Search

कार्यपालिका बैठकको नाममा मध्यपुर थिमि नगरपालिकामा ‘भाँडभैलो’ !

कार्यपालिका बैठकको नाममा मध्यपुर थिमि नगरपालिकामा ‘भाँडभैलो’ !

२३ कार्तिक, बाँपीझ्याला, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा भाँडभैलो सुरु भएको छ। नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादमा कार्यपालिका सदस्यहरु नै दुईपक्षमा विभाजित भएपछि नपामा भाँडभैलो सुरु भएको हो।

स्थानीय तह सञ्चालन ऐन २०७४ विपरीत आइतबार मेयर मदनसुन्दर श्रेष्ठले नगर कार्यपालिकाको बैठक बोलाए। उक्त बैठकमा मेयरसहित ११ जना कार्यपालिका सदस्य उपस्थित भए। उपमेयरसहित ८ जना कार्यपालिका सदस्यले भने बैठक बहिस्कार गरे।

ऐनअनुसार मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठक बोलाउने व्यवस्था छ। यसरी बोलाइने बैठकको माइन्युट नै प्रमुख प्रशासकीय अधिकृतले उठाउने र त्यसको प्रमाणीकरण पनि प्रमुख प्रशासकीय अधिकृतले नै गर्ने ऐनमा व्यवस्था गरिएको छ।

तर ऐनविपरीत मेयर श्रेष्ठले बोलाएको बैठकले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको छ।

ऐनअनुसार अवैधानिक उक्त कार्यपालिका बैठकले गरेको निर्णयमा भनिएको छ, ‘यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले नगरसभाबाट बजेट विनियोजन भई नियमित रुपमा उपभोक्ता समितिमार्फत भइरहेका कार्यहरुलाई महान चाड वडा दसैंको अगाडि पनि रकम निकासा नगरी दुःख दिइएको, नगरको आन्तरिक राजनीतिमा सहभागी भई चलखेल गरिएको, नगरपालिकाका दस्तावेजहरुलाई बद्नियतपूर्वक बाहिर पठाइएको कारण मन्त्रालयमा फिर्ता गरी अर्को प्रमुख प्रशासकीय अधिकृत यथाशीघ्र पठाउन मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरियो।’

बैठकमा मेयर श्रेष्ठसँगै नेपाली कांग्रेस संस्थापन पक्षीय ४ जना वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्य, नेमकिपा, नेकपा (नेकपा) र स्वतन्त्रबाट निर्वाचित ३ जना वडा अध्यक्ष गरी ११ जना सहभागी भएका छन्। निर्णयमा ती ११ जना कार्यपालिका सदस्यहरुले हस्ताक्षरसमेत गरेका छन्।

प्रवक्ता थापामगर भन्छन् बैठक बसेकै छैन ।

मेयर श्रेष्ठले बोलाएको कार्यपालिका बैठक बोलाएर प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गर्ने निर्णय गरेको सार्वजनिक गरिए पनि नपाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले कार्यपालिकाको बैठक बसेको अस्वीकार गरेका छन्।

उनले आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै आइतबा कार्यपालिका बैठक नबसेकोले कुनै भ्रममा नपर्न आह्वान गरेका छन्।

उनी उपमेयर अञ्जनादेवी मधिकर्मीसँगै अन्य सात जना कार्यपालिका सदस्यसँगै बैठकमा उपस्थित भएका थिएनन्। उनीहरुले मेयर श्रेष्ठलाई कार्यपालिकाको बैठक बोलाउन ध्यानाकर्षण गर्दा कुनै सुनुवाइ नगरेको उल्टै आफूहरुसँग सल्लाह नै नगरी मेयर श्रेष्ठले आफूखुसी कार्यपालिकाको बैठक बोलाएको भन्दै बैठक बहिस्कार गरेका थिए।

प्रवक्ता थापामगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को दफा २ (छ) मा नगर प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुनेछ भन्ने व्यवस्था छ। दफा ८४ को दफा २ (ज) ले कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई सुम्पिएको छ। यस्तो प्रस्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि नगर प्रमुखले आफैले हस्ताक्षर गरेर कार्यपालिकाको बैठक बोलाइनु विधिको उल्लंघन हो।

दसैंअघि कार्तिक ६ गते यसरी नै बोलाइएको बैठकमा नेपाली काग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने १५ जना सदस्यहरु अनुपस्थित भए पनि पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकका निर्णय भनी पत्रकार सम्मेलनमा जानकारी गराएको विषय कार्यपालिका बैठकको निर्णय नभई नगर प्रमुखको भनाइ भएको व्यहोरा मैले विज्ञप्तिमार्फत प्रस्ट पारेकै हुँ।

आज पनि विगतकै ढंगले बोलाइएको कार्यपालिका बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने उपमेयरसहित ८ जना सदस्यहरु अनुपस्थित रहेको व्यहोरा जानकारी गराउँछु। प्रचलित कानुनले निर्धारण गरेको विधि र प्रक्रियाविपरीत मेयरले आफै पत्राचार गर्ने र आफै निर्णय प्रमाणीकरण गर्ने अनि यसैलाई विधिसम्मत भन्दै जाने हो भने अर्कै कुरा हो। अन्यथा आज नगर कार्यपालिकाको ४९ औं बैठक नबसेकोले कुनै भ्रममा नपर्न सम्बन्धित सबैलाई जानकारी गराउँछु।’

मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रिजालबीचको विवादको कारण कार्तिक ७ गतेदेखि मध्यपुर थिमि नपा गतिरोधको अवस्थामा रहेको छ। आपसी विवादमै मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई कारबाही गरी मन्त्रालय फिर्ता गरेको भने कार्तिक ७ गते पत्रकार सम्मेलन गरी घोषणा गरेका थिए।

त्यसलगत्तै प्रमुख श्रेष्ठले नक्सापास गर्ने अनलाइन प्रणालीमा प्रमुख प्रशासकीय अधिकृतको युजरनेम र पासवर्ड हटाउन लगाए। त्यस्तै प्रमुख प्रशासकीय अधिकृतलाई नपाको कुनै काम नगराउन मेयर श्रेष्ठले शाखा प्रमुखहरुको बैठक बोलाएर हाकाहाकी निर्देशन दिए।

त्यस्तै मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधनसमेत झिकाउन कर्मचारीहरुलाई निर्देशन दिएको बताइएको छ। यसले झन् मध्यपुर थिमि नपाको आन्तरिक व्यवस्था जेलिँदै गएको हो।

मध्यपुर थिमि नपामा प्रमुख श्रेष्ठको मनोमानी, अस्वीकृत योजनालाई पेश्की दिने प्रयास
मध्यपुर थिमि नपामा बेथिति : मेयर श्रेष्ठले खोसे प्रमुख प्रशासकीय अधिकृतको अधिकार
मेयर श्रेष्ठले कार्यपालिका बैठकबाट स्वीकृत नभएका तर उनले मौखिक आदेश दिएर उपभोक्ता समिति गठन भई काम भएका योजनाको भुक्तानी तथा त्यस्तै प्रकृतिका योजनाको उपभोक्ता समितिलाई पेश्की दिन व्यक्तिगत रुपमा दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत रिजालसँग सम्बन्ध बिग्रिएको हो।

प्रमुख प्रशासकीय अधिकृत रिजालले आफूले सम्झौता नगरेको तथा लगत इस्टिमेट स्वीकृत नगरेका योजनालाई भुक्तानी तथा पेश्की दिन नसकिने अडान लिएका थिए। तैपनि मेयर श्रेष्ठले व्यक्तिगत रुपमा र अन्य माध्यमबाट दबाब दिएपछि रिजालले भुक्तानी एवं पेश्की नै दिने भए नगर कार्यपालिकाको बैठकबाट निर्णय गर्न भनेपछि मेयर श्रेष्ठ र रिजालबीचको सम्बन्ध चिसिएको हो।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment