Search

महेन्द्रपथीय राष्ट्रवाद र नेपाल संवत्

महेन्द्रपथीय राष्ट्रवाद र नेपाल संवत्

हाम्रा राष्ट्रवादीहरूले भारतीय देवीदेवताहरूको स्मृतिमा भन्दा नेपाली पुत्री सीता, गार्गी, यशोधरा, भृकुटीलाई पुज्दै मोक्ष प्राप्तिको बोध किन गर्न सकिरहेका छैनन् ?

नेपालको राष्ट्रियताको सवालमा भारत सम्बन्धित प्रसंग सदैव उठ्ने गर्छ । हामी यति साह्रो अभ्यस्त भइसकेका छौँ कि यसमा कुनै अस्वाभाविक लाग्दैन । राणा शासनविरुद्धको राजनीतिक आन्दोलन र त्यसपश्चात् भारतीय शासनसत्ताबाट हुने गरेका अनेकन् हस्तक्षेप तथा नेपालमाथि लादिएका विभिन्न असमान सन्धिका कारण भारतलाई हेर्ने र बुझ्ने नेपाली बौद्धिक जमातको दृष्टिकोण मूलतः आलोचनात्मक नै रह्यो । त्यसमा नेपालका वामपन्थीहरूले त भारतविरोधको अर्थ राष्ट्रभक्तिको आधारभूत चरित्रकै रूपमा ब्याख्या गर्थे । निर्दलीय राजनीतिको बिगबिगीबीच राजाद्वारा चिनियाँ कार्ड प्रयोग गर्दै भारतविरोधी कदमहरूलाई नेपाली राष्ट्रवादको रूपमा स्थापित गराउन भरथेग गरे । यद्यपि, महेन्द्रपथीय राष्ट्रवादको अर्को पाटोमा पहाडिया खस अहंकारको कुरा प्रबल रूपमा छँदै थियो ।

भारतविरोधको पृष्ठभूमिमा आफूलाई कट्टर राष्ट्रवादीको रूपमा दर्ज गराउने प्रवृत्ति हाल फेरि सत्तारुढ ‘वाम’देखि मुलुकभित्रका एक तप्कामाझ चुलिएको छ । यसका खास कारण पनि छन् । सुगौली सन्धिमार्फत नेपालको मानमर्दन गरिसकेपछि नयाँदिल्लीबाट भारतले जसरी सूक्ष्म व्यवस्थापनमा नेपालको शासनसत्ता सञ्चालनमा उपस्थिति जनाउँदै आयो, त्यो किमार्थ कुनै स्वाभिमानी नेपालीका लागि स्वीकार्य थिएन । पछिल्लो कालखण्डमा पनि बाह्रबुँदे सम्झौताको मस्यौदामा भारतीय पक्षको उपस्थिति, सीमा नाकाबन्दी, संविधान निर्माणमा किचलो, कालापानीदेखि सुस्ता र अन्य भूभागमाथिको अतिक्रमण, भारतीय गुप्तचर प्रमुखको आगमन आदि घटनाक्रम नेपाली जनमानसका लागि अपाच्य हुँदै आइरहेको छ ।

००७ सालको राजनीतिक परिवर्तन, त्यसपछि नेपालको सत्ता सञ्चालनमा अनेकन् किचलो, ०४६ सालको जनआन्दोलन, माओवादी जनयुद्धदेखि दरबार हत्याकाण्डका पछाडि नयाँदिल्लीको चलखेल थियो भन्ने बुझाइ आमजनमानसको हो, यी यावत् दृष्टान्त खाँटी राष्ट्रवादी दाबी गर्नेहरूका लागि भारतविरोध एकखाले कुलीन आचरण जत्तिकै भइदिएको छ ।

तर, यतिबिघ्न राष्ट्रवादी चेत भएर पनि आखिर किन नेपालको राष्ट्रवाद वा राष्ट्रियता सबल बन्न सकिरहेको छैन त ? एक टड्कारो प्रश्न छ । राजनीतिज्ञहरू भन्छन्– अहिले जत्तिको कमजोर नेपाली राष्ट्रियता कहिल्यै पनि थिएन । समाजशास्त्रीहरूको पनि आकलन छ– अहिले नेपाली समाज नराम्रोसँग खण्डित छ । वर्गीय, लैंगिय, क्षेत्रीय, भाषिक, धार्मिक, सामाजिक अनि आर्थिक कोणबाट समाज नरामै्रसँग बिच्किएको छ । कुनै पनि समय भत्किन सक्छ ।

यिनको कारण एउटै मात्र रहेको छ– राष्ट्रियता र राष्ट्रवादलाई बुझ्ने सत्ता–शक्तिको सोच त्रुटिपूर्ण रह्यो । सत्ताले आजसम्म सही अर्थमा नेपाली राष्ट्रियतालाई मजबुत पार्ने भूमिका निर्वाह गर्न सकेन । एकातिर सत्तामा आफू टिकिरहन टेकोको रूपमा विशेषतः नयाँदिल्लीको दृष्टिगोचरलाई राष्ट्रवादसँग गाँसेर व्याख्या गर्ने गलत प्रवृत्ति र अर्कोतिर आन्तरिक रूपमा मुलुकभित्रका सबै तह, तप्का, वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी, धर्म, संस्कृतिका नेपालीजनलाई समानताका आधारमा एकतामा सूत्रबद्ध गर्ने नीतिको अभाव रह्यो । यो नै अहिलेको कमजोर राष्ट्रियताको कारण हो ।

चर्चा भइसकेको छ, भौगोलिक रूपमा भारतवेष्टित रहेजस्तै राजनीतिक तथा आर्थिक क्षेत्रमा पनि भारतले नेपाललाई अँठ्याउँदै आइरहेको छ । यस अर्थमा नेपालको राष्ट्रियता दरो बनोस् भनेर चाहना राख्ने जोकोही पनि भारतको विरोधमा पंक्तिबद्ध हुन कर लाग्छ । यसलाई सहज रूपमा नेपालमाथि हुँदै आइरहेको भारतीय प्रभुत्वबाट उन्मुक्तिको चाहनाका रूपमा बुझ्न सकिन्छ । अर्को कोणबाट यसलाई राष्ट्रवादको एउटा पाटो होइन भन्न सकिन्न ।

धरातलीय यथार्थमा अध्ययन गर्दै गर्दा नेपालमाथि भारतीय प्रभुत्व र औपनिवेशिक प्रभावका आयाम जति व्यापक अनि विविधताजन्य पाउँछौँ, त्यति नै कालखण्डका दृष्टिकोणले पनि यी अनन्त र अविरल रहँदै आएका छन् । तर, राष्ट्रवादी भएर भारततर्फ चोर औँला ठड्याउने महेन्द्रपन्थीदेखि हालका वामपन्थीसम्मले राजनीतिक वृत्तका अतिरिक्त अन्य पक्षमा विद्यमान भारतीय प्रभुत्वको कुनै चर्चा चासो गर्ने गर्दैनन्, किन ?

‘असली हिन्दुस्थाना’ बनाउने अभीष्टद्वारा निर्दिष्ट पहाडिया खस राष्ट्रवादले आज पनि भारतीय भूमिभित्रको काशीवासलाई विशिष्ट महत्वका साथ आफ्नो संस्कार–संस्कृतिको एक अभिन्न अंश ठान्छ । भारतीय सार्वभौमसत्ताभित्रको बद्रीनाथ, द्वारिका, पुरी र रामेश्वरम चारधामको भूमि स्पर्श मात्र हुन सके पनि आफ्नो जीवनको उद्धार हुने आस्थामा ऊ मग्न छ । ब्रह्मनालमा लम्पसार परेको अवस्थामा भारतको गंगानदीको पानी आफ्नो मुखमा परोस् र मृत्युपश्चात् पनि भारतकै नदीनालामा अस्थि सेलाउनेदेखि गयामा पिण्ड तर्पण गरेर मुक्ति दिलाइयोस् भन्ने चाहनाबाट ऊ सन्तप्त छ ।

आफूलाई आर्य र अरूलाई अनार्य सम्झने समाजले रोजेको मर्यादा पुरुष हुन् भारतको अयोध्याका राजकुमार राम । भारतको बृजभूमि मथुराका कृष्ण हाम्रा पथप्रदर्शक । कुरा त्यति मात्र होइन, भारतीय पण्डाहरूले लेखिदिएका धर्मसंहिता नै लामो सदयदेखि नेपाली सामाजिक सञ्चालन र सम्बन्धको मूल आधार भइदिएको छ । आजपर्यन्त नेपालका कतिपय ऐन, कानुनका प्रावधान तिनै मूल्य–मान्यताबाट निःसृत छन् । नेपाली समाजमा विद्यमान भारतीय संस्कृतिको दबदबाका यी साना फेहरिस्त हुन् । फेरि पनि यिनका सम्बन्धमा कसैको कुनै चासो देखिन्न ।

सिनेमा घरभित्र छिर्दा भारतीय चलचित्रकर्मी अमिताभ बच्चन, शाहरूख खानदेखि प्रियंका चोपडा वा दीपिका पाडुकोण अनि उनीहरूले बोल्ने परदेशी भाषा, परदेशी भाव र संस्कारले हामीलाई कसरी थचारिरहेको छ, एक पल पनि हामी अनुभूत गर्दैनौँ । बरु घर पस्दा तिनै हिन्दी फिल्मी गीत सुसेल्दै सिँढीमा पाइला टेक्न रमाउँछौँ । फेरि पनि आफू नेपाली नै भएको गर्व गर्छाैं । कोठा आफ्नो, परिवार आफ्नो अनि कोठामा सजाएर राखेको टिभी पनि आफ्नै, तर परिवारका अभिभावकदेखि महिला बालबालिकासम्मको रोजाइ बन्छ, भारतीय सिरियल तथा कार्यक्रमहरू । विवाह, व्रतबन्ध वा अन्य भोजभतेरको जमघटमा मनोरञ्जनका लागि बजाइने पञ्जाबी भाँङडा शैलीका गीतसंगीत मात्र होइन, त्यसैमा तालबद्ध हुँदै नाचमा रमाउने हाम्रा आफन्तहरू, अनि भारतीय शैलीका लेहेंगा र शेरवानी कोट र कुर्ता–सुरुवालमा सजिनसमेत किञ्चित असमञ्जस्यताको अनुभव हुँदैन । जिउमा सजाइएका वस्तुदेखि घरेलु प्रयोजनका सामान, दैनिक उपभोग्य सामग्री, एक स्थानबाट अर्को स्थानसम्मका लागि प्रयोग गरिने सवारी साधन, त्यसमा प्रयोग गरिने इन्धन सबैमा प्रभुत्व जमाएको छ, भारतले ।

यद्यपि, कुनै समय विद्यालयको पाठ्यांशको रूपमा भारतीय विद्यालयमा पढाइने पुस्तकहरू नै नेपाली विद्यार्थीहरूले पढ्नुपर्थ्यो, अहिले त्यो बाध्यता छैन । नत्र भने पाठ्यक्रमअन्तर्गत अनिवार्य रूपमा भारतको इतिहास र भूगोल पढ्नुपर्ने अवस्था थियो । तर, त्योभन्दा पनि दयनीय कुरो हो, संस्कार, संस्कृति, परम्परा र आस्थाका रूपमा हामीमा गाँजिरहेका भारतीय ती अलिखित अंशहरू, जुन प्रभुत्वका रूपमा छन्, औपनिवेशिक चेतका रूपमा छन् । वास्तवमा ती हामीमा रहेका सांस्कृतिक दासताका अवशेष होइनन् र ? अनि यी सबैबाट मुक्त हुन नखोजेसम्म नेपालको राष्ट्रवाद कति सग्लो ठहरिन्छ, कति दर्विलो रहन्छ ?

संयुक्त राष्ट्र संघको सदस्यताका लागि नेपालले २२ जुलाई १९४७ मा आवेदन दिएको थियो, तर त्यो अस्वीकार गरियो । तत्कालीन सोभियत संघ जुन सुरक्षा परिषद्को सदस्य र भिटो अधिकार सम्पन्न राष्ट्र थियो, उनको बुझाइमा नेपाल कुनै सार्वभौम र स्वतन्त्र राष्ट्रको हैसियत राख्दैन, त्यसैले सदस्यता दिनुहुन्न भन्ने उनको अडान थियो । पर्व, उत्सव भारतकै झैँ मनाइने– दशहरा र दीपावली ! राज्यसँग गाँसिएको धर्म संस्कृति भारतकै सरह हिन्दू । अड्डा अदालतमा आधिकारिक स्तरमा प्रयोग गरिने लिपि हिन्दीकै अनुकरण, प्रचलनमा रहेको खस सरकारी भाषा हिन्दीसँग मिल्दोजुल्दो । अनि भारतकै विक्रम संवत् राजकीय व्यवहारमा रहँदै आएको पृष्ठभूमिमा नेपालले स्वतन्त्र र सार्वभौम राष्ट्र पुष्टि गर्न सक्दैन भन्ने अर्घेलो थियो, सोभियत संघको । नेपालमा विद्यमान यस्तै यथार्थकै आधारमा स्वयं विश्वेश्वरप्रसाद कोइरालाले समेत कुनै कालखण्डमा …‘नेपाल भारतको एक प्रशासनिक एकाइभन्दा अरू ठहरिन्न’ भनेका थिए ।

भनिन्छ, पछि आफ्नो विशिष्ट मौलिकता झल्किने वास्तुकला, काष्ठकला, मूर्तिकला, धिमेजस्ता बाजा, रैथाने गरगहना, परिकारका अतिरिक्त पृथक् देखिने रञ्जना लिपि, नेपालकै नामबाट संवत्सर गरिएको नेपाल संवत् आदिको विवरणसहित आफ्नै फरक पहिचान भएको स्वतन्त्र, सार्वभौम राष्ट्र हो भन्ने दाबीका साथ अर्को निवेदन दिएपछि १४ डिसेम्बर १९५५ मा मात्र संयुक्त राष्ट्र संघ सदस्यता हासिल गर्न नेपाल सफल भयो । खोजी गरिएमा, जाँगर देखाइएमा आफ्नै साँधसीमाभित्र राष्ट्रियता बोध गराउने बिम्ब, विचार र व्यक्तित्वको अभाव रहेनछ भन्ने त्यो एक उदाहरण थियो ।

भारतीय भूमिका चारधामजत्तिकै पवित्र लुम्बिनी, मुक्तिनाथ, वराहक्षेत्र, गोसाइँकुण्ड हाम्रोमा नभएको होइन । काशीवास भई जीवनको अन्तिम श्वास कुर्नेहरूले नेपालकै त्रिवेणी देवीघाट वा पशुपति आर्यघाट रोजेर अपनत्वसहित गौरवान्वित हुन किन चाहेनन् ? भारत पुगेर पुरुषोत्तम राम वा कर्मयोगी कृष्णका अगाडि शरणागत हुनुभन्दा नेपाली माटोको सन्तति तथागत सिद्धार्थ गौतम, वैदेही जनकदेखि याज्ञवल्क्य, अष्टावक्रका जीवन दर्शनबाट किन उत्प्रेरित हुँदैनन् ? हाम्रा राष्ट्रवादीहरूले भारतीय देवीदेवताको स्मृतिमा भन्दा नेपाली पुत्री सीता, गार्गी, यशोधरा, भृकुटीलाई पुज्दै मोक्ष प्राप्तिको बोध किन गर्न सकिरहेका छैनन् ?

एकातिर नेपाली हौँ भनेर नेपाली राष्ट्रवादका लागि पाखुरा सुर्काउँछौँ, अर्कातिर दास सांस्कृतिक मानसिकताले पूर्वज भेट्टाउन लर्को लाग्दै गोत्र तथा वंशका नाउँमा वशिष्ठ, कौशिक, गौतम, कश्यप, अत्रि आदिसँग सम्बन्ध गाँसेर त्यही भारतीय भूमि नै पुग्छौँ । तर, नेपाली भूमिको सुवासयुक्त मुन्धुम वा यलम्बरलाई आफन्त ठान्न हिच्किचाउँछौँ । हजारौँ वर्षअघि चिनियाँहरूलाई दर्शनशास्त्रमा दीक्षित गर्ने नेपाली सन्तति बुद्धभद्रलाई राष्ट्रवादीहरू चिन्दैनन् । तिब्बत चीनसम्म नेपाली कलालाई विस्तारित गर्ने कलाकार अरनिको वा इन्डोनेसियाका बुद्धेबुरका कला सर्जक नेपाली गौरव गुणधर्म आदिले राष्ट्रवादको बसिबियाँलोमा प्रवेश पाउँदैनन् । सिञ्जा उपत्यकामा हजारौँ वर्षदेखि आदिवासी खसहरूले संरक्षित गर्दै आएको हाम्रो रैथाने मष्टो संस्कृतिलाई राष्ट्रियताको जलप लगाउन कन्जुस्याइँ गरिन्छ ।

मगरातमा विकसित आफ्नै आखा लिपि, पूर्वी नेपालमा प्रयोगमा रहेको सिरजंगा लिपि, त्यति मात्र होइन, भारत, तिब्बत, चीन, कोरिया, जापान, मंगोलियासम्म आजपर्यन्त श्रद्धापूर्वक स्थान दिँदै आइरहेको हाम्रो गौरवको प्रतीक रञ्जना लिपि छन् तर संस्कृत र हिन्दी भाषाका प्रयोजनमा ल्याइएको देवनागरीलाई संविधानमै किटेर राष्ट्रिय लिपि दर्ज गर्दा कथित नेपाली राष्ट्रवादलाई किन पोल्दैन ?

हामीमा रहेको राष्ट्रियतासम्बन्धी यस्तै दुर्बल मानसिकताको एउटा विद्रुप नै बनेको छ– नेपाल संवत् ! यस संवत्का प्रवर्तक शंखधर शाख्वाः सत्ताकै भाषामा नेपालका राष्ट्रिय विभूति हुन् । सरकार कबुल गर्छ, उनले प्रचलनमा ल्याएको नेपाल संवत् राष्ट्रिय संवत् हो ! नेपाल संवत् नयाँ वर्ष, भिन्तुनाको अवसर पारेर जनसमक्ष उभिन आउने सत्ता प्रमुखहरू यस संवत्का राष्ट्रिय गरिमा र मौलिकताका सम्बन्धमा विज्ञ छन् । तर, नेपालीपनमा गर्व गर्ने संस्काररहित स्वभाव तथा भारतीय भूमिको धुलो माथमा तिलकसरह दल्न पाए मोक्षको अनुभूत गर्ने सांस्कृतिक दासत्वका कारण विनाअर्थ भारतीय संवत् विक्रम संवत्बाट नेपाल संवत् विस्थापित गराउनमा रमिते बनिरहेका छन् । विसंगतिको एक पराकाष्ठा !

महेन्द्रीय राष्ट्रवाद पुनारवृत वर्तमान अवस्थाका यी तिक्ता हुन् । पुङमाङे चरित्रको यस्तो महेन्द्रपथीय राष्ट्रवादले न त नेपाली जनता–जनताबीचको एकतालाई मजबुत पार्दै राष्ट्रियतालाई दरो बनाउन सक्छ, न त जरो गाडेको भारतीय संस्कृतिको प्रभुत्वबाट मुक्ति दिलाउँछ । झन नयाँ

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!