कातिक २५, बाँपीझ्याला, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको छ ।
नेकपाभित्र चर्किएको विवादका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले बैठक नडाकेको भन्दै अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यको सहभागितामा बैठक बसेको हो ।
बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । यो बैठक अनौपचारिक रूपमा बसेको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
यस बैठकमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा भने सहभागी छैनन् ।
धुम्बाराहीमा बैठक थाल्नुअघि कार्यकारी अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार गएका थिए । त्यहाँ उनीहरूबीच पौने घन्टा छलफल भएको थियो । यसबारे थप जानकारी आउन बाँकी नै छ ।
यसअघि गत शुक्रबार अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । जसमा पाँचजना सचिवालयका सदस्यको उपस्थिति थियो ।
उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन सहमतीको माग गरी पत्र बुझाइएको थियो ।
उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन सहमति दिन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो ।