बाँपीझ्याला, काठमाण्डौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले कात्तिक २७ गते बिहीवार पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेको छ ।
प्रचण्डले मंगलवार अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सचिवालय बैठक बस्न प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलवार अपराह्न बसेको सचिवालयका बहुमत सदस्यको बैठकले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रस्ताव गरिएको र सो मितिमा बैठक बोलाउन ओली समेत सहमत हुने प्रवक्ता श्रेष्ठले विश्वास व्यक्त गरे । सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकअघि प्रचण्डले ओलीसँग भेट गरेका थिए ।
ओली बुधवार काठमाडौं बाहिर जाने पूर्व निर्धारित कार्यक्रम रहेकाले कात्तिक २७ गते सचिवालय बैठक बोलाउन प्रचण्डले प्रस्ताव गरेपनि ओलीले सहमति दिएका छैनन् । ‘छिटोभन्दा छिटो बैठक बस्नुबाहेक विकल्प छैन भन्ने कुरा गर्नुभयो । भोलि अध्यक्ष ओली उपत्यका बाहिर जाने भन्ने योजना भएको स्थितिमा २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रचण्डले अनुरोध गर्नुभएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘आजको छलफलमा पनि २७ गते बस्ने कुरामा ओलीले सहमति जनाइसक्नुभएको छैन । प्रचण्डले प्रस्ताव गर्नुभए अनुसार भोलिको कार्यक्रम सकिएपछि सहमति जनाउनुहुनेछ भन्नेमा हामी विश्वास गछौं ।’
प्रचण्ड समूहले २७ गते बैठक नबोलाएमा के गर्ने भन्नेबारे निर्णय गरी नसकेको श्रेष्ठले बताए । ‘हामीले अहिलेको संकटको विशिष्ट परिस्थितिमा पार्टी एकताप्रति संवेदनशील छौं, यो कमजोरी होइन, पार्टी एकतालाई बचाउँदै पर्सी बैठक बस्न सहमति जनाऔं भनेका छौं । अहिले पनि हामी बैठक नबसे के गर्ने भनेर सोचेका छैनौं,’ श्रेष्ठले भने ।
मंगलवारको अनौपचारिक बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बैठकमा उपस्थित थिए ।
सचिवालयका बहुमत सदस्यको बैठक शुक्रवार पनि बसेका थियो । शुक्रवारको अनौपचारिक बैठकबाट सचिवालय बैठक बोलाउन ओलीसँग लिखित आग्रह गर्ने निर्णय गरिएको थियो । सचिवालयका ५ सदस्यले शनिवार ओलीसँग सचिवालय बैठक बोलाउन आग्रह गरेपनि ओली सहमत भएका थिएनन् ।