Search

प्रचण्डको प्रस्तावले नेकपामा हल्लीखल्ली, २ पक्षबीच आरोप–प्रत्यारोप

प्रचण्डको प्रस्तावले नेकपामा हल्लीखल्ली, २ पक्षबीच आरोप–प्रत्यारोप

बाँपीझ्याला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ सहितको छुट्टै प्रस्ताव पेश गरेपछि नेकपाभित्र थप रडाको देखिएको छ ।

ओली पक्षले प्रचण्डले प्रस्ताव फिर्ता लिनुपर्नेमा जोड दिएको छ भने प्रचण्ड समूहले ओली नसच्चिएसम्म समस्या नसुल्झिने प्रतिक्रिया दिएको छ ।

शुक्रवारको बैठकमा प्रचण्डले ल्याएको प्रस्तावलाई लिएर ओलीका निकट सहयोगी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन् । उनले प्रचण्डको प्रस्तावलाई पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत रहेको समेत दावी गरेका छन् ।

‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरूप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु ।’

व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय भएको सत्य बुझ्न अनुरोध गर्दै उनले अध्यक्षहरू व्यक्तिगत विचार राख्न स्वतन्त्र भएको तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमति हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख रहेको पोखरेलको भनाइ छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डले एकल प्रस्ताव फिर्ता नगरेसम्म कुनै तहको छलफल र बैठक नै नबस्ने टिप्पणी गरेका छन् । उनले प्रचण्डको प्रस्तावलाई अराजनीतिकको संज्ञा समेत दिएका छन् । उनको अभिव्यक्ति बालुवाटारको इशारामा आएको बुझिएको छ ।

‘एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो लाञ्छना पत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुवै जना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के संवाद पनि शत्रुवत र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’

तर नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी एकतापश्चात पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्ने बताएका छन् । प्रचण्ड निकट उनले आत्मालोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनसक्ने टिप्पणी गरेका छन् ।

नत्र बैठकमा प्रवृत्तिगत विषयमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नु मात्रै पनि अराजनीतिक र असांगठनिक कुरा हुने उनको भनाइ छ ।

उनले भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गर्न माग गर्दै पार्टी कमिटीमा प्रस्तुत विषय कमिटीमै छलफल हुन दिन र जिम्मेवारलाई फुटको धम्की नदिन चेतावनी दिएका छन् ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले कमिटीका बैठक बस्नु, असहमतिबारे छलफल हुनु, तिनमाथि एउटै मत वा मतान्तर हुनु, चित्त नबुझे असहमति कायम राख्नु र पार्टी निर्णय मानेर जानु नै कम्युनिस्ट पार्टीको मान्यता भएको बताएका छन् ।

‘यी सबै काम गर्दा एउटा कुरामा ध्यान राख्नैपर्छ, आफैंले बोले–लेखेका शब्दहरू भोलि आफैंलाई भारी नपरुन् । २०५४ सालमा एमाले विभाजन हुँदा लेखिएका आरोपहरूको मूल्य हामी बेलाबेलामा भुक्तान गर्दैछौं । आरोप लगाए पनि हामी मिल्छौं । कतै यी सार्वजनिक शब्दहरू भोलि हाम्रै विरुद्धमा प्रयोग हुने धारिला हतियार नबनून् । याद गरौं कमरेडहरू, चुनाव आउँदैछ, मुद्दाहरूको खोजी हुँदैछ । मौखिक दिएकै थियौं, लिखित मसला पनि दिइरहेका छौं,’ उनले नेतृत्वलाई चेतावनी दिँदै भनेका छन् ।

अहिले नेताका जिम्मेवार नेतादेखि कार्यकर्ता तहसम्म प्रचण्डको प्रस्तावलाई लिएर पक्षविपक्षमा चर्को बहस भइरहेको छ ।

प्रचण्डको एकल होइन, ५ नेताको प्रस्ताव

प्रचण्डले शुक्रवारको सचिवालयमा पेश गरेको प्रस्ताव उनको एकल नभई ५ नेताको साझा भएको बताइएको छ । ओलीको कार्यशैलीको विरोध गर्दै हाल नेकपामा प्रचण्डसहित सचिवालय सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको समूह बनेको छ । सो समूहले लगातार ओलीसमक्ष बैठक बोलाउन माग गर्दै आएको थियो भने ओलीले नबोलाए बहुमतको बलमा बैठक राख्न खोजेका थिए । कुनै पनि हालतमा बैठक बस्ने देखिएपछि ओली बैठक बोलाउन राजी भएका दिए भने सोही बैठकका लागि प्रचण्डको नेतृत्वमा ओलीइतर समूहले छु्ट्टै प्रस्ताव लगेको थियो ।

नेकपा उपाध्यक्ष वामदेव गौतमले शुक्रवारको सचिवालय बैठकमा पेश भएको प्रस्ताव प्रचण्ड एक्लैले नभई ५ नेताको साझा भएको बताएका छन् ।

‘प्रचण्डले सचिवालय बैठकमा पेश गर्नुभएको राजनीतिक प्रस्ताव उहाँले एक्लै ल्याएको होइन । त्यो हामी पाँचै जनताको छलफल र सहमतिमा तयार भएको प्रस्ताव हो,’ उनको भनाइ छ ।

गौतमले उक्त प्रस्ताव पार्टी ध्वंस गर्न नभई केपी शर्मा ओलीलाई सच्चाउनका लागि आएको पनि टिप्पणी गरेका छन् ।

ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै प्रचण्डले ल्याएको प्रस्तावमा पार्टी एकतादेखि अहिलेसम्म ओलीबाट भएका कमजोरीको बेलिविस्तार लगाइएको छ । १९ पेज लामो प्रस्तावमा ओलीका यस्ता गतिविधि अब क्षम्य नहुने उल्लेख गरिएको छ । ओलीले पार्टी एकताको राजनीतिक–वैचारिक भावना, संगठन, सिद्धान्त र विधि–पद्धति तथा स्थायी कमिटीको पछिल्लो बैठकका निर्णयमाथि प्रहार गरेको उनको निष्कर्ष छ ।

यसअघि ओलीले प्रचण्डलाई सम्बोधन गरी पत्र लेखेका थिए भने प्रचण्डलाई विभिन्न आरोप लगाएका थिए । तर प्रचण्डले त्यसलाई ओलीको झूटको पुलिन्दा भएको बताएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment