Search

कस्ले भन्छ ऐतिहासिक शहर दोलखामा विकास र अवसर छैन ।

कस्ले भन्छ ऐतिहासिक शहर दोलखामा विकास र अवसर छैन ।
अजय प्रधान, दोलखा
हाल सुर्यविनायक, भक्तपुर

भीमेश्वर नगरपालिका वडा नं २ यसै वडाको नाम बाट जिल्लाको नामकरण दोलखा जिल्ला रहेको छ । नेपालको तत्कालिन पुर्व २ नं. हुदै मध्यमाञ्चल विकास क्षेत्र र हालको प्रदेश नं. ३ बागमती अन्तर्गत दोलखा जिल्लाको सदरमुकामबाट ४ कि.मी. पुर्वमा रहेको प्राचिन मल्लकालिन, लिच्छवीकालीन ऐतिहासिकता बोकेको पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय रमणीय स्थान अभयपुर दोलखा शहर एवं भीमेश्वर नगरपालीकाको २ नं वडा दोलखा हो ।
यहि वडा नं. २ मा रहेको विश्व प्रसिद्ध दोलखा भीमेश्वर, अहिले कोभिड १९ ले विश्व अक्रान्त पार्दैछ भनि ३ महिना अघि संकेत दिन आफ्नो शिलामा पसिना उत्पन्न गरेर देश विदेशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको पूर्वसूचना दिने सहस्र अवतारको देवताका रूपमा ख्याती प्राप्त भीमेश्वर भगवानको नामबाट नै हाम्रो भीमेश्वर नगरपालिकाको नामकरण गरिएको छ । यस २ नं वडा काठमाण्र्डौबाट १३७ कि.मि.टाढा पुर्व उत्तरमा पर्दछ ।

टलक्क टल्केको गौरीशंकर हिमाल अनी आफ्नै सुर र तालमा बगिरहेको तामाकोशीको सुसेलीले दोलखा शहरलाई अझ शोभायमान बनाएको छ । बस्तीको पूर्वमा चम्पुजा पार्क, उत्तरमा मञ्जुश्री पार्क, पश्चिममा सिंहवन र दक्षिणमा कृषि योग्य जमिन यसरी प्रकृतिले जसरी मनोरम दोलखा शहरलाई चञ्चल र उज्यालो दिन सफल भएको छ । यसै गरी विकास र पुर्वाधारको कामले भने दोलखा अध्यारोमा घिस्रेर हिड्न बाध्य बनाएको छ । सायद यो दोष कसैको होईन होला सहनसिलता प्रदान गर्ने दोलखा भीमेश्वरलाई थाहा होला यहाँको मर्म कि थाहा होला यहाँको निरासमुखी जनतालाई । यस लेखमा मैले दोलखा बसेर जे देखे जे पाए त्यसैलाई लेखाईमा उतारेको छु यस लेखमा मेरो कुनै पुर्वाग्रह कसै संग राखेर लेखेको छैन । वास्तविकता के छ त्यही लेखेको छु । सत्य तितो हुन्छ भन्छन् सायद तितो भएपनी गुलिलो सम्झेर हामी कसैले केहि स्विकार गरेर अगाडी बढ्नु पर्छ भने यसैलाई मनन गरी हामी कसैले सुधार गर्न खोज्यौ भने त्यो दोलखा शहर विकासको लागि थप सहयोग महशुष गर्ने छन् दोलखाली ति मनका धनी विकास प्रेमी दोलखाली जनताहरुले यसै सिलसिलामा दोलखा छोडेर उपत्यका बसाई पछि लामो समय अन्तरालमा कोरोना भाईरसको संक्रमणको कारणले नेपाल सरकारले लकडाउन गरे लगतै दोलखा बसाईको मेरो अनुभव यहाँ हामी सवैको लागि पस्कने जमर्को स्वरुप यहाँ प्रस्तुत गरेको छु ।

विगतलाई सम्झदा मेरो दोलखा
दोलखा शहर तत्कालिन दोलखा गाउँ पञ्चायत, दोलखा गा.वि.स. हुदै हाल भीमेश्वर नगरपालीका वडा नं. २ को नामबाट प्रसिद्धता प्राप्त गरेको छ ।
हाम्रो वडाको धेरै विगतलाई कोट्याउन चाहन्न । भीमेश्वर नगरपालीका वडा नं. २ नं मा विशेषतः दोलखाली नेवार जातीहरुको बाहुल्यता रहेको छ । यस वडा भित्र दक्षिण भेगमा तामाङ जातीको बसोबास, उत्तरमा थामी जातीको बसोबास, पुर्वमा बाह्मण जातीको बसोबास, पश्चिममा मिश्रीत अर्थात कामी, सार्की लगायत अन्य जातीको बसोबास रहनुका साथै नजिकै जोडिएको सदरमुकाम चरिकोट रहेको छ ।
दोलखा शहरको हालको मुख्य बजार पाखलती बसपार्क र आसपासको स्थानहरु रहेको छ । मलाई याद भए सम्म पाखलती बजार तत्कालिन भीम माध्यमिक विद्यालय हालको भीम उच्च माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा सिङवन देखि दोलखावासी भल्ला मास्केज्यूको घर सम्म एकलाईनको विभिन्न थोक तथा खुद्रा पसलहरु, होटेलहरु संचालनमा रहेको थियो । जुन बेला मानिसहरुको आवत जावत धेरै बाग्लो थियो । जब दोलखा सिगटी यातायात सडक खुल्यो अधिकास पसलहरु पनि सडक संगै विस्थापित भए धेरै चरिकोट सदरमुकाम सरे कति सिंगटी सरे आज हाम्रो दोलखा साझ ६ बजे सुनसान हुन्छ धेरै दुःखदको क्षण छ । यदि ति व्यापारीहरु स्थानिय रैथानि भई दिएको भए यस्तो अवस्था आउने थिएन । तर सडक खुलेपनी आ–आफ्नै पेशा व्यवसायमा संलग्न भएर बसेका होटेल व्यवसायिहरु शंकरमान श्रेष्ठ, महेन्द्र श्रेष्ठ, राम बहादुर रिमाल खाध्यान्न व्यवसायीहरु जिवन श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ईलेक्ट्रीकल व्यवसायी पर्शुराम जोशी लगाएत जो स्थानिय भएको नाताले नै अझै व्यवसाय सन्चालन गरेर बसेका छन् । जो आफनो स्वार्थ पुरा हुदाँसम्म बसे र स्वार्थ पुरा नहुने देखे पछि छोडे हाम्रो दोलखालाई रित्तो बनाए तर आज सम्म त्यो रितो भर्न सकेका छैनौ । जब सम्म हामी हाम्रो दोलखामा अरु भित्राउन कुनै स्वार्थ दिन सक्दैनौ यो हाम्रै स्थानियवासिलाई ईज्जत र भरोसा दिएर प्रोत्साहन गर्न सक्दैनौ भने भरिने भन्दा रित्तिदै जानेले नै जित्नेछ ।

दोलखा रित्तिदै गर्दा स्थानिय कता ?
वर्तमान समय कोभिड १९ ले विश्व हल्लाउदै गर्दा हाम्रो वडा पनि अछुतो रहेन । अरु समयमा पनि दिनको समयमा लकडाउन जस्तै सुनसान हुने हाम्रो दोलखा लकडाउनमा त दिउसै बाघ मात्र आएन त्यति सुनसान थियो पाखलती बजार तर अरु ठाँउ त्यति सम्म सुनसान थिएन म लकडाउन घोषणाको केहि दिन अघि दोलखामा नै थिए र करिब ३ महिना पुरा समय दोलखा नै बसियो र उच्च शिक्षा हासिल गर्न १५ वर्ष अघि जन्मथलो दोलखा छोडेर गए पछि यसरी लगातार ३ महिना दोलखा बसेको पहिलो चोटी नै हो । यसरी ३ महिना बस्दा खेरी हाम्रो जन्मथलो दोलखाको वारेमा जति उपत्यकामा बसेर सामाजिक सन्जालमा पढे देखेर बुझेको दोलखा र दोलखाको सामाजिक, राजिनितिक अभियन्ताको परिचय दिएर बसिआएका व्यक्तित्वहरुको मुखराविन्दुबाट पटक पटक सुनेको नकरात्मक अभिव्यक्ति र म आफै ३ महिना बसेर प्रत्यक्ष अनुभव गरेको दोलखाको सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक र विकास निर्माणका वारेमा धेरै भन्दा धेरै राम्रा र केहि मात्र नराम्रा सत्य तितो सत्यको विषयको अनुभव गर्ने मौका पाए ।

मेरो अनुभवमा दोलखाको राम्रा पक्ष
हाम्रो दोलखा प्राचिन ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्धता प्राप्त गरेको रमणीय शहर हो । दोलखा भीमेश्वरलाई मात्र पुर्ण रुपमा चित्त बुझाउन सकेउ भने भीमेश्वरलाई दर्शन गर्न आउने पाहुनाहरुलाई चित्तो बुज्ने सेवा सुविधा दियौ भने ६ महिना काम ६ महिना आराम गर्न पाईन्छ । यस्को मतलब सबैले होटेल व्यवसाय गर्न पर्छ भन्ने हैन यस्मा आफुले गरेका र जिम्मा लिएका कार्य मन, वचन र कर्मले नै काम गर्न पर्छ । होटेल व्यवसायी, पुजा सामान व्यवसायी, पशुपन्छी व्यवसायी, नास्ता व्यवसायी, खाध्यान्न व्यवसायी, पशुपन्छी सरसफाई व्यवसायी, स्थानियवासी र मन्दिर पुजा व्यवस्थापन समितीले आफुले पाएको विश्वास, जिम्मेवारी र कर्तव्यमा कुनै नकरात्मक नियत नराखेर काम गरेमा हामी दोलखालीले चाहेको आर्थिक समृद्धि सजिलै हासिल गर्न सक्छौ । यहि आर्थिक समृद्धि हरेक दोलखावासीको घरको दैलो दैलोमा पु¥याउन सफल भयौ भने कस्ले छोड्न सक्छ हाम्रो दोलखा त्यहि ठाँउमा वाहिर जिल्लाको व्यवसायी आएर १ लाख भाडा ५ जना कर्मचारी राखेर होटेल चलाउछ अन्य व्यवसायहरु धानि रहेको छ । आँखाले नदेखेको विदेश जान, अनुत्पादक काम गर्न ऋण लिन पनि सिकाउनु पर्दैन कुनै धितो राख्न डराउनु पर्दैन अनि आँखाले देखेको काम गर्न अनुदान चाहिने, सिकाउनु पर्ने विना धितो ऋण चाहिने भाडा नतिर्नु पर्ने के यो हाम्रो नियतिको दोष हैन र ?


दोलखा खुल्ला संग्राहालय हो । हरेक टोल टोलको आफनै महत्व छ तर हामी आफ्नो ठाउँलाई माटो बनाएर अरुलाई सुन बनाउदै छौ । भएको दुईवटा पोखरी सुख्खा राखेर कृतिम पोखरी बनाएर सुमिङ पुल बनाउदै छौ । हामी ति दुई पोखरीलाई नै व्यवस्थीत गरेर एक लाई माछा पालन अर्कोलाई पौडी खेल्न, ढुङ्गा चलाएर आम्दानीको स्रोत बनाउन सक्छौ । यसै गरी करोडौ रकमको लगानीमा निर्माणाधिन चम्पुजा पार्क, मन्जुश्री पार्क जस्ता रमणिय स्थल छन् त्यो व्यवस्थीत गरेर आम्दानिको स्रोत बनाउन सकिन्छ । हाम्रै वडाका छिमेकि वडाहरुले कृतिम रक कल्याम्प बनाउदै गर्दा हाम्रै प्रकृतिले दिएको कारिपोक, कस्तीपाखा जस्ता पाहाडलाई सदुपयोग त के कल्पना समेत गर्न नसकेको अवस्था छ । घुमडाडालाई पिकनिक स्पोटको रुपमा व्यवस्थीत गरी अहिले अध्ययनको क्रममा रहेको तामाकोशी दोलखा पानि लिफ्टीङ योजना अन्तर्गत घुमडाडामा पनि एउटा पानि जम्मा गर्ने स्थल छनौट गरेर सुमिङ पुल, फुटसल, स्पा, जिमखानाको रुपमा विकास गर्न सकिन्छ । वणारसिलाई ध्यान केन्द्रको रुपमा विकास गर्न सकिन्छ भने उद्यानको नाममा जालि तारवार लगाएर झारपात उमारि राखेको स्थानहरुमा पुष्प खेतिको रुपमा विकास गर्न सकिन्छ । हाम्रो भीमेश्वर नगरपालीका वडा नं २ दोलखा पाखलती, तिखातल, दुङ्गल, माथिल्लो टोल, तल्लो टोल मात्र होईन अझ मलाई विकासको सम्भावना वारे जानकार नभएको नागदह, खेलाप, नेगल, गगरस, फुलपा, राम्पा, डोकथली, दामाराङ, जस्ता हाम्रो वडाको आदि जनसंख्याले ओगटेको स्थानमा त कति विकासको सम्भावना होला कल्पना समेत गर्न सकिन्दैन । हाम्रो दोलखामा व्यापार र उधमशिलताको सम्भावना र अवसरहरु अपार रुपमा छ यो अवसर र सम्भावनालाई प्राप्तीको लागि मुल कुरा सकारात्मक सोच, व्यवहारिक ज्ञान, पेशागत योजना, र आत्मा विश्वास भने अवश्य चाहिन्छ । तर यसको लागि भीमेश्वर नगरपालीका वडा नं. २ को मास्टर प्लानमा के छ ? त्यो कुरा जनता समक्ष स्पष्ट आएको भए अझ सुनमा सुगन्ध हुने थियो ।

मेरो अनुभवमा दोलखामा ४ किसिमका वडावासीहरु रहेका छन् ।
१. सबै थाहा छ दोलखाको विकास निर्माणको स्रोत, आर्थिक समृद्धिको सम्भावना र दोलखा पछि पर्नुको कारण सबै जानकार भएको वडावासि १० प्रतिशत छन् तर तिनिहरु चाहदैनन् ति कुरा सबै सामु प्रष्टाउन व्यतिगत फाईदा निजि स्वार्थ पुरा हुने खालको काम छन् भने तुरुन्त गर्छन र जुन कुराबाट आफुलाई फाईदा हुदैन भने ति कुराको बारेमा थाहा पाएर पनि नपाएको जस्तो देखे पनी नदेखे जस्तो, सुनेर पनी नसुने जस्तो गरी चुप लागेर लङ्गुरगुर्जामा दाउ थापे जस्तो गरी थापेर बस्छन् ।

२. दोस्रो वरियातका वडावासि यस्ता छन् सबै पहुचवाला देखि सामान्य जिवन यापन गर्ने सम्मको सम्बन्ध समधुर नेता, समाजसेवि, व्यपारि, योजनाकार जो संग पनि धेरै राम्रो सम्बन्ध दोलखा सिङ्गो विकास निर्माण र योजना निर्माणकर्ताको ठेकेदार भने पनि फरक नपर्ने क्षमतावान पनि छन् तर ईमान्दारिता र विश्वास भने पटक्कै नभएको चम्चे, दहिच्युरे, अवसरबादि करिब १ प्रतिशत छन् । यसरी यस्तो दहिच्युरे व्यक्तिहरुलाई समयमै हामीले चिन्न सकेनौ भने यसले दोलखालाई त त्यसै विर्गाछ उसै विर्गाछ तर त्यहाँका सोझासाझा जनतालाई समेत विर्गाछ । त्यसकारण यस्तो प्रबृतिको व्यक्तिहरुलाई समयमै स्थायी बन्ध्याकरण गर्नको लागि हामी सम्पूर्ण दोलखावासीहरु एक हुन जरुरी र आजको आवश्यकता रहेको छ ।


३. तेस्रो वरियातमा रहेको वडावासि ८८ प्रतिशत छन् । उनिहरु आफ्नो काम, व्यवसाय, उद्यमि गर्छन् । कसैको आशा गर्दैनन कसैले केहि दिई हाल्यो भने पनि किन दियो र नदिदा पनि किन दिएन भनेर चासो राख्दैन मात्र आफ्नो कर्म र पेशामा विश्वास राख्छन् । यि वडावासिहरु क्षमतावान, ईमान्दार र सामाजिक छवि राम्रा भएका हुन् तर अवसर भने यिनिहरुको हातमा कहिले पनि पुग्दैन । यिनीहरुको घर आगनमा विकास निर्माणको डोजर चलेर फर्किदा पनि थाहा हुदैन कता बाट के को लागि कस्ले ल्यायो भनेर र सोध्न पनि आट गर्दैनन् । स्थानिय निकायको विकास निर्माणको कार्य अधिकाशं उपभोक्ता समिती मार्फतबाट हुन्छ । ५, १०, २०, ३० लाखका योजनाहरु कता सेटिङ हुन्छ थाहा हुदैन ५० हजार भन्दा माथि ५ लाख भन्दा तलको भने सुचना आउने घर घरमा आएर उपभोत्ता समितीमा बस्न आउ भनेर खबर गर्ने चलन छ विचरा उनिहरु न माईनट लेख्न जान्छन् न उपभोक्ता समिती गठन गर्न जानछन्, न अनुगमन समिती गठन गर्न जान्छन्, न ईस्टीमेट भनेको के हो र कसरी ईस्टीमेट अनुसार काम गर्न पर्छ भनेर नै जान्छन् न सिफारिस लिएर बैक खाता खोल्न जान्छन् न त पैसा लगानी गर्न सक्छन् बल्ल बल्ल उपभोक्ता समितीमा बसेर काम गर्ने मौका पाउछन् काम पनि गुणस्तरिय संग सम्पन्न गर्छन । न त काम सम्पन्न भए पछिको भुत्तानिको प्रकृया हुन्छ नि साह्रै अलमलमा परेर कहिले ईष्टीमेट अनुसार काम नपुगेर कहिले भुक्तानिको प्रकृया नजानेर अलमलमा पर्छन उनिहरुलाई यहि कारणले आफुले काम गरेर पनि जस नपाएको भान हुन्छ र उपभोक्ता समिती भन्ने वितिकै तिन कोस टाढा भाग्ने अवस्था छ । यो सबै अनभिज्ञताको कारण हो यदि नगरपालिका, वडाले उपभोक्ता समितीको महत्व र उपभोक्ता समितीमा बसे पछि सरकारी निति नियमको पालना बारे एक ओरिन्टेसन कक्षा सन्चालन गरेको खण्डमा उनिहरुलाई काम गर्न सजिलो तर भुक्तानी लिन गाह्रो महसुस हुदैन थियो । यि वर्गको वडावासिहरुलाई कसैले सिकाउदैनन पनि अझ थाहा पाउलान भनेर गाह्रो छ झन्झटिलो छ भनेर भ्रम छर्ने काम समेत गर्न पछि पर्दैनन ।



४. वडा वासिको चौथो वरियातमा मेरो अनुभवमा देखिएका ति व्यतिmहरुलाई खासै सामाजिक, राजनितिक ज्ञान पनि हुदैन उनिहरु सुनेको र कल्पना गरेको भरमा सामाजिक सन्जालन, चिया पसल देखि बट्टि सम्मका नेताहरुलाई गाली गरेर आफ्नो खोक्रो बौद्धिकता प्रदर्शन गरिरहेका हुन्छन् । ति व्यक्तिहरु पुर्ण जिम्मेवारी विहिन जस्तो लाग्छ किनकि जिम्मेवारिविहिन मानिसहरुले अरुलाई गालि गर्न सजिलो हुन्छ । उनिहरु यति उपदेश दिन्छन् साध्य छैन सधै समस्या मात्र कोट्यार बस्ने, प्रश्न माथि प्रश्न गर्ने उनिहरुको मनमा दोलखा विकासको सपना यति छ भनेर साध्य नै छैन तर उनिहरुको विगत हेर्दा कहिले पनि विकास निर्माण, समुदाय निर्माणमा योगदान र उनिहरु आफैले देखेको सपना पुरा गर्न सामान्य प्रयास समेत गरेको देखिन्दैन यस्ताहरुको जमात लगभग १ प्रतिशत मात्र होला तर पनि नराम्रो प्रभाव पार्न १ प्रतिशत पनि काफि छ ।

अन्त्यमा
सम्पन्न मान्छे बन्न राजनितिमा प्रवेश गर्नु पर्छ भन्ने छैन । आर्थिक लाभ गरेर पनि सम्पन्न हुन सकिन्छ । पैसा कमाउने हो भने जागिर खाने, उधोग व्यवसाय सन्चालन गर्ने लोकप्रिय भन्ने हो भने कलाकार हुने धेरै उपाय छन् तर राजनितिलाई पेशा र पेवा बनाएर कहिले पनि सम्पन्न र सफल हुन सकिन्दैन । हाम्रो वडा नं. २ मा यो विषयमा अलि ज्ञान नभएको जस्तो लाग्यो । त्यसैले आर्थिक उपार्जन गर्नेहरु उधोग व्यापार तिर लाग्नु पर्छ । वडाको विकासमा लाग्नेहरु मन, वचन र कर्मले काम गरेर व्यतिगत, पारिवारिक र दलगत स्वार्थ त्यागेर अघि बढ्नु पर्छ । स्थानिय वडावासिहरु सधै विकास भएन, दोलखा हराउदै गयो भनेर वेवास्ता गर्दै आफु सिङ्का नभाचेर नेताले गरेन भनेर गालि गरेर केहि हुनेवाल छैन हामीले देखि सकेको छौ ठुला ठुला राजनितिक परिवर्तन, व्यवस्था परिवर्तनको अभ्यास हुदा पनि उस्तै छ भने पछि कतै जनताको नियतमा नै केहि खोट छ कि भन्ने पनि हामीले सोच्न पर्ने दिन आएको छ । अब के कसो भन्दा पनि म प्रण र विश्वास दिलाउन चाहन्छु मेरो नियतमा सैतानले राज नगरुन्जेल म दोलखाको दुतको रुपमा उभिने छु । दोलखाको सामाजिक, आर्थिक, राजनितिक, धार्मिक र शैक्षिक गतिविधिका राम्रा र नराम्रा पक्षहरु सबै सामु समय समयमा पस्कने छु । हिजो नजानेर, थाहा नपाएर, चासो नराखेर र हामी स्थानियवासिले पुरा गर्न पर्ने कर्तव्य पुरा नगरेर पछि परेका रहेछौ समय बाकि छ हाम्रो दोलखाको विकासलाई गति दिन यस्का लागि सकारात्मक सोचका साथ कुनै व्यतिmगत, दलगत स्वार्थ नराखेर यात्रा कायम राख्न पर्दछ । अझ दृढताका साथ अगाडी बढ्नु पर्ने समय छ । मैले दुतको भुमिका निभाउदैमा कुनै चमत्कारी त हुने हैन किनकि यो वडामा राजनितिक, सामाजिक, धार्मिक र शैक्षिक तिन दशक देखिको बेथिति अहिले नै फोड्न सम्भव छैन । यदि साच्चै ति वेथितिहरु दिशाहिनताको फलामको चिउरा चपाउनको लागि हामि छदैछौ तिमी अघि बढ भन्दै सामाजिक सन्जाल र भाषनमा मात्र आदर्श छाटेर बस्यौ भने व्यवस्था त परिवर्तन हुदै जाला तर दोलखाको अवस्था जस्ताको त्यस्तै रहन्छ । यसको लागि सबैले समान्य भए पनि चासो राखौ मेरो टोलमा, वडामा, नगरमा के भईरहेको छ के खाचो छ भनेर जानकारी मात्र राख्यौ भने पनि हामी त्यो खाचो टार्न हामी एक भएर प्रतिवद्ध भएर लाग्न सक्छौ हाम्रो ठाउ हामीले नै बनाउने हो । यस अभियानमा हामी सवै एक भएर अघि बढ्यौ र लाग्यौ भने पक्कै पनि हाम्रो सन्ततीको लागि नयाँ दोलखा सिर्जना गर्न हामी सफल हुनेछौं होईन भने हामी ईतिहासमा दब्बा सावित हुनेछौं । जय भीमेश्वर, जय दोलखा ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!