Search

निर्माण सामाग्रीमा एकपछि अर्को मूल्यवृद्धि

निर्माण सामाग्रीमा एकपछि अर्को मूल्यवृद्धि

बाँपीझ्याला, काठमाडौं । निर्माण सामाग्रीमा एकपछि अर्को गर्दै मूल्य बढ्न थालेको छ । इँटा, गिटी र बालुवाको मूल्य वृद्धिपछि सिमेन्ट, डन्डी र पाइपको मूल्य बढाउने तयारी सुरु भएको छ । व्यवसायीहरुका अनुसार तिहारपछि अब धेरैजसो सामानको मूल्य लकडाउन अघिको अवस्थामा पुग्नेछ र केही सामानको मूल्य भने त्योभन्दा माथिसम्म पुग्नसक्छ ।

कोरोना भाइरसको प्रभाव सुरु हुनुअघि अघिल्लो वर्ष माघमा उद्योगीहरुले निर्माण सामाग्रीको मूल्य बढाएका थिए । त्योबला सिमेन्टमा ५० रुपैयाँसम्म र डन्डीमा प्रतिकेजी ७/८ रुपैयाँसम्म मूल्य बढेको पाइएको थियो । त्यतिबेला मूल्य प्रतिस्पर्धाका कारण सिमेन्ट उत्पादनका लागि प्रयोग हुने क्लिंकरको मूल्य घटेको थियो । उता अन्तराष्ट्रिय फलामको मूल्य समेत केही घटेको थियो । बजारमा कच्चा पदार्थको मूल्य घट्दा पनि मूल्य बढाइएको भन्दै त्यतिबेला यो निर्णयको आलोचना भयो । वाणिज्य विभागले उद्योगीहरुलाई मूल्य वृद्धिबारे प्रष्टिकरण समेत सोधेको थियो ।

तर, त्यसलगत्तै कारोनाभाइरसको महामारी सुरु भएपछि त्यो प्रसंग यत्तिकै सेलाएको थियो । लकडाउन सुरु भएको केही समयसम्म निजी र सार्वजनिक निर्माण ठप्प हुँदा बजारमा माग निकै कम भयो । त्यही बीचमा उद्योगीहरुले बढेको मूल्य समायोजन गरे । उनीहरुले बढेको मूल्य घटाउने काम मात्रै गरेनन्, बजारमा आफ्नो उपस्थिति देखाउनकै त्योभन्दा कम मूल्य राखेर आफ्ना उत्पादनहरु बिक्री गर्न थाले । त्यतिबेला उद्योगीबीच एक प्रकारको प्राइस–वार नै चलेको थियो । अब भने उचित नाफासहित व्यवसायिक ढंगले मूल्य निर्धारणको पक्षमा आफूहरु रहेको एक उद्योगीले बताए ।

‘लकडाउनको समयमा हामीले नाफा हेरेनौं । बजारमा उपस्थिति देखाइराख्नकै लागि हामीले घाटा सहेर सस्तो मूल्यमा सामान पठायौं । तर, सँधैं यसरी चल्दैन । उचित नाफा राखेर जानुपर्छ । यसो गर्दा मूल्य केही बढ्न सक्छ,’ ती उद्योगीले भने ।

अहिले बजारमा डन्डीको मूल्य ७०/७२ रुपैयाँदेखि ८२/८३ रुपैयाँसम्म छ । लकडाउन हुनुअघि अहिले ७०/७२ रुपैयाँमा पाइने डन्डीको मूल्य ८० रुपैयाँको हाराहामीमा पथ्र्यो । अहिले ८२/८३ रुपैयाँ पर्ने डन्डीको मूल्य ९० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो ।

आन्तरिक प्रतिस्पर्धा र मागकै कारणले मूल्य घटेको भने होइन । यसरी मूल्य घट्नुमा अन्तर्राष्ट्रिय बजारको मूल्य प्रमुख कारण थियो । अघिल्लो वर्षको असोजसम्म भारतबाट ल्याइएका कच्चा फलामको मूल्य भन्सार बिन्दुमा लाग्ने करसहित प्रतिकेजी ७१ रुपैयाँ २२ पैसा थियो । यो अवधिमा करिब ८९ हजार १ सय ९७ मेट्रिकटन फलाम तथा स्टिल आयात भएको थियो । यो वर्षको असोजसम्म प्रतिकेजी औसत ६४ रुपैयाँ ४८ पैसामा आयात भएको छ । यो अवधिमा ८९ हजार ८ सय ८१ मेट्रिकटन फलाम तथा स्टिल आयात भएको छ । तर कात्तिक लागेपछि भने आयातीत कच्चा ब्लेडको मूल्य बढ्न थालेको बताइएको छ ।

त्यसो त लकडाउनपछि सिमेन्टको मूल्य समेत घटेको छ । पहिले ७ सय ५० रुपैयाँ पर्ने पीपीसी सिमेन्टलाई यो समयमा ६ सय ८० रुपैयाँदेखि ७ सय रुपैयाँसम्ममा बिक्री गरियो । पहिले एक हजार रुपैयाँ पर्ने सिमेन्टको मूल्य ९ सय रुपैयाँसम्ममा झर्यो । स्टक क्लियरिङ गर्न योभन्दा कम मूल्यमा समेत सिमेन्टको बिक्री गरिएको बिक्रेताहरुको भनाइ छ । तर घटेको मूल्य समायोजन भएर अब पूरानै अवस्थामा फर्कनसक्ने बताइएको छ । यसो गर्दा मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुनसक्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!