बाँपीझ्याला, प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सँगै हिंड्न नसकिने प्रतिक्रिया दिएका छन् ।
आइतवार वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर प्रचण्डसँग एउटै पार्टीमा रहन नसकिने भन्दै पूर्व एमाले ब्यूँताउन प्रस्ताव गरेका हुन् । आजको भेटमा महासचिव विष्णु पौडेल पनि सँगै थिए । ओली र नेपालबीच बालुवाटारमा करीब २ घण्टा छलफल भएको स्रोतले लोकान्तरलाई बतायो ।
‘आज भएको उहाँहरू बीचको भेटघाटमा पनि प्रधानमन्त्रीले जे चाहियो त्यो लिनुस् भनेर अफर दिनुभएछ,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘पूर्व एमाले एकजुट हुनुपर्ने र त्यसका लागि आफूले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको ओलीको प्रस्ताव रहेछ ।’
गत शुक्रवार प्रचण्डले ओलीमाथि दर्जन बढी आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेपछि ओली पक्ष क्रुद्ध बनेको छ । सो प्रस्ताव फिर्ता नलिए मङ्सिर ३ का लागि बोलाइएको अर्को सचिवालय बैठक बस्न सम्भव नहुने ओलीपक्षको दाबी छ ।
नेपालसँगको भेटमा ओलीले प्रस्तावका रूपमा आफूमाथि लागेको झुटो आरोप खण्डन गर्न आवश्यक नै नभएको भन्दै त्यसलाई फिर्ता नलिए अनिष्ट हुने चेतावनी दिएका थिए ।
जवाफमा नेता नेपालले यति ठूलो मेहेनेतका साथ गरिएको एकता लहडका भरमा तोड्न नहुने सुझाव दिए ।
‘पार्टीको अध्यक्ष, प्रधानमन्त्री भएका नाताले कहाँ कमजोरी भयो, त्यसलाई सच्याउन तपाईं तयार हुनैपर्छ,’ नेता नेपालको भनाइ उदृत गर्दै उनीनिकट ती नेताले भने, ‘लहडका भरमा एकता तोडिन्न । प्रस्ताव फिर्ता लिनुपर्ने तपाईंको माग हो भने बैठकमै सबैका अगाडि छलफल गरेर आवश्यक निर्णय लिन ठीक हुन्छ ।’
नेता नेपालले अस्ति पेश गरिएको प्रस्ताव प्रचण्डको मात्र नभएको बरू सामूहिक भएको दाबी गरे । ‘अध्यक्ष लिने भए पनि लिनुस, प्रधानमन्त्री लिने भए पनि लिनुस’ भनेर ओलीले गरेको प्रस्तावलाई नेपालले अस्वीकार गरिदिएका छन् ।
नेता नेपालले ओलीको अफर अस्वीकार गर्दै भने, ‘पार्टी विधि र पद्धतिमा चल्नुपर्यो, सरकारले जनताका मुद्दाहरूमा काम गर्नुपर्यो, त्यो भयो भने मलाई अध्यक्ष पनि चाहिन्न, प्रधानमन्त्री पनि चाहिन्न ।’
ओलीले कात्तिक महिनामा मात्र नेता नेपाललाई ५ पटक बालुवाटार बोलाएर छलफल गरेका छन् ।
आजै ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि छलफलका लागि बालुवाटार बोलाएका थिए । गौतमले पनि ओलीलाई प्रचण्डले पेश गरेको प्रस्ताव सामूहिक भएको भन्दै बैठकमै छलफल हुने जवाफ दिएको स्रोतको दाबी छ ।