Search

शुभ साइतमा भाइटीका लगाएर मनाइयो तिहार, नभ्याउनेले दिनभरि टीका लगाउन सक्ने – किंजपूजा भोली

शुभ साइतमा भाइटीका लगाएर मनाइयो तिहार,  नभ्याउनेले दिनभरि  टीका लगाउन सक्ने – किंजपूजा भोली

बाँपीझ्याला, काठमाण्डौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गरेका छन् ।

अधिकांशले बिहान ११:३७ को शुभ साइतमा टीका लगाएका छन् । शुभ साइतमा टीका लगाउन नपाउनेहरूले आज दिनभरि जुनसुकै बेला टीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

‘साइत खोज्नेका लागि मध्याह्न ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम हो,’ पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘भाइटीकाको टीका आज दिनभर टीका लगाउन कुनै बाधा छैन ।’

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन छ ।

​दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने गर्छन् ।

​दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको समितिका प्रा.डा. गौतमले जानकारी दिए ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

बालगोपालेश्वर मन्दिर खुला

दिदीबहिनी नहुनेका लागि आज काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको छ । पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर यस वर्ष पुनःनिर्माण सम्पन्न भएको छ ।

पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

यसै गरी नेवाः जातीले किंजपूजा भोली मनाउने भएको छ । नेपाल सरकारबाट यसको लागि सार्वजनिक विदाको घोषणा गरिसकेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!