Search

आधा घन्टा बसेर सकियो नेकपा सचिवालय बैठक

आधा घन्टा बसेर सकियो नेकपा सचिवालय बैठक

बाँपीझ्याला, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुप्रतीक्षित सचिवालय बैठक आधा घन्टा मात्र बसेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले मंसिर ३ गते अर्को बैठक बोलाउने र छलफलका लागि कार्यसूची बनाउने निर्णय गरेको छ । पार्टीमा उत्पन्न संकट, समस्या र समाधानका लागि कार्यसूची बनाएर छलफल गर्ने निष्कर्षका साथ बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

यस्तै बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको संकटका विषयमा तयार पारेको राजनीतिक प्रतिवेदन सचिवालय सदस्यलाई वितरण गरिएको छ । पार्टीभित्र देखिएको पछिल्लो संकटका विषयमा प्रचण्डले प्रतिवेदन तयार पारेको उनले जानकारी दिए । यसैगरी स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशन पनि अध्ययनका लागि वितरण गरिएको श्रेष्ठले बताए । बैठकमा यसअघि सचिवालय बैठक बोलाउन प्रचण्डले गरेको आग्रह र सचिवालयका बहुमत सदस्यले पेस गरेको लिखित पत्रका विषयमा पनि छलफल भएको छ ।

प्रचण्डले ओलीलाई बैठक बोलाउन माग गर्दै पठाएको पत्र र त्यसको जवाफमा ओलीले प्रचण्डलाई पठाएको पत्र, त्यसपछि प्रचण्डले ओलीलाई पठाएको जवाफका विषय पनि बैठकमा कुरा उठेको उनले बताए । ती पत्रसमेत सचिवालयका सदस्यलाई वितरण गरिएको छ ।

वितरण भएका सबै सामग्री अध्ययन गरी अर्को बैठकमा पार्टी एकताको रक्षा, पार्टी र सरकारका सामु देखिएका ऐतिहासिक जिम्मेवारी पूरा गरेर अगाडि बढ्ने विषयमा छलफल गर्ने उनले बताए । आगामी बैठकमा कर्णाली र पर्सा घटनालगायतका विषय पनि छलफलका एजेन्डा बन्नेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!