Search

वाणिज्य बैंकहरूको १२ अर्ब ४० करोड ब्याज उठेन, कोभिडका कारण ४ प्रतिशत नाफा घट्यो

वाणिज्य बैंकहरूको १२ अर्ब ४० करोड ब्याज उठेन, कोभिडका कारण ४ प्रतिशत नाफा घट्यो

 ६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक, २१ वाणिज्य बैंकले ४ अर्ब ४७ करोड वितरण गर्न सक्छन्, ४ बैंकको नाफा अर्बमाथि

बाँपीझ्याला, वाणिज्य बैंकहरूको व्यवसाय र नाफामा कोभिड–१९ को प्रभाव देखिएको छ । बैंकहरूको मुख्य व्यावसायिक आम्दानीमा उच्च कटौती हुँदा नाफा पनि घटेको छ । कोभिडका कारण बैंकहरूमा तरलता वृद्धि भएका कारण लगानीयोग्य पुँजी थुप्रिएर बसेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘कोभिडको बैंकिङ प्रणालीमा असर देखिएको छ,’ उनले भने, ‘बैंकहरूमा तरलता वृद्धि रहेका कारण लगानीयोग्य पुँजी आइडल बसेको छ ।’

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको मुख्य व्यवसायका रूपमा मानिने खुद ब्याज आम्दानी गत आवको तुलनामा २९ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा ४५ अर्ब ५१ करोड खुद ब्याज आम्दानी गरेका बैंकहरूको चालू आवमा ३२ अर्ब १४ करोड मात्रै छ ।

केही बैंकहरूको खुद ब्याज आम्दानी वृद्धि हुनु र कम दरमा घट्नुमा मर्जर कारक रहेको तथा कतिपयले राष्ट्र बैंकले तोकेको स्प्रेड दर (कर्जा र निक्षेपको ब्याज अन्तर) पालना नगरेको हुन सक्ने बैंकरहरू बताउँछन् । ‘राम्रा बैंकहरूको खुद ब्याज आम्दानी घटिरहँदा तुलनात्मक रूपमा कमजोर मानिएका बैंकहरूकै यस्तो आम्दानी भने उच्च दरमा बढेको वा न्यून दरमा घटेको छ,’ एक बैंकरले भने, ‘यस्तो बैंकले स्प्रेड दरमा खेलेको देखिन्छ, राष्ट्र बैंकले यसलाई हेर्ला नै ।’

१८ वाणिज्य बैंकको खुद ब्याज आम्दानी घटेको छ । तर, केही बैंकको ४१ देखि १ सय ६९ प्रतिशतसम्म यस्तो आम्दानी बढेको छ । बृहत् मर्जर गरेको एनएमबिको खुद ब्याज आम्दानी सबैभन्दा धेरै १ सय ६९ प्रतिशतले बढेर ७३ करोड २९ लाख पुगेको हो ।

बैंकहरूको खुद नाफा रकम भने ४ दशमलव १५ प्रतिशतले घटेको छ । मर्जरमा गएका बैंकहरूले गत आवको तथ्यांकमा मर्जर भएर आएका कम्पनीको तथ्यांक समावेश नगर्दा पनि नाफा कमले घटेको देखिएको हो । गत आवमा १५ अर्ब २५ करोड नाफा कमाएका बैंकहरूले चालू आवमा १४ अर्ब ६२ करोड रुपैयाँ नाफा गरेका छन् ।

५ खर्ब कर्जामा समस्या
वाणिज्य बैंकहरूले पहिलो त्रैमासमा कुल १२ अर्ब ४० करोड रुपैयाँ ब्याज असुल गर्न सकेका छैनन् । यही कारण बैंकहरूले राष्ट्र बैंकमा यस्तो ब्याजको ६३ प्रतिशतबराबर रकम प्रोभिजन राखेका छन् । यसरी राखिएको रकम ८ अर्ब ६ करोड रुपैयाँ छ । ‘नउठेको ब्याज वार्षिकीकरण गर्दा ४९ अर्ब ६१ करोड हुन्छ,’ दाहालले थपे, ‘१० प्रतिशत औसत ब्याजदर मान्ने हो भने पनि करिब ५ खर्ब बढीको कर्जा समस्यामा छ ।’

चैतदेखि गत असारसम्म नउठेको कर्जा कोभिडको प्रभाव हेरेर न्यून प्रभावितले ०७७ मसान्तसम्म, मध्यम प्रभावित कर्जाले ०७७ चैत र अति प्रभावित कर्जाले ०७८ असार मसान्तसम्म किस्ता र ब्याज भुक्तानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।

वित्तीय विवरणअनुसार बैंकहरूको कुल कर्जामा औसत खराब कर्जादर खासै वृद्धि भएको छैन । तर, कुल ३० खर्ब कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा रकमका आधारमा भने २ अर्ब ६४ करोडले बढेर ४७ अर्ब ३२ करोड रहेको छ । कर्जा लगानी भने ४ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो ।

नौवटा बैंकले प्रावधानमा रकम राखे पनि अन्य सबैले अघिल्लोपटक राखेको रकम फिर्ता (राइट ब्याक) ल्याएका छन् । नौ बैंकले १ अर्ब ६३ करोड जोखिमका लागि प्रावधान राखेका छन् भने बाँकीले २ अर्ब ७६ करोड फिर्ता ल्याएका छन् । बैंकहरूको निक्षेप लगानी १९ प्रतिशतले बढेर ३६ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरूले सेयर लगानीकर्तालाई बाँड्न सक्ने लाभांश रकममा उल्लेख्य गिरावट आएको छ । ६ वटा वाणिज्य बैंकको लाभांश रकमका आधारमा ऋणात्मक अवस्थामा छन् । बाँकीले ४ अर्ब ४७ करोड वितरण गर्न सक्छन् । बैंकहरूले पहिलो त्रैमासमा गरेको नाफाका आधारमा औसतमा दुई प्रतिशतसम्म प्रतिफल दिन सक्ने अवस्था छ । पहिलो त्रैमाससम्मको चुक्ता पुँजीका आधारमा नबिल बैंकले सबैभन्दा धेरै ११ प्रतिशतसम्म प्रतिफल दिन सक्ने आजको नयाँ पत्रिकामा लेखिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!