बाँपीझ्याला, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलहले मतदाताहरु निराश देखिएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तत्कालीन एमाले र माओवादीबीच भएको गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थिरता र विकास हुने अपेक्षा गर्दै आएका शुभचिन्तक तथा मतदाताहरु आफ्ना अपेक्षा पूरा गर्न सरकारले पहल नगरेका कारण निराश बनेका हुन् ।
गठबन्धनका आधारमा चुनावमा झण्डै दुई तिहाइ मत हासिल गरेलगत्तै तत्कालीन एमाले र माओवादीबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि तीन वर्ष बित्न लाग्दासम्म पनि मतदाताको नजरमा न सरकारका काम प्रभावकारी देखिएको छ, न त पार्टी एकता नै मजबुत हुन सकेको छ । परिणामस्वरुप उनीहरु सरकार र नेकपाप्रति असन्तुष्ट देखिन थालेका छन् ।
पोखरा–१४, चाउथेका लछुमन रेगामी देशको राजनीतिक अवस्था देखेर वाक्क छन् । अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएका रेगामीले गएको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई भोट दिएका थिए । अहिले आएर आफूलाई त्यो बेला गलत ठाउँमा भोट दिएकोजस्तो अनुभूति भइरहेको उनको भनाइ छ ।
‘बलियो सरकार आएपछि केही हुन्छ जस्तो लागेको थियो,’ उनले भने, ‘तर, अहिले आएर गलत ठाउँमा भोट दिएँजस्तो लागेको छ ।’
अनलाइन, टेलिभिजनमा दैनिकजसो आउने पार्टी विवादको समाचारले राजनीतिक दल नै नभइदिए हुन्थ्यो जस्तो लागेको उनले बताए । मेटल कम्पनीमा जागिरे रेगामी अब आउने चुनावमा कुनै पनि राजनीतिक दलमा भोट नहाल्ने बताउँछन् ।
पोखरा–१६, लामाचौरका रामजी गुरुङ पेशाले कृषक हुन् । दुई ठुला कम्युनिस्ट दलको गठबन्धनबाट देशमा ठुलो जनमत सहितको सरकार आउँछ, विकास हुन्छ भनेर गएको चुनावमा नेकपामा भोट हालेको उनले बताए । ‘खै, ठूलो सरकार आएपछि विकास हुन्छ भन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म केही आको छैन ।’
अन्नपूर्ण गाउँपालिका ४ भदौरेका आकाश विक देशमै केही गर्न चाहन्छन् । हाल पोखरा–९ न्युरोड बस्दै आएका विकले शक्तिशाली सरकारका बाबजुद राजनीतिक खिचातानीले गर्दा आफ्नो योजनाको अवसान हुन थालेको जिकिर गरे । ‘यतै केही हुन्छ कि भन्ने आश थियो,’ उनले भने, ‘दिनहुँ कुर्सीको तानातान छ । अब यसैगरी कतिन्जेल चल्ला ?’
ठुलो आशाका साथ अघिल्लो चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मत दिएको बताउने उनी नेकपाका नेताहरु आपसमा शक्ति संघर्षमा रुमल्लिन थालेपछि जनताका समस्यामा कसैको ध्यान नपुगेको बताउँछन् ।
जनाधारका हिसाबले सिरहा जिल्ला नेकपाको पकड भएको जिल्ला हो । तर त्यहाँका मतदाता र नेकपाका शुभचिन्तक पनि पार्टी र सरकारको भूमिकाप्रति सन्तुष्ट देखिएका छैनन् ।
सिरहाका १७ स्थानीय तहमध्ये धेरैमा नेकपाको बर्चस्व छ । प्रदेश र प्रतिनिधिसभा सदस्यहरुमा पनि नेकपाकै उपस्थिति बलियो छ । चुनावका बेला बाँडेका आकर्षक नारा र कम्युनिस्टहरुको पुरानो गढ भएकाले पनि सिरहामा नेकपाको प्रतिनिधित्व राम्रो भएको नेता–कार्यकर्ता बताउँछन् ।
सिरहाको ८ नगरपालिकामध्ये लहान, धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हा, सुखिपुर नगरपालिकामा नेकपाको स्थानीय सरकार छ । ९ गाउँपालिमध्ये पनि अधिकांशमा नेकपा कै स्थानीय सरकार छ ।
तर, चुनावको झण्डै ३ वर्ष बित्न लाग्दा पनि मतदाता खुशी देखिएका छैनन् । सिरहा नगरहा गाउँपालिकाका धनेश्वर सदा भन्छन्, ‘चुनावका बेला आएका नेताले पानी, बाटो, बिजुली र घर बनाइदिनेसम्मको आश्वासन दिए तर, आजसम्म हामी गरिबले कुनै सुविधा पाएका छैनौँ ।’
अहिले पार्टी नै फुट्ने हो कि भन्ने अवस्थामा पुगेको कुरा आफूले सुनेको बताउँदै उनले अगाडि भने, ‘अब त केही होला भन्ने आशा लागेको थियो, तर हाम्रो अवस्था जस्ताको तस्तै छ ।’
सिरहाकै गोलबजार नगरपालिका–१०, धोवियाधारका बेचना सदा अघिल्लो निर्वाचनमा आफूले वाम गठबन्धनका उम्मेदवारलाई मत दिएको बताउँछन् । उनले भने, ‘यहाँ वडा देखि प्रतिनिधिसभासम्मका प्रतिनिधी नेकपाका छन्, तर चुनावका बेला उनीहरुले जनाएका प्रतिबद्धता पूरा भएन, अहिलेसम्म हामीलाई शुद्ध खानेपानीको सुविधासमेत छैन ।’
चुनाबका बेला सार्वजनिक शौचालय, आवास गृह बनाउनेसम्मको आश्वासन आफूहरुलाई दिइएको उनले बताए । ‘ती आश्वासन अहिले न स्थानीय तहका जनप्रतिनिधिले सम्झिएका छन्, न प्रदेशसभा र प्रतिनिधिसभाका प्रतिनिधिले नै सम्झिएका छन्,’ उनले भने, ‘केन्द्रमा आफै झगडा गरेर बसेका छन्, अर्को चुनावमा कुन मुख लिएर भोट माग्न आउने हुन् कुन्नि !’
गोलबजार–१० कै २९ वर्षीय मुकेशकुमार यादव पनि आफू नेकपाकै मतदाता रहेको बताउँछन् । ‘तर, अहिले तलदेखि माथिसम्मको अवस्था देख्दा मनै खिन्न भएर आउँछ,’ उनले भने, ‘चुनावका बेला एकथोक भन्ने, सत्तामा पुगेपछि सबै बिर्सेर कमाउन लाग्ने प्रवृत्तिले सबैथोक बिग्रेको छ, नेकपा सच्चिनु पर्छ ।’
भक्तपुर–१० का मुकुन्द घोरासैने जुन उद्देश्यका साथ एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो, त्यो उद्देश्य पूरा हुने संकेत अझैसम्म पनि नदेखिएको बताउँछन् । ‘यो हामी सबैका लागि नराम्रो पक्ष हो,’ उनले भने, ‘झण्डै दुई तिहाइ जनमत प्राप्त पार्टीले जनताका काममा भन्दा नेताका झगडा मिलाउन धेरै समय खर्च गर्नु राम्रो होइन ।’
निर्वाचनमा वाम गठबन्धनलाई भोट दिएकाहरुले अहिले ‘बेकारमा भोट दिएछु’ भन्ने अवस्था आएको उनको भनाइ छ । ‘यस्तो अवस्था आउनु भनेको पार्टीप्रति निराशा छाउनु हो,’ उनले भने, ‘एकतालाई पूर्ण गरेर पार्टी संगठनलाई बलियो बनाउनु पर्ने समयमा पार्टी फुट्यो कि भनेर दिनदिनै समाचार हेर्नुपर्ने अवस्था आएको छ ।’
चाँगुनारायण–५, भक्तपुरका अमृत बस्नेत अहिलेसम्म पनि आफूहरुलाई पार्टी एकता भन्ने कुरा महसुस नभएको बताउँछन् । भक्तपुर जिल्ला कमिटीमा एकता भए पनि वडा र नगरमा एकताको अनुभूति अझै हुन नसकेको उनले बताए । ‘पार्टीको नगर र वडा तहमा पार्टी एकता पूर्ण रुपमा नहुँदा जनप्रतिनिधिहरुले मनोमानी गरिरहेका छन्,’ उनले भने, ‘पार्टीको चुनावी एजेन्डा र घोषणापत्र विपरित विकास बजेट खर्च गरिरहेका छन् ।’
पार्टीका कार्यकर्ताहरु निस्कृय र भूमिकाविहीन अवस्थामा पुगेको जिकिर गर्दै उनले यस्तो अवस्थाले नेकपाको भविष्य अँध्यारो हुँदै गएको बताए ।
सूर्यविनायक–८, भक्तपुरका प्रवेश तिमल्सिना पार्टीमा अहिले ‘एकता’ भन्दा पनि ‘ए ! कता ?’ जस्तो भएको बताउँछन् । सामाजिक सञ्जालमा मथिल्लो तहदेखि तल्लो तहसम्मका नेता–कार्यकर्ताले एक अर्कामाथि गर्ने टिका टिप्पणीले साधारण व्यक्तिलाई पनि यो एकता कागजमा मात्र हो जस्तो लाग्न थालेको उनको भनाइ छ ।
दुई पार्टी एक भए पनि नेताहरुको मन जोडिन नसकेको उनले बताए । अहिलेसम्म गणितीय हिसाबले भएको एकता भावनात्मक हिसाबले पनि पूर्ण होस् भन्ने लाखौँ कार्यकर्ता र नेकपाका शुभचिन्तकको अपेक्षा गरेको उल्लेख गर्दै उनले भने, ‘पार्टीका माथिल्लो तहका नेताहरुले शुभचिन्तक र कार्यकर्तालाई एकताको विश्सनीयता दिलाउन नसके आगामी दिनमा नेकपाले ठुलो घाटा व्यहोर्नु पर्नेछ ।’