Search

द्वाल्खाको ऋणी बने म यसपटक

द्वाल्खाको ऋणी बने म यसपटक

बाँपीझ्याला भित्रः

जहाँ हरपल जान मन बैचेन हुन्छ त्यो ठाउँ हो द्वाल्खा । द्वाल्खा मेरो सपनाको नगर । कतै दुइ जोडी नयन मेरो प्रतिक्षामा थियो कि त्यो कुराबाट पनि अन्जान म । न त मेरो कोही सगी सम्बन्धि । तैपनि किन हो खै द्वाल्खाको यादले पनि मन हतास हुन्छ । पखेटा भए उडेर जाउँ जस्तो । त्यहींको रोमान्चित वातावरणमा आफैलाई हराइदिन मन लाग्ने ।
नभन्दै द्वाल्खामा जाने चौंथो पटकको वातावरण बन्यो । वातावरण बन्यो के भनुँ बनाएँ भन्दा अतियुक्त नहोला । श्रावणको महिना । त्यतीबेला काठमाण्डौमा एक महिना गुँलाको पर्व चलेको थियो । थाहा भो गुँलामा द्वाल्खा पनि गुल्ना पर्व बडो धुमधामले मनाउने गरिन्छ । मलाई त्यतातर्फ जाने बहाना मिलिहाल्यो । किनकि द्वाल्खामा निवासी (हाल काठमाडा)ैं उपेन्द्र प्रधान दाजुले यसपटक द्वाल्खामा जानु पर्छ भनि वहाँसंग फोनवार्ता भएदेखि सपना बुन्न शुरु गरीसकेकी थिएं मैले । त्यो दिन बडो उत्साहित मनले कुर्दै थिएं । तर संसारभर कोविड १९ ले जुन ताण्डव मच्चायो त्यसको कारण मेरो सपनाको नगरमा डुल्ने रहर तासको पत्ता सरी ढल्दै थियो । तैपनि मनमा कहिं द्वाल्खा भिमसेनको कृपा रहे मेरो पाइलाले अवश्य द्वाल्खाको भूमि चुम्नेछ भन्ने कुरामा पूर्ण रुपले विश्वस्त थिएं ।

रेखा शाक्य, (राजमति) हाल ताहाचल
स्वतन्त्र पत्रकार/ फोटो पत्रकार


काठमाडौंमा गुँला पर्व शुरु भयो । मेरो भने तन काठमाडौंमा मन घरीघरी द्वाल्खा पुग्थ्यो । मेरो मन मेरो बशमा थिएन । कसरी द्वाल्खा जान सकिन्छ त्यही सोचमा दिन बित्न थाल्यो । जति जति कोरोनाको संक्रमण बढ्न थाल्यो त्यति नै काठमाडौंबाट बाहिर जिल्लामा जाने नाकामा कडाइ हुन थाल्यो । नभन्दै गाडी आवतजावत सब बन्द भन्ने सूचना पनि जारी भो । सोचें यसपल्ट मेरो सपना साकार नहुने भो । हेर्दाहेर्दै द्वाल्खामा लाखे निकालिने दिन नजिक आउँदै थियो म भने पात्रो हेरी मुटुको धडकन सम्हाल्दै थिएं । यता मेरो प्रयास पनि जारी थियो । द्वाल्खामा चिनेका केही संग लगातार फेसबुक मार्फत सम्पर्क बढाउँदै थिएं । नभन्दै द्वाल्खामा जाने मेरो प्रयास सब बेकार गयो । गाडी नचल्नु र स्थानीय प्रशासनले सबै जात्रापर्व स्थगित हुने सूचना जारी गर्यो । मन उदास भो ।


भनिन्छ नी मनमा सच्चा लगन भए आशाको किरणको एक झिल्को पनि काफी हुन्छ सपना पूरा गर्न । त्यस्तै भो । द्वाल्खाको एक सूचनाले आशाको किरण बनि मन मुस्काइदियो । द्वाल्खाको गुल्ना पर्वको लागि भनि बन्द गरिएको द्वाल्खा भिमसेनको मन्दिरको बाहिरको गेट खुल्ने भो र घण्टाकर्ण पर्व पनि मनाइयो । यो मेरो लागि सुखद खबर थियो । फेरी मन चञ्चल हुन थाल्यो । मन हतास भो । द्वाल्खा पुग्ने एक झिनो आशा फेरी पलायो । दिन क्रमशः बित्न थाल्यो । उता लाखे नाचको भिडियो पनि सार्वजनिक हुन थाल्यो । मन रुन थाल्यो ।

द्वाल्खा जादा सिलढुंगाबाट देखिने मनोरम दृश्य


यहि क्रममा द्वाल्खाका वडा अध्यक्ष विराजमान श्रेष्ठसंग त्यहाँको जानकारी लिनको लागि फोन र म्यासेजमा सम्पर्क गर्न खोजें तर मेरो दुर्भाग्य वहाँको व्यस्तताले हो वा अन्य केही कारणले फोन उठेन न त मेरो म्यासेजको कुनै जवाफ नै आयो । तब द्वाल्खाकै गायक दिपक स्वनिलजीसंग कुरा गरें । वहाँले पनि मिल्छ भने आउनुस् भनि हौसला दिनु भो । साथै लाखे नाच निकालि सकेको र त्यो नाच जारी नै रहने भन्दै जात्राको बारेमा कुन दिन के हुन्छ भन्ने हल्का जानकारी दिनु भो । त्यही बीचमा अर्को द्वाल्खानिवासी भाई अजय प्रधान जो त्यतिखेर भक्तपुर सूर्यविनायक आफ्नो घरमा थियो वहाँ संग पनि सम्पर्कमा रहें । वहाँले पनि जात्राको लागि तपाई जानै पर्छ मिल्छ भने १६ गते द्वाल्खा पुग्नको लागि अनुरोध गर्नु भो । १६ गते सम्ममा द्वाल्खा पुगेमा दापा खलः संगै कालिञ्चोक सम्म पनि जान पाउने भन्नु भो । साथै जात्राको मूख्य दिन १६ गतेबाट २४ गते सम्म हो भनी जानकारी दिनु भो । वहाँ दुई जनासंगको कुराकानी पछि मन बलियो बनाई जसरी पनि द्वालखा पुग्ने आँट बटुलें । फेरी अर्को भाइ महेन्द्र श्रेष्ठसंग पनि गाडी कहाँ पाइन्छ भनि विचार विमर्श गरें । उता जाने धुन ममा यति व्यग्र थियो कि मेरो दिनरात द्वाल्खामा अल्झियो ।


यहि क्रममा पहिले देखिको चिनजान कृष्णनारायणजीसंग पनि सम्पर्क गरें । उपेन्द्र दाजुसंग पनि सम्पर्कमा रही रहें तर मेरो लाख कोशिशको बाबजुद पनि द्वाल्खा जाने बाटोको निराकरण हुन सकेन । नभन्दै एकदिन कृष्णनारायणजीले एकजना गाडीवालाको नम्बर दिनु भो । मैले फोन सम्पर्क गरें । वहाँको गाडी काठमाडौं आउजाउ गर्दै रहेको बुझें तर मैले जाने निधो गरेको दिनभन्दा धेरै अघिको पर्यो । कुरा मिलेन । अन्तत द्वाल्खा निवासी हाल ईमाडोलमा बसोबास गर्दै आउनु भएका प्रकाश श्रेष्ठजीलाई म्यासेज गरें । वहाँले शन्ता श्रेष्ठजीको मोबाइल नम्बर दिइ वहाँहरु परिवार सहित जाँदैछ कुरा गरी हेर्नु भन्नु भो । लगत्तै फोन सम्पर्क गरी हालें । वहाँले गाडी मिलेमा संगै लाने भन्नु भो । मैले पनि प्रयास जारी राखें । त्यही बिचमा त्रिपुरेश्वरमा शान्तजीको अफिसमा भेटघाटको लागि बोलाउनु भो । भेट्न गएं । त्यहीं द्वाल्खाका मेयर भरत केसी जीका साथै भाई अजय प्रधान र प्रविण प्रधानका साथै प्रकाश श्रेष्ठजीसंग पहिलो पटक प्रत्यक्ष परिचय हुने मौका मिल्यो । त्यहाँबाट अझ म मा द्वाल्खा पुग्ने अर्को आशाको किरण झन तेजिन थाल्यो । नभन्दै १६ गते जाने निधो गरी क्यामरा र अन्य सामानको ब्याग तयारी अवस्थामा राखें । एकजना अर्को गाडीवालासंग पनि सम्पर्क गरी जाने दिन निश्चित पारें । साथै द्वाल्खामा पनि होमस्टेको लागि शान्तकृष्ण श्रेष्ठजी र भाइ संजीपसंग मद्वत मागें । नभन्दै द्वाल्खा बजारमै रहेको सौगात होटलमा कुरा गरीदिनु भो । आफैले पनि सम्पर्क गरी सबै चाँजोपाँचो मिलाएं । अब म ढुक्क भएं र द्वाल्खाका साथै फेसबुक मार्फत सम्पर्क भएका हाल ओमानमा रहेका भाइ सोम कृष्ण द्वाल्खामी र दुंगलटोल निवासी हरी श्रेष्ठजीलाई पनि आफू १६ गते द्वाल्खा पुग्ने खुशीको खबर सुनाएं ।

मुडे पुग्नु भन्दा अगाडीको पक्कीबाटो तर हाल कच्ची जस्तो देखिएको बाटोको दृश्य


तर दुर्भाग्यको कुरा एकदिन बिहानै होटल सौगातबाट फोन आयो जात्रा त नहुने भो बेकारमा किन आउनु हुन्छ ? म निराश भएं । खबर साँचो हो भनेपछि पुनः निश्चितताको लागि वडा अध्यक्षज्यूलाई फोन गरें यो पल्ट पनि मेरो सम्पर्क हुन सकेन वहाँसंग । तब काठमाडौं र द्वाल्खा मै रहेका अन्य व्यक्तिहरु दिपक मास्के, अनिष भाइ, शान्तकृष्णजी र उपेन्द्रदाजुले स्वयम वडा अध्यक्षज्यूलाई फोन मार्फत बुझ्न लगाएं । तब खबर साँचो हो भने पछि मेरो रहीसही आश सबै एकछिनमा फुरर्रर उड्यो ।
दिन बित्दै गयो । तर १८ गतेका दिन बिहान सबेरै जात्रा हुने भो भनि म्यासेज आयो । तुरुन्तै कृष्णनारायणजीलाई सम्पर्क गरें । वहाँले खबर साँचो हो र आफू जान लागेको बताएपछि मलाई पनि सिट मिलाउन आग्रह गरें । भगवानले यसपल्ट मेरो पुकार सुनेछन् क्यारे । मेरो सपनाको नगर द्वाल्खा जाने निश्चित भो । घरमा सुनाएं । खुशी त थिएन तर मेरो अडान अगाडी कसैले नजानु भन्नु भएन । उपेन्द्र दाजुलाई पनि म द्वाल्खा जान लागेको खबर गरें । वहाँ फर्किन समस्या हुने हो कि भनि आउन तत्परता देखाउनु भएन । म भने पहिला पुगौंं अनि पछि जे हुन्छ देखा जाएगा भन्ने मनस्थितिमा थिएं । १९ गते गाडी घरसम्म नआउने भएपछि १८ गते बेलुकी ९ बजे बहिनीको घर असनमा सुत्न गएं ताकि बिहान ५ बजे जमलबाट मलाई पिकअप गर्न सजिलो होस् ।


१९ गते बिहान ४ बजे नै उठी तयार भएं । पुर्णिमाको दिन थियो । रातीदेखि सिमसिम पानी परिरहेको थियो । जमलमा साढे पाँचबजे सुमो ४६१८ नं को गाडी आयो । गाडीमा बसेर फेरी नयाँबजार तर्फ लगियो कृष्णनारायणजी र वहाँको दाजुलाई लिन । अब हामी गाडीमा ड्राइभर सहित अरु व्यक्ति गरी ७ जना रह्यो । गाडी गन्तब्यतिर दौडिन थाल्यो । मनमा एक प्रकारको अनौठो खुशी थियो मनको चाह पूरा हुने भएर होला शायद ।

गाडी जगाति पुग्नै लाग्दाखेरी अरु सबैलाई ओराली हिँडेर पुलपारी पुग्न भन्यो । म पत्रकारको नाताले गाडी मै बस्यौं । केही सोधपुछ गरेपछि गाडीलाई जान दियो । पुनः अगाडी गएका सबैलाई गाडीमा हालेर अगाडी बढ्न थाल्यो । अब रह्यो एक अर्को नाका जहाँ सोधपुछ गर्ने रहेछ त्यो हो साँगा । गजबको नीति रहेछ गाडी मै बसेर जाँदा चेकजाँच गर्नेले कोरोना सर्ने देख्छन् तर हिँडेर त्यो दूरी पार गरेपछि पुनः गाडी चढ्दा केही नहुने बुझेछन् ।

त्रिपुरेश्वर स्थित भीमेश्वर नगरपालीकाको नगर प्रमुख भरत के.सी.ज्यु र साथमा दोलखावासीको साथमा

नेपाल सरकारको कानून र नीति दैव नजाने । अर्को कुरा नाकामा रहेको जवानहरुले पैसा लिएर पनि नाकाबाट छिराउने कुरा पनि गाडी गफ मै फुट्कियो । ५० दिन सम्म कोरोना संक्रमणले पूर्ण तवरले सुरक्षित काठमाडौंमा रातारात वा दिन दहाडै कसरी बाहिर जिल्लाबाट मान्छेहरु पसे र कोरोनाको संक्रमण बढे भन्ने बुझ्न गाह्रो भएन ।


गाडी एकतमासले अगाडी बढ्दै थियो । नाकाबन्दीले गर्दा बाटोमा त्यति गाडीको लहर थिएन नै । आफू भने गाडीको झ्यालबाट शुन्य शहर र एकतमासले उजाड जस्तै देखिएको बाटो हेर्दै र प्रकृतिको रमणीय वातावरणसंग आँखा जुधाउँदै आफैमा रमाएर बस्न थालें । गाडीमा चिनेको भनेकै कृष्णनारायणजी मात्रै थियो त्यसैले बीचबीचमा वहाँसंग द्वाल्खाको जात्राको बारेमा जानकारी पनि लिंदै थिएं ।


गाडीमा बस्दै गर्दा कृष्णनारायणजी संग होमस्टे जहाँ म बस्न जानुपर्ने थियो त्यहाँ बस्ने पक्का भो होइन भनि सोधें । किनकी बीचमा काठमाडौंमा संक्रमण बढेपछि त्यहाँ बस्न नदिने जस्तो कुरा पनि निस्केको थियो । त्यसैले काठमाडौंमा हुँदा नै त्यहाँ बस्न नदिएमा हरी श्रेष्ठ वा सोमभाइ वा अनिष भाइ वा नभए भाई अजय प्रधानको घरमा बस्ने विकल्पलाई मिलाइ सकेकी थिएं । तर कृष्ण नारायणजीले बस्नदिनु हुन्छ धन्दा नमानुस् भनेपछि मन ढुक्क बनाएं ।

गाडी सुकुटी तिर रोकियो । चिया खान सबै ओर्ले म भने सेल्फी खिच्न थालें । १० दिन सम्म फेसबुकबाट टाढा बस्ने सोच लिएर आएकी थिएं । तर कृष्ण नारायणजीले फ्री वाइफाइ छ भने पछि मनले मानेन र त्यहींबाट केही फोटो अपलोड गरें र मैं तो चला जिधर चले रस्ता भनि क्याप्सन हाली अपलोड गरें । गाडी पुनः अगाडी बढ्न थाल्यो । दोलालघाटमा रातभर पानी परेकोले होला पानी धमिलो थियो । त्यहाँ आसपास केही होटलहरु खुल्लै थिए । पानी परेको असर न हो ठाउँठाउँमा पहिरोको प्रकोप रुखहरु सडक छेउमा पल्टिरहेको देख्न पाएं ।

मनमा च्वास्स एउटै विचार आउँथ्यो २०७६ सालमा आउँदा अति विग्रेको त्यो डाँडापाखर र ठूलो पाखरको डरलाग्दो बाटो । नभन्दै खाडी चौर पार गरेपछि जब गाडी अगाडी बढ्यो मैले त्यो विग्रेको बाटो अब आउँछ कि अब आउँछ कि भन्दै कति खेर पार लाग्यो थाहा नै भएन । सडक कालो पत्र भइसकेको रैछ । मन खुशीले गदगद भो । जब लिसंखुपुर पुगें त्यहाँ बाट भने बाटो भनेको कहाँ हो भनि आँखा च्यातेर हेरेपनि देख्न नपाइने महसुस गरें । मात्र हिलैहिलोको बाटो । मनमा कहिं थोरै चिन्ता थियो कहिं पांग्रा चिप्लेला कि भनि । तर गाडी मालिक आफैले गाडी चलाएकोले धेरै सावधानी पूर्वक गाडी अगाडी बढाउँदै थियो । त्यहाँ पनि बीच बीचमा गाडी चेक साथै नम्बर टिपाउने काम पनि ।


जहाँ बाटो बिग्रेको पोहर साल भोगेको थिएं त्यो बाटो पिच भइसकेको तर कल्पना नै नगरेको बाटो लिसंखुपुर देखि खाल्डाखुल्डी र हिलेबाटो देखेपछि मनमनै हाँसे किनकि रुने कुरा थिएन । त्यही बाटोबाट पनि स्कूटी र बाइकहरु हिम्मतका साथ अगाडी बढेको देखेपछि भने द्वाल्खा वा चरिकोट र बीचबाटामा परेकाहरुलाई सम्झी वहाँहरुको आँटलाई नमन गरें । साथै गाउँका नेताका कार्यकर्ताहरु सम्झें जसले काठमाडौंमा पानी परेर हिलो भएमा र खाल्डाखुल्डी भएमा विरोध गरी जुलस नकाल्ने र सामाजिक सञ्जालमा विरोधको अभियान चलाउने गर्थे तर आफ्नै जन्मभूमिमा जाने बाटोको विकास नभएकोमा मौन बसेकाहरु । सबै जाने बुझेका काठमाडौंमा ओइरिएपछि शायद आवाज बुलन्द पार्नेहरुको कमि भयो कि न शायद ।

यस्तै सोच्दै उफ्रिन्दै यता र उता शरीरलाई डोर्याउँदै बस्नु बाहेक अरु विकल्प थिएन । घरमा त बाटो राम्रो छ भनि आएकी म तर बाटोको वास्तविकतालाई नजरअन्दाज गर्ने कुरा पनि भएन तसर्थ मोबाइलबाट हिलेबाटोको भिडियो खिच्दै गयौं । बाटो त हेरी नसक्नु थियो तर बाटो पारीको त्यो मनमोहक दृश्यले भने बडो रोमान्चित बनाइरहेको थियो । हरियो डाँडामा हुस्सु उड्दै गरेको दृश्य र कहिं बाक्लो बस्ती र कहिं पातलो बस्ती । जुन प्रकृतिको काखमा मुस्कुराउँदै स्वच्छ हावा लिंदै थियो । बिग्रेको बाटोले मन हतास नहोस् भन्ने हेतुले पनि आँखालाई सडक भन्दा पनि हरियो डाँडामा अलमल्याउन थालें । जति जति गाडी अगाडी बढ्दै थियो मन त्यो भन्दा बढी बेगले द्वाल्खा पुग्ने कोशिश गथ्र्यो । लाग्थ्यो अन्जान दुई जोडी नयन मेरै प्रतिक्षामा होला ।

नभन्दै गाडी चरिकोट पुग्यो बाटोको सबै दुःखकष्ट समाप्त भएको जस्तो भान भो । चरिकोटमा खाना खानको लागि गाडी रोकियो । भोक त लागेको थियो तर मेरो मन द्वाल्खाको भूमि नटेकेसम्म तृप्त नहुने पक्का थियो तसर्थ खाना नखाई चरिकोटबाट द्वाल्खा देखिने फोटो खिचेर बसें । एकै छिनमा फेरी गाडी द्वाल्खातिर अगाडी बढ्यो मेरो मुटुको धडकन अनायसै बढ्न थाल्यो । आफैंलाई सम्हाल्दै मेरो सपनाको नगर पुग्न लागेकोमा मनमनै मुस्काएं ।

नभन्दै साढे १ बजे द्वाल्खाको बसपार्क पुगें । सामान बेसी भाको ले गाडीले बजार सम्मै पुर्यादिनु भो । कृष्णनारायणजीको साथमा सौगात होटलतिर पाइला सारें तर मेरो दुर्भाग्य होटल साहु जगत कुमारजीले आफ्नो बोलि फेर्नु भो । कोठा खालि नभएको र आफन्त आउन लागेको कुरा सुनाए । झनक्क रीस नउठेको होइन तर मैले गर्ने के ? कृष्णनारायणजी त्यहीं बजारमा अर्को एकदुई ठाउँमा बस्नको लागि प्रयास गरिदिनु भो तर सब विफल । कारण काठमाडौंमा कोरोना संक्रमन बढेको खबर । म पनि काठमाडौंबाटै आएकोले मैले कोरोना साथै ल्याउने सम्झिनु भो क्यारे बजारमा त्यसैले कसैले पनि राख्न मानेन । अब के गरुँ ?
द्वाल्खा यात्राको सस्मरणको बाकी अंशको लागि प्रतिक्षा गर्नुहोस् ….

Written by 

Related posts

One thought on “द्वाल्खाको ऋणी बने म यसपटक

  1. गणेशकुमार श्रेष्ठ

    मैजु रेखा शाक्ययात यकाे यकाे सुभाय ।व्दाल्खा यात्राया जीवन्त चित्रण वर्णन यक्व लयता । लेनाच्वंगु मेगुश्रृखलान याकन वाेने दयमा ।

Leave a Comment

error: Content is protected !!