
दोलखा शहरको आफ्नै विशेषता, भाषीक, धार्मीक र परम्परागत ऐतिहासिक महत्व बोकेको शहर हो । यसको अलावा यस ऐतिहासिक शहर भित्र पुरातात्वीक दृष्टिकोणले अझ महत्वपुर्ण स्थान रहेको छ । यसको ज्वलन्त उदाहरण राजकुलेश्वर निम्न माध्यमीक विद्यालयको भवन बनाउने बेलामा नेपाल सम्वत् १०९१ (वि.सं. २०२७) तिर जग हाल्ने बेलामा ५–६ फिट गहिराई खन्ने बेलामा माटो भित्र पुरिएर रहेको देव देवताको मुर्ति भेट्टिएको थियो । यसै गरी खानेपानीको लाईन विस्तार गर्ने बेलाको माटोको बनाएको पाईप लाईन पनी भेटिएको थियो ।
माटो पोलेर बनाएको पाईप लाईनको सिष्टम तत्कालिन दोलखा राज्यका राजा उज्जोतदेव ने.सं. ६४०–६५३ (वि.सं. १५७६–१५८९) को पालामा बनाएको भनाई रहेको पाईन्छ । यो पाईप लाईनको लम्वाई १६“ डाईमिटर एकातिर ६“ अर्कोतिर ४“ भएको भेटिएको थियो । यसरी पछाडी ४“ र अर्कोतिर ६“ भएकोले जोडेर पाईप लाईनलाई सजिलो भएको हुन सक्छ । ठाउँ ठाउँमा माटोको घ्याम्पा पनि भेटिएको थियो । यस घ्याम्पामा उक्त पाईप लाईन जोडिएको पाईएको छ । यसरी घ्याम्पा भित्र बालुवा राखी चाल्नी अर्थात फिल्टरको काम गरेको देखिएको छ । यस्तो पाईपलाईन दोलखाको अन्य पुरानो बस्तीमा पनि उत्खनन् गरेको खण्डमा भेट्ने प्रवल सम्भावना रहेको भनाई रहेको छ । यसरी उक्त बेला माटो मुनी भेटिएको माथि उल्लेखित मुर्तिहरुको बारेमा बर्णन गरिएको छ ।
१. काल भैरबः
लाम्चो बटुला आकारको कमल हेरेर आसनमा बेताललाई कुल्चेर उठेर बसेको चारवटा हात भएको ८“ लामो काल भैरबको एउटा हातमा खप्पर, अर्को हातमा कत्र्री त्यस्तै गरी एउटा हातमा खड्ग र अर्को हातमा पिण्डपात्र समातिएको छ । यस भैरवले मान्छेको मुण्डहरु माला लगाईएको देखिन्छ । कम्मरमा छालाले बेरिएको जस्तो देखिन्ने मुर्ति धेरै प्रष्ट र चम्कीलो देखिन्थ्यौ ।
२. बुद्धः
कमल हेरेर आसना पद्मासनमा रहेको बुद्ध मुर्ति ३“ लामो छ । यसको बनावट कलात्मक र राम्रो छ ।
३. ब्रह्माः
यस मुर्तिको तिनवटा मुख र छ वटा हात छ । अगाडीबाट तिनवटा मुख भएकोले र पछाडी मुख लुकाएकोले ब्रह्मा भनेर अनुमान गरेको हो । ३“ लामो यो मुर्ति क्षेपक जस्तो अकार माथि पद्मासनमा बसेको देखिन्छ ।
४. बुद्धः
एउटा फुटेको मुर्ति भेटाएको छ । हेर्दा बुद्ध जस्तो देखिन्छ । एक ठाँउ जग खन्ने बेलामा यस्तो देउताको मुर्ती र पाईप दोलखाको त्यसताको ईतिहास, धर्म, संकृती, कला कौशल बताउनको लागि धेरै मद्धत गरेको छ । अन्त अन्त रानीदरबार, राजदरवारको ठाउँतिर पुरातत्व विभाग संग समन्वय गरी उत्खनन् गरेमा धेरै पुरातात्विक महत्वका मठ–मन्दिर र मुर्तिहरु अनी सामानहरु बाहिर आउने प्रवल सम्भावना रहेको छ ।
सन्दर्भ सामाग्रीः
भोला कुमार श्रेष्ठ, नेपालको मध्यकालिन ईतिहास निर्माणमा दोलखाको भुमीका (त्रि.वि.स्नात्तकोतर शोधपत्र) ।
भोला कुमार श्रेष्ठ, भुगर्भ भित्रबाट पाइएका केहि ऐतिहासिक बस्तुहरु ।
आँखा पूर्णाङ्ग ७ प्रकाशक कालिञ्चोक युवा क्लव, दोलखा ।