Search

दोलखामा कोरोना परीक्षण गर्न पिसिआर मेसिन खरिद गरिने

दोलखामा कोरोना परीक्षण गर्न पिसिआर मेसिन खरिद गरिने


बाँपीझ्याला, विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको परीक्षण गर्न दोलखाले पिसिआर मेसिन खरिद गर्ने भएको छ । दोलखावासीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न अन्यत्र पठाउँदा समयमा रिपोर्ट नआउनेदेखि अन्य थुप्रै समस्या देखिएपछि दोलखाले मेसिन खरिद गर्ने भएको हो ।

बुधबार जिल्ला समन्वय समितिमा बसेको सांसदसहित सरोकारवालाको बैठकले पिसिआर मेसिन खरिद गरी कोरोना परीक्षण तीव्र पार्ने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटीले जानकारी दिए । उनका अनुसार मेसिनसहित अन्य आवश्यक उपकरण खरिद र व्यवस्थापनका लागि दोलखाबाट प्रत्यक्ष निर्वाचित संघ र प्रदेशका तीनजना सांसदले सांसद विकास कोषमार्फत ५०-५० लाख बजेट विनियोजन गर्ने सहमति भएको छ ।

सोही रकमबाट पिसिआर मेसिन र अन्य स्वास्थ्य उपकरण खरिद गरी बाँकी व्यवस्थापनको काम गर्दै जाने निर्णय भएको सिवाकोटीले बताए । उक्त मेसिन खरिद र सञ्चालनको जिम्मा भने भीमेश्वर नगरपालिकालाई दिइएको छ । नगरपालिकाले चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिन राखेर परीक्षणको काम गराउने भीमेश्वर नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।

समुदायस्तरमै पुग्यो कोरोना
लामो समयसम्म ग्रिन जोनमा रहेको दोलखामा दसैँ सुरु भएदेखि नै संक्रमण तीव्र रूपमा फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय संक्रमण चौतर्फी हुँदै गएकाले समुदायस्तरमै कोरोना पुगेको सरोकारवालाहरूले जनाएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी वासुदेव अधिकारीले अहिलेसम्म दोलखाका नाैवटै स्थानीय तहमा संक्रमण पुगिसकेको बताएका छन् । उनका अनुसार जम्मा दुई हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएकोमा दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये एकजनाको मृत्यु भएको छ भने एक सय २८ जना निको भएर घर फर्किसकेका छन् । नयाँ पत्रिका दैनिकी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!