म पुर्याइदिनु भो । बल्ल ज्यानमा ज्यान आयो । नभन्दै विक्रम भाइले पहिलो तल्लामा मेरो लागि भनि कोठा खोलिदिनु भयो । म सबै सामान सहित भित्र छिरें र कृष्णनारायणजीलाई धन्यवाद दिई बिदा दिएं ।

कोठा ठूलो थियो साथमा अट्याच बाथरुम । एक साइडमा सिंगल बेड थियो भने अर्को साइडमा बेडहरु तीनवटा सँगै जोडेर राखेका थिए । शायद ग्रुप आउनेहरुलाई ध्यानमा राखेर त्यस्तो व्यवस्था गरेको होला । कोठाको झ्याल खोलें । सिधा द्वाल्खा प्रवेशद्धारले मलाई हेरी मुस्कायो भने परबाट सदरमुकाम चरिकोटले पनि म यहाँ छु भनि दर्शन दियो । जस्तो वातावरण र माहौल सोचेको थिएं त्यो भन्दा बढी राम्रो बासस्थान पाएपछि मन त्यसै फुरुंग हुने नै भयो । एकछिन चरिकोटलाई हेर्दै बसें । के के भन्न मन त ती सौन्दर्यले भरिपूर्ण वातावरण देखेरे थियो नै तर वाक्यले साथ दिएन बस मनको कुरा मनमै गुनेर राखें । लामो सास फेरें । मनमनै अजयलाई पुनः धन्यवाद दिएं ।

भी.न.पा. –२ का वडाध्यक्ष विराजमान श्रेष्ठको नेतृत्वमा कालिञ्चोकबाट आउँदै गरेको डापा खलक त्रिपुरासुन्दरी मन्दिर परिसर नजिकै

मन त थियो थाकेको जिउलाई विश्राम दिनुका साथै शरीरलाई दोलखाको पानीले स्नान गराउन । तर सास फेर्न पाएको थिएन बाजाको आवाज सुनियो । अहो १ कालिन्चोक गएका दापा खलक फर्किएको हो कि भनि मन हतारियो । हतार हतार फ्रेस भई एक अञ्जुलि पानीले मुखमा स्पर्श सम्म भएपनि गराएं । लुगा चेन्ज गरें र क्यामरा व्यागबाट नचाहिने सबै झिकेर चाहिने सामान मात्रै लिई थाब्न बजारतिर लागें ।
बजार पुग्नु अगावै दुइजना बृद्धा बज्यैहरु भेटें । मुसुक्क हाँसी दिएं । जवाफमा वहाँहरुले पनि हाँसेर आफ्नोपनको आभाष दिनु भो । म निकै थाकेकी थिएं त्यसमाथि विहान घर छोड्नु अघि चार पाँचवटा विस्कुट मात्रै खाएकी । खुट्टा र शरीरले घुर्की देखाउन थालिसकेको थियो तर पनि पहिला काम अनि पछि खानपान भनेर आफैलाई सम्झाएं । म त्यहीं ती बज्यैहरुको छेउमा बसें ।

दुई मध्ये एकले सोध्नु भो ( ूकहाँबाट आएकी ? को संग आएकी ?ू मैले जवाफमा ( ूकाठमाडौंबाट एक्लै आएकीू भने पछि ूयसरी एक्लै आउनु हुन्छ र ? बुढो साथ लिई आउँदा भै हाल्छ नी भन्नु भो ।ू

वहाँहरुको कुरा सुनेर दिल खोलेर हाँसे र भने ूम त अविवाहित छु । एक्लै छु त्यसैले त यस्तो कोरोनाको बेलामा पनि एक्लै आउन सकें नत्र कहाँ आउन पाउँछ र ।ू मेरो कुरा सुनेर दुबै जना खुब हाँस्नु भो । एकछिन वहाँहरुसंग भलाकुसारी पछि म पुनः थाब्न बजारतिर लागें त्यहीं बसी प्रतिक्षा गर्न थालें । त्यति नै बेला दिपक स्वप्नीलजीलाई फोन गरी आफू द्वाल्खा पुगेको जानकारी दिएं । वहाँले पछि भेट्छु भन्दै फोन राखिदिनु भो । मन चसक्क दुख्यो । काठमाडौंबाट कुरा गर्दा खेरी त बस पार्क पुगेपछि फोन गर्नु लिन आउँछु समेत भन्नेले पछि भेट्छु भनेपछि मन अमिलो भो ।

सोचें काम भएरै त भनेको होला नि । फेरी म संग पहिला देखिको दोस्ती पनि त थिएन किन मेरो फोन आउने वितिक्कै दौडेर आउँछ भनि आफै मुस्काएं । एक्लै हुँदाखेरी आफैसंग कुरा गर्ने मेरो पहिला देखिको बानी । जसको कारणले म कहिल्यै आफूलाई एक्लो अनुभव गर्दिनथें । कतै जाँदा एक्लै भो भने यसरी नै कोहि साथीलाई कुरा गरेको सरी आफै दोहोरो मनमनै कुरा गर्दै बस्थें ।

जनैपूर्णीमा अर्थात ठुलो लाखे नचाएको दिन डाँपा खलक सँगै कालिञ्चोकबाट स्थानियवासिन्दाहरुले देउधारा ल्याउँदै

समय खेर फाल्नु भन्दा पूजाको काम सक्याउनु बेस लागेर घरबाट किसली ल्याएको भिमसेनलाई चढाई दर्शन गरें साथै पुजारी दाइ मोहनजी संग सिँढीमा बसि सम्झना रुपि फोटो खिचें । त्यहाँबाट फर्केर पुनः बजारतिरै आएं ।

म अति थाकिसकेकोले बजारको महादेवको सिँढींमा बसें र प्रतिक्षा गर्न थालें । संगै द्वाल्खाको स्थानीय बच्चाहरु खेल्दै थियो । तिनिहरुसंग दोस्ती गर्न थालें । मेरो हाते व्याट्रीवाला सानो पंखाले शितलता लिंदै गरेको दृश्य उनीहरुको लागि नौलो लाग्यो होला शायद । म तिर बच्चाहरु झुमिन थाल्यो । म त बच्चाहरुको हूलमा झन बच्चा बन्न मन लाग्ने उनीहरुसंग ख्यालठट्टा गर्र्द बस्न थालें ।
बाजाको आवाज अब अलि नजिक नजिक पुगेको भान भएपछि मेरो मुटुको धडकन स्वतः बढ्न थाल्यो । किन ? शायद दुई परिचित नजरसंग प्रत्यक्ष हुने अवसर पो पाउने हो कि । म आफैं संग मनमनै ठट्टा गर्न थालें । क्यामरा तयारी अवस्थामा राखें । नभन्दै सबै जना लहरै बाजा बजाई ढापा खलक बजारमा प्रवेश गरे । दुई पाइला म तिर आएको देखें । अहो १ संजीप भाई पो रै छ । संजीप भाई र म काठमाडौं र ललितपुरमा बसे पनि प्रत्यक्ष भेट भएको यो नै पहिलो अवसर थियो । उसले मलाई टाढाबाटै चिनेर आएको रहेछ ।

अं त्यति नै बेला बाजा भन्दा अगाडी कालिन्चोकबाट लिएर आएको त्यो लामो रुख जस्तो लिएर आउने लहरमा अर्को परिचित अनुहार पनि देखें सुप्रिम जोशी भाईको । हाँसेर द्वाल्खामा स्वागत गर्नु भो भाईले । अब सबै चैत्यको परिक्रमा गर्ने सूरमा लाइन मिलाएर जान थाले म फोटोको साथै भिडियो खिच्न थालें ।

त्यहि लहरमा एक परिचित नजर कालो चश्माको पछाडी लुकाइ बाजा बजाई अगाडी बढ्दै आउन थाल्यो । मेरो अधर स्वचालित रुपले मुस्काउन थाले । मेरो क्यामराको लेन्सले दनादन फोटो खिच्न थालें । तर मेरो नजर तिखो भए जस्तै कालो चश्माको पछाडीको नजरले मौकाका फाइदा उठायो मलाई देखे पनि नदेखे सरी अगाडी बढ्यो ।

जनैपूर्णीमा अर्थात ठुलो लाखे नचाएको दिन तल्लो टोल श्यामसुन्दर स्थित पौरीखेल्नु भन्दा अगाडीको पोखरी र पछाडी पट्टी जग्य गरेको धुवाको मुस्लो

द्वाल्खा भिमसेनतिर अगाडी बढे पछि म पनि पछिपछि लागें । भिमेश्वरको प्राङ्गणको परिक्रमा पछि पुनः त्रिपुरासुन्दरी मन्दिरतिर गयो । अब भने मलाई भोकले सताउन थालेको थियो भने शरीरको साथै पाइलाले पनि साथ छोड्न लागि सकेको थियो । तर कृष्णनारायणजीको अनुरोधमा सकि नसकी पुनः बाजाको साथमा त्रिपुरासुन्दरी पनि गइयो भने त्यहाँबाट दुंगलटोल हुँदै अगाडी कोर्छेसम्म पुगें । पानी फाटफुट पर्न थालिसकेको थियो । आफूलाई भन्दा क्यामरालाई पानीबाट जोगाउनु थियो । त्यसैले कोछेँकै मन्दिरको फल्याकमा एकछिन थकाई मारें । पानीले आफ्नो बेग बढाउन थाल्यो । त्यसैले त्यहीं मन्दिरमा ओत लागि बसें ।

ढापा खलकको बाजा बजाउनेहरु पनि बिस्तारै मन्दिर परिक्रमा गर्दै अगाडी म भएतिर बढ्दै आयो । हो त्यति नै बेला ती परिचित मुहारको कालो चश्मा आँखाबाट झरी छातिको टिर्शटमा झुण्डिसकेको देखें र लाख कोशिशको वावजुद पनि दुबैको नजर चार भई हाले । तब बल्ल अगाडीको व्यक्तिले मुस्कुराई दियो । मन खुशीले प्रफुल्लित भो । यति नै मुस्कान अघि शुरु मै दिएको भए मेरो भोक मात्रै होइन थकाई पनि मर्ने थियो नी भनि जिस्क्याउँने मन पक्कै भएको हो तर बोलि नफुटेका लाई बोलाउने मैले प्रयास गरिन । उ आफ्नो बाटो लाग्यो म त्यही बसेर जाँदै गरेको नजारा हेर्दै बसें ।

त्यहीं एक फेसबुकमा मलाई चिन्नेले बोल्नु भो । नाम सोधें ूसूर्य नारायण मल्लू भनि आफ्नो परिचय दिनु भो । वहाँ संग एकछिन भलाकुसारी गरें । द्वाल्खामीको मन ठूलो । मलाई वहाँले थकित र भोकै भए आफ्नो घरमा विश्राम र चियापानको लागि आग्रह गर्नु भो । म नतमस्तक भएं । वहाँलाई धन्यवाद दिंदै ब्यागमा भएको एक पाकेट चाउचाउ र फु्रटी पिउँदै बसें । पानी अलि कम भएपछि सोम भाईको घर सोध्दै पुगें ।

जनैपूर्णीमा अर्थात ठुलो लाखे नचाएको दिन ठुलो लाखेको समापन पछी थरीहरुको घरमा गई टिका लगाउने क्रममा

सुषमाले न्यानो स्वागत गर्याे । मन खुशीले गद्गद् भो । किनकी सुषमा सोमभाईको अर्धान्गिनी जसलाई पहिला कहिले पनि भेटेको थिइन । मात्रै सोम भाईले म आउँछ भनि जानकारी दिएको सम्म रहेछ । तर पहिलो भेटमा मलाई कुनै अन्जान व्यक्तिसंग अन्जान ठाउँमा भेटेको महसुस गर्न दिएन सुषमाले । एकछिन पछिको कुराकानी पश्चात पुनः बेलुकीको खाना खान निम्तो दिनु भो । मैले पनि हुन्छ भनि त्यहाँबाट बिदा भएं । किनकी ड्वाकस लाखे निकालिने दिन थियो जुन मलाई कभर गर्नु थियो । तसर्थ म जात्रा कभर गर्न तिर लागें ।

बाहिरको माहौल उल्लासपूर्ण भइसकेको थियो । दाउरेहरुको साथै अन्य हाँस्यव्यंगका पात्रहरु शरीरमा कसैले ूकोरोनाबाट बाचौं र बचाउँकोू नारा लेखेको थियो भने कोही आफ्नो मुख र शरीरमा विभिन्न रंगले पोतेर विभिन्न हाउभाउ देखाउँदै हेर्नेहरुलाई मनोरन्जन दिंदै थियो । बिस्तारै स्थानीयवासीहरुको हुल बढ्न थाल्यो भने बाजा पनि घंकिन्दै थियो । म कहिले उनिहरुको ग्रुप फोटो खिच्दै त कहिले पछाडीको दृश्य सहितको आफ्नो सेल्फी खिच्न थालें । त्यही बिचमा एक जोडी कालो क्याप लगाएको मानिस जो भिमसेन मन्दिर देखि मलाई पछ्याउँदै गरेको झल्याँस सम्झें । त्यो व्यक्ति मेरो लागि एकदम अन्जान थियो । मैले पहिला आउँदा पनि देखेको स्मरण थिएन । मैले याद गरें सो व्यक्तिले आफ्नो मोबाइलबाट मेरो फोटो खिच्दै गरेको । त्यसपछि मैले नै सामुन्ने गई वहाँसंग कुराकानी गर्न थालें ( ू के हामी पहिले कहिं भेटेका थियौं र ?ू जवाफमा मुस्कान सहित वहाँले भन्नु भो ूम फेसबुकमा तपाईको हरेक क्रियाकलापलाई सँधै नियालि राख्ने फेसबुक साथी ।ू त्यसपछि वहाँले म कहिले कहाँ जान्छ र के के स्टाय्टस्मा लेख्छ भनि मलाई दुई चार कुरा खरररर सुनाउन थाल्नु भो । म वहाँको कुरा सुनेर हाँसेर मात्रै बसें र धन्यवाद दिएं । त्यसपछि एक सेल्फी वहाँ संग पनि खिचें वहाँ थियो आर एन प्रधान । वहाँकै मदतले ड्वाकु डाकस जो वहाँको भाइ भरत प्रधान हुनुहुन्छ । वहाँ संगै बसि फोटो खिच्ने अवसर समेत मैले लिएं ।

वहाँ संग विदा लिई म पुनः ड्वाकु राकस लाखेका साथै अरु पात्रहरुको विभिन्न पोजको फोटो खिच्न थालें । त्यही बीचमा अर्कों आवाजले मलाई बोलाउनु भो । पछाडी फर्कीै हेरें दुंगल टोलका हरी श्रेष्ठ रातो टिर्शटमा मलाई हेरी मुस्कुराउँदै थियो । वहाँसंग भेट भएपछि खुशी व्यक्त गरें र साथमा फोटो खिचें ।
वहाँले गुनासो पोख्नु भो वहाँको घरमा बास बस्न नपुगेको मा । म १० दिन द्वाल्खा मै रहने र कुनै एकदिन अवश्य चिया खान आउँछु भनि वहाँको आतिथ्यलाई धन्यवाद दिएं । लगतै अर्को बहिनी विन्दिया श्रेष्ठलाई त्यहि हुलमुलमा भेटें । मैले फेसबुकमा मात्रै देखेकी थिएं तर वहाँले मलाई देखेर मुस्काउनु भो । सोधें ( मलाई चिन्छौं ? जवाफमा फेसबुकमा तपाईलाई देखिराखेकी हुन्छु भन्नु भो । मेरो लागि यो अर्को खुशीको क्षण थियो । लाग्थ्यो द्वाल्खामा मेरो कोही छैन तर त्यो अन्जान नगरमा पनि मलाई चिन्छु भन्नेहरु भेट्दा भित्री मनदेखि माया जागेर आयो । शायद द्वाल्खा संग मेरो अन्तर्मनको कुनै नाता थियो होला जसको कारणले द्वाल्खाको नाम सुन्दा पनि मन हतास हुन्थ्यो र मन त्यहाँ पुग्न छटपटिन्थ्यो । सँधै लाग्थ्यो द्वाल्खासंग मेरो कुनै आत्मिक भावनात्मक सम्बन्ध छ । कुनै अन्जान शक्तिले मलार्ई सम्मोहन गर्र्दैछ नत्र मेरो मन सँधै द्वाल्खाको लागि यति विघ्न बेचैन हुँदैनथ्यो होला । यो चौथो पटकको भ्रमणमा मलाई यसको रहस्य पनि खोज्नु थियो । खैर, विन्दियासंग बिदा लिई म पुनः जात्रामा भुल्न थालें ।

ठुलो लाखे नाचको तयारीको लागि स्थानिय वासिन्दा भरत प्रधान वहाँको दाजु आर.एन. प्रधान र धृतराज श्रेष्ठको साथमा

ड्वाकु राकसको जात्रा भएकोले होला सायद त्यो दिन अरु दिन भन्दा बढी जात्रा हेर्नेको भीड थियो । त्यहीं हरी सर र महेन्द्रभाईले गणेशस्थानतिर मलाई संगै लानु भो र त्यहाँ बनाई राखेको जग्गे देखाउँदै राकसले पुजा विथोल्न आउने कुरा सुनाउनु भो । त्यहाँको पनि फोटो खिचि पुनः जात्राको माहोल बढी भएको पोखरी आसपास नै आएं । त्यही तीर्थ नारायण जोशी सरलाई पनि भेटें । वहाँलाई तेश्रो पटक भेटी अन्र्तवाता लिएको पललाई याद दिलाई यस पटक पनि भेटघाट गर्नु पर्छ भनि अग्रीम जानकारी दिएं । वहाँले सहस्र स्वीकार गर्नु भो र दिउँसो तिर सँधै बजारमा हुन्छु भनि जानकारी दिनु भो ।

वहाँसंग विदा लिई हामी तीनै जना पोखरी छेउको घरको छतमा पुग्यौं । फोटो खिच्यौं र त्यहाँ बाट फेरी त्यहींको स्कूलको छतमा बसेर फोटो खिच्दै बसें । द्वाल्खामा गुल्नाको जात्रा पहिलो पटक कभर गर्ने अवसर पाएको मैले तसर्थ जात्रामा कहिले, कहाँ, के हुन्छ भन्ने जानकारीबाट अन्जान म । तर हरी सरले मलाई सरसरति जानकारी दिनु भो । जात्राको अर्को रौनक भनेको स्कूलको छेउमै रहेको पोखरीमा ड्वाकु राकस भित्र हुल्ने प्रयास रहेछ । सो नजारा हेर्न स्कूलको छतमा मात्रै होइन वरपरको सबै घरको छानोमा मान्छेहरु भरिएको थियो । पोखरीको चारैतिर पनि रमिते भरिएको थियो । साथै उता जग्गेको पूजा सकेपछि पूजाको सामान लिइ केही व्यक्तिहरु पोखरी छेउमा आइ पुजा गर्दो रहेछ । त्यसपछि त्यहींका युवाहरु पोखरीमा पौडी खेल्दै वारपार गर्दो रहेछ । त्यसमा कसले जित्यो भन्ने पनि हेर्दो रहेछ । जे होस् यस्तो नजारा मैले प्रत्यक्ष अनुभव गर्न पाएको पहिलो पल्ट हो । मलाई असाध्यै रमाइलो लागि रहेको थियो ।

त्यो पौडी खेलि सकेपछि राइतीको अगाडी ड्वाकु डाकस र अन्य दाउरेलाई जनै लगाइ दिंदा रहेछन् । त्यो दृश्य पनि क्यामरामा कैद गरें । लगतै हरी सरले अब ड्वाकु डाकस भिमसेन दबलीमा जाने र त्यहाँ विशेष धुप सुँघ्ने गर्छन भनी जानकारी दिए । त्यो दृश्य पनि बडो अचम्मको देखें । त्यही हुलमुलमा अर्को द्वाल्खाको स्थानीय मित्र प्रविन श्रेष्ठलाई पनि भेटें । प्रविणका साथै केही स्थानीयले मिलेर गोल बालेर त्यसमा विशेष धुप राखेपछि ड्वाकु राकस र दाउरेले धुप सुँघे ।

त्यसपछि प्रविणको काकाले आँगनमा लगेर तीनै जनालाई सगुन दिए । सबै दृश्य क्यामरामा कैद गरेपछि म कोठामा जान बजारतिर पाइला सार्दै अगाडी बढें । त्यहीं दिपक स्वप्निल भाईलाई देखें । वहाँसंग पनि फेसबुक मार्फत मात्रै कुरा गरेकी त्यो पनि द्वाल्खा आउनको लागि बल्ल बेलुकी प्रत्यक्ष भेट्ने मौका पाएं । केही कुराकानी पछि वहाँसंग पनि बिदा लिई थकित शरीरलाई सकि नसकी आफ्नो वासस्थान दी पुखुर्चा रीर्सोटको कोठामा आएं ।

भीमेश्वर परिसर अगाडी देउला मोहन दाजु, स्थानिय वासिन्दा पूजा बहादुर गिरीको साथमा

एकछिन पछि म आएको देखेर विक्रम भाईले माथि रोजिता भाउजुले बोलाउनु भएको खबर सुनाए । अजयले भाउजुको जिकिर गर्नु भएको थियो फोनमा तर दिउँसो जाँदा वहाँलाई भेटेकी थिएन । बल्ल बेलुका भेट्ने अवसर जुर्यो । वहाँले पनि भित्री हृदयले स्वागत गरी तातो चिया र अण्डा खुवाउनु भो साथै बेलुकीको खाना पकाइ सकेको जानकारी दिनु भो ।

झल्याँस सम्झें उता सुषमाले पनि रातीको खाना खान बोलाउनु भएको थियो । तर साहैं थकित भएकोले फेरी ओरोलो झरी तल्लो टोल पुग्ने आँट गर्न सकिन र फोन गरी सुषमालाई भोलि विहानको खाना खान आउने बाचा गरी बिदा लिएं । बेलुकीको खाना भाउजुले बनाएको तातो मासु भात खाई मन र पेट भरें र बिदा लिई कोठामा आएं । त्यति बेला बल्ल मैले आफ्नो कोठाको नाम देखें हापिचा २०१ ।
म बसेको पहिलो तल्लामा प्रत्येक कोठाको नाम द्वाल्खाको कुनै न कुनै टोलको नाम राखेको रहेछन् जस्तै चामसलि २०२, टसिचा २०३, र पालचुटी २०४ ।
कोठामा पुगेर थकित तन र मनलाई विश्राम दिने मनसायले पल्टें । तर नयाँ ठाउँ र नयाँ ओछ्यानमा लाख कोशिश गरेपनि निंद्रादेवी आउने सुरसार गरेको सुँइको सम्म पाइन मैले । तब रातभर मोबाइलमा राखेका पुराना हिन्दी फिल्मका गीतहरु सुन्दै आँखा चिम्लेर बस्न बाध्य भएं ।
मेरो द्वाल्खाको पहिलो दिन र पहिलो रात पछि अन्य दिनमा के के भो ?

बाकी अंशको लागि प्रतिक्षा गर्नुहोला …

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!