Search

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बमाथिको कारोबार

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्बमाथिको कारोबार

बाँपीझ्याला, काठमाडौं । शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार खुलेको शेयर बजारमा एकैदिन ६ अर्ब रुपैंया भन्दा बढी कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो । यसअघि एकैदिन ४ अर्ब ८४ करोड रुपैंयासम्मको कारोबार भएको रेकर्ड थियो ।

साताको अन्तिम दिन बिहीबारको बजारमा कुल ६ अर्ब ११ करोड ६७ लाख रुपैंयाको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सो दिन कुल १ सय ७२ कम्पनीको कारोबार भएका थिए । बिहीबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४१ करोड रुपैंयाको कारोबार भयो । त्यस्तै हिमालयन डिस्टिलरीको २९ करोड र नेपाल लाइफ इन्स्योरेन्सको १६ करोडको कारोबार हुँदा अरु कम्पनीको कारोबार भने १० करोडभन्दा कम थियो ।

कारोबार मात्रै नभएर परिसूचकमा पनि बिहीबार उत्साह देखियो । नेप्से परिसूचकमा यो दिन ३६.३२ अंकको सुधार देखिएर समग्र परिसूचक १ हजार ७ सय ७८ अंकमा पुग्यो । यो दिन बजारका सबै उपसूचक र उपसमूहहरुमा बढोत्तरी आएको छ ।

होटल, व्यापारमूलक, उत्पादनमूलक र अन्य समूहका उद्योगमा यो दिन निकै ठूलो वृद्धि देखिँदा बैंकिङ तथा अन्य वित्तीय क्षेत्रसँग सम्बन्धित सूचकमा सामान्य वृद्धि देखिएको छ । कुल १ सय ७२ कम्पनीको कारोबारमध्ये यो दिन १ सय ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ । २३ वटाको मूल्य घट्दा १६ वटा कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!