Search

चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरः अहिले सुन्दर केन्द्र

चम्पादेवी गाउँपालिकाको केन्द्र सुन्दरपुरः अहिले सुन्दर केन्द्र

२८ कात्तिक, बाँपीझ्याला, ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको केन्द्र रहेको ठाउँलाई अहिले ‘सुन्दरपुर’ नामकरण गरिएको छ । साविक कालिका गाविसको ताप्केडाँडा संघीयता कार्यन्वयनसँगै ‘सुन्दरपुर’ भएको हो ।

संघीयता कार्यान्वयमा आएर गाउँपालिकाको केन्द्र स्थापना हुँदा यस ठाउँमा विकासका पूर्वाधार नै थिएनन् । भौगोलिक रूपमा समेत यो ठाउँ अति नै विकट रहेको थियो । जताततै डरलाग्दा भीरैभीर भएको यस ठाउँमा विकासका पूर्वाधार निर्माण गर्नु आफैँमा चुनौती थियो ।

यस गाउँपालिकामा समेटिएका फेदीगुठ, पलापु, कालिका, विलन्दु र रानीवनको व्यापारिक केन्द्र थियो घोराखोरी । विकासका पूर्वाधार बनेको र सडक पुगेको उक्त ठाउँलाई गाउँपालिका केन्द्र बनाउन धेरैको प्रस्ताव थियो । नामकरणमा सहमति जुटे पनि केन्द्रमा नजुटेपछि घोराखोरी वा ताप्केडाँडा भनेर संघीय मामिला मन्त्रालयमा पठाइयो । पछि आयोगले ताप्केडाँडा केन्द्र भनेर तोकिएपछि फुङ्ग उडेको डाँडामा गाउँपालिका केन्द्र स्थापना भयो ।

सबैले हेला गरेर ताप्केडाँडा भनेकाले स्थानीय तहको निर्वाचनपछि आएका जनप्रतिनिधिले त्यसलाई ‘सुन्दरपुर’ भनिदिए । अहिले त्यही ताप्केडाँडामा गाउँपालिका केन्द्र भएकाले विकासका पूर्वाधार धमाधम बन्दै छन् ।

चम्पादेवी गाउँपालिकाले गौरवको आयोजनाका रुपमा खानेपानी, विद्युत् र सडकलाई छनोट गरेको छ । जसमध्ये सदियौ वर्षदेखि तिर्खाले व्याकुल बन्दै आएका गाउँ वस्तीमा खानेपानी पु¥याउन चालु आर्थिक वर्षलाई खानेपानी वर्षको रुपमा लिएको छ ।

गाउँपालिकाले २०७८ सालमा सबै वडामा केन्द्रीय विद्युत् प्रशारण लाइन जोड्ने योजना अगाडि सारेको छ । सडक निर्माण तथा विस्तारको काम पनि निरन्तरण जारी राखेको छ । चम्पादेवीले सबै वडाहरुलाई सहज रुपमा गाउँपालिका केन्द्रसँग जोड्न थप सडक निर्माणको योजना समेत अगाडि सारेको छ ।

यहाँ खानेपानी पुगेको छ । अस्थायी रूपमा बिजुली पनि पुगेको छ । अप्ठ्यारो भीर फोरेर सडक पुर्‍याइएको छ । तर, निकै जोखिमपूर्ण यात्रा गर्नुपर्छ, चम्पादेवीको केन्द्र सुन्दरपुर पुग्न । संघीयता कार्यान्वयन हुनुपूर्व विकासका दृष्टिकोणले अतिपिछडिएको यस क्षेत्रमा गाउँपालिका केन्द्र स्थापना भएपछि अहिले सडक, खानेपानी, विद्युत, स्वास्थ्यलगायतका पूर्वाधार निर्माण भएका छन् ।

अस्थायी रूपमा विद्युत् पनि संचालनमा छ यहाँ । ‘हामी निर्वाचित भएर आएपछि विकट सुन्दरपुरलाई सुगम बनाउन सफल भएका छौँ’, चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले भने, ‘सुन्दरपुरलाई सुगम बनाउँदै समग्र गाउँपालिकाको तीब्र विकासको काम अगाडि बढाइरहेका छौँ ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!