Search

नेपाल सम्वत् राष्ट्रिय सम्वत् – सन्दर्भ नेपाल सम्वत् ११४१

नेपाल सम्वत् राष्ट्रिय सम्वत् – सन्दर्भ नेपाल सम्वत् ११४१

१ मंसिर, बाँपीझ्याला, काठमाडौं । नेपाल संवत्को नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारको संवत् भन्ने भ्रम छ। तर, नेपाल संवत् शुरू भएको कार्तिक ३० गते ११४० वर्ष पूरा हुन्छ भने नेवाः समुदायले म्हः पूजा गर्न शुरू गरेको ११९० वर्ष भइसकेको छ। म्हः पूजा शुरू गरिँदा यहाँ लिच्छवी राजा जयदेव द्वितीयले शासन गरेका थिए।

राष्ट्रिय विभूती शंखधर साख्वाः

पश्चिम भारतबाट आएका लिच्छवीले यहाँ शासन गरेपछि आफ्नै लिच्छवी संवत् चलाएका थिए। नेपाल संवत््जस्तै लिच्छवी संवत् पनि चन्द्रमानको आधारमा थियो। चन्द्रमान अनुसार असोज शुक्ल प्रतिपदा एवं कछलागा प्रतिपदाका दिन नेपाल संवत््को नयाँ वर्ष शुरू हुन्छ। यहाँ नेपाल संवत् शुरू हुँदा लिच्छवी संवत् ८०२ रहेको इतिहासविद् बताउँछन्।

नेपाल सम्वत् को ऐतिहासिक पृष्ठभूमि


नेपाली इतिहासको लिच्छवी कालको सामन्ती युग जर्जर अवस्थामा रहेका बेला नेपाल संवत््को प्रादुर्भाव भएको थियो। त्यसबेला देशका धेरै मानिसको आर्थिक स्थिति राम्रो थिएन। धेरैजसो जनता ऋणमा डुबेका थिए । ज्यापु पञ्चः नेपाल संवत्् र शंखधर साख्वा, केही विवेचना विषयक एक लेखका अनुसार सामन्ती शोषणका कारण त्यसबेला राज्यमा विद्रोहको स्थिति थियो।

नेपाल संवत््बारे इतिहासकार हरिराम जोशी भन्छन्– ‘लिच्छवीहरूको शक्ति शिथिल भएका बेला शंखधर नामका एक साहुले देशको विकट स्थितिमाथि काबु गरी देशलाई स्थायित्व प्रदान गरेका थिए।’ शंखधर नेपाल संवत््का प्रवर्तक हुन्। नेपालमा संवत्् फेर्न मुलुकका सबै ऋणीको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो।

यसै मान्यताअनुरूप शंखधरले ऋणीहरूको ऋण तिरी नेपाल संवत्् चलाएका थिए। यसबाट के स्पष्ट हुन्छ भने उत्तर लिच्छवी कालमा मानिसको आर्थिक स्थिति राम्रो थिएन। यसै पृष्ठभूमिमा ऋणबाट थिचिएका आमजनतालाई ऋणबाट मुक्ति दिलाउन शंखधर शाख्वाले नेपाल संवत्् चलाएको देखिन्छ।

नेपालको मौलिक संवत्


नेपाल संवत् शंखधरले राजा राघवदेव र आनन्ददेवको पालामा यो संवत्् चलाए पनि यसको नाम नेपाल संवत्् रहेकाले यो हाम्रो स्वाभिमानको प्रतीक हो। यसलाई कदर गर्दै नेपाल संवत् ११२८ अर्थात् वि।सं २०६५ सालमा सरकारले यस नेपाल संवत््लाई राष्ट्रिय संवत्् घोषणा गरेको छ।

व्यावहारिक संवत्


अधिकांश नेपालीको जन्मदेखि मृत्युसम्मका सबैजसो कर्मकाण्ड नेपाल संवत््कै तिथिबाट गरिन्छ भन्ने कुरामा विवाद छैन। दशैं, तिहार, छठ, जनैपूर्णिमा, बुद्ध पूर्णिमा, रामनवमी, कृष्णाष्टमी, तीजलगायत अधिकांश चाडपर्व नेपाल संवत््को चन्द्रमास पात्रोअनुसार मनाइन्छ। अधिकांश सरकारी बिदा पनि नेपाल संवत््कै गणनाअनुसार दिइन्छ। हाम्रा चाडपर्व रीतिरिवाज नेपाल संवत््अनुसार नै व्यवहारमा प्रयोग गरिँदै आए तापनि यसलाई नेवारको मात्र संवत्् भनेर आफैलाई जिस्काइरहेको कटु यथार्थ हो। नेपाल संवत््को ११४० वर्षको इतिहासमा ९ सय वर्षसम्म नेपाल संवत््लाई राष्ट्रिय संवत््को रूपमा प्रयोग गरिएको थियो।

विसं १९६० मा चन्द्रशमशेरले जागिरदारलाई तलब दिन अप्ठ्यारो र दिनगन्ती असजिलो भयो भनी नेपाल संवत््लाई हटाएका थिए। यद्यपि, हालसम्म जनतामाझ यो संवत्् प्रचलनमा छ। नेपाल संवत्् नेवारको संवत्् मात्र भनेर भ्रम छरिरहँदा भक्तपुरको प्रमुख जात्राको रूपमा रहेकोे बिस्केट जात्रा विक्रम संवत््अनुसार प्रत्येक वैशाख १ गते मनाइन्छ। घिउचाकु संक्रान्ति, नवदुर्गा जात्रा विक्रम संवत््अनुसार मनाइन्छ। नेवारहरूले नेपाल संवत््लाई चाडपर्व र संस्कारको प्रमुख संवत्का रूपमा मनाउँदै विक्रम संवत्लाई पनि अँगाल्दै आउँदा सरकारले भने यसलाई व्यवहारमा प्रयोग गर्न कञ्जुस्याइँ गर्दै आएको छ।

नेपालमा प्रचलनमा ल्याइएका संवत्


नेपाली इतिहासले नेपालमा चारवटा संवत् प्रचलनमा आएको देखाएको छ। शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्। यी चारमध्ये नेपाल संवत् सबैभन्दा चलेको संवत् हो।
नेपाल संवत् १ देखि ८८८ सम्म गरी ८८८ वर्ष र विक्रम संवत् चन्द्र शमशेरको पालादेखि हालसम्म गरी १ सय १७ वर्ष जति प्रचलनमा आइसकेको छ।

सबैभन्दा पहिले प्रचलनमा ल्याइएको देखिएको शक संवत् लिच्छवीकालको शुरूमा र पछि पृथ्वीनारायण शाहले पुनः लागू गरेको देखिन्छ। यो संवत् पहिले २०० देखि ५२६ सम्म र पछि १६९० देखि १८२५ सम्म गरी ५ सय वर्ष जति प्रयोगमा रहेको इतिहासविद् बताउँछन्। मानदेव संवत् ३ सय ४ वर्ष चलाइएको पाइन्छ। नेपालको इतिहास हेर्दा ९० प्रतिशत बढी अभिलेख नेपाल संवत्मा लेखिएको पाइन्छ।

नेपालको प्रारम्भिक इतिहास अत्यन्त अस्पष्ट र अनुमान तथा किंवदन्तीले भरिएको छ। किरात कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन। शक संवत् भारतका शकवंशीय शासकको नामबाट चलाइएको संवत् हो जुन आज पनि भारतमा राष्ट्रिय संवत्को रूपमा प्रचलनमा छ। हाल शक संवत् १९४२ हो।

महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत् चलाए भने राजा राघवदेवको पालामा नेपाल संवत् चलाइयो। नेपाल संवत् ८८८ मा नेपालमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले शक संवत् र नेपाल संवत्लाई पुनः प्रचलनमा ल्याए। त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा विक्रमादित्यको नाममा चलाइएको दाबी गरिएको विक्रम संवत् प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ।

नेपाल संवत् यहाँ तत्कालीन समयमा प्रचलित भएको शक संवत् वा हाल प्रचलित विक्रम संवत््जस्तै बाहिरबाट आयातित विदेशी संवत् होइन। यस संवत््को प्रचलनलाई रोकिएको पनि छैन। शक संवत् ४९८ सकिनासाथ मानदेव संवत्् शुरू भयो तथा उक्त संवत्् सार्वजनिक प्रचलनमा आएन। माथि उल्लेख भएजस्तै नेपालमा हाल र पहिले प्रचलित सबै संवत््मध्ये मानदेव संवत्् र नेपाल संवत् मात्र स्वदेशी संवत् हुन्। मानदेव संवत्् ई। ५६६ साल वि।सं ६३३, शक संवत् ८०२० सालमा रोकियो । यसको स्थान नेपाल संवत््ले लियो र त्यस बेलादेखि हालसम्म एक स्वदेशी संवतकोरूपमा नेपाली इतिहासमा यसको विशेष भूमिका रहेको छ।

चीनमा नेपाल संवत्


यो संवत्ले छिमेकी देश चीनमा पनि मान्यता पाएको थियो। इतिहासविद् धनवज्र जोशीका अनुसार चीनको मिङवंशी वादशाह पनि नेपालको काभ्रेतिरका सामन्त राजा शक्तिसिंह राव बच्चनलाई लेखेको परवाना पत्रको सकल परराष्ट्र मन्त्रालयमा सुरक्षित छ। रञ्जना लिपी संस्कृत भाषामा लेखिएको उक्त पत्रमा नेपाल संवत् ५३५ अङ्कित छ, जुन रञ्जना लिपीसहित नेपाल संवत्को पनि प्रचलन केहीरूपमा चीनमा भएको पुष्टि हुन्छ।

प्रताप सिंह शाहको पालामा तिब्बतसँगको सन्धिमा नेपाल संवत् र नेपाल भाषा प्रयोग गरिएको पाइन्छ। त्यस्तै, अन्य सन्धि सम्झौतामा पनि नेपाल संवत् प्रयोग गरिएको पाइन्छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!