बाँपीझ्याला, पर्यटकिय नगरी पोखरा उपत्यकाका डाँडाकाँडाहरू समेत धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेका छन् । सराङकोट, काहुँडाँडा, मट्टिखान लगायतका डाँडाहरू पर्यटकीय एवं धार्मिक गन्तव्यको रूपमा यसअघि नै विकास भइसकेका हुन् । त्यसैक्रममा अब थपिँदैछ – पुम्दीकोट ।
पोखरा महानगरपालिका–२२ को पुम्दीभुम्दीस्थित पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हाल विशाल महादेवको मूर्ति जडान गरिँदैछ ।
भारतबाट ल्याइएको अष्ठधातुजडित फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति लिफ्ट र क्रेनको सहयोगमा जडान जारी रहेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । उनका अनुसार कात्तिक महिनाभर सो मूर्ति जडान भइसक्नेछ । मूर्ति जडानका लागि भारतबाटै कालिगढी झिकाइएको छ ।
भारतको मथुरामा निर्मित सो मूर्ति जडानमा हाल २० जना कामदार खटिएका छन् । सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्ति भारतबाट १२ वटा गाडीमार्फत अघिल्लो हप्ता ल्याइएको हो ।
निर्माण समिति अध्यक्ष बराल भन्छन्, ‘धार्मिक एवं पर्यटकीय महत्त्वको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण लगायत अनेकौं संरचना निर्माणपछि पोखरा घुम्न आउने पर्यटकको १ दिन भए पनि बसाइँ अवधि लम्बिने विश्वास छ । साथै यस आसपासको क्षेत्रमा धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सघाउ पुग्ने छ ।’
पुम्दीकोटको विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना रहेकोमा कोरोना महामारी लगायत विविध समस्याका कारण लागत बढेर ४५ करोड रुपैयाँसम्म पुग्ने निर्माण समितिको अनुमान छ । हालसम्म १३ करोड रुपैयाँमा करीब ४० प्रतिशत कार्यसम्पन्न भइसकेको छ । मूर्ति जडानसँगै करीब २० करोड रुपैयाँको काम भइसक्ने बरालले बताए । ५ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाअन्तर्गत शिलान्यास भई कार्य शुरू भएको साढे २ वर्ष बितिसकेको छ ।
निर्माण समितिले १८ वटा ‘अट्याच बाथरुम’ सहितका सटर निर्माण गरिसकेको छ । गुरु महाराजको आश्रम, १०८ वटा शिवलिङ्ग, शिवजीको शिला, ग्रिनरी पार्क, पार्किङ, तारबर, रेलिङ, स्मृति पार्क लगायत संरचना बन्दै छन् ।
नेपालमा यसअघि काठमाडौंको साँगामा सबैभन्दा अग्लो १०८ फिटको विशाल मूर्ति छ । पुम्दीकोट आफैंमा शिखरमा रहेको र १०८ फिटकै अग्लो मूर्ति निर्माण गरिने पूर्व योजना भए पनि हवाई उड्डयन प्राधिकरणको अनुमति नमिल्नु र कतिपय विविध समस्याले खुम्च्याएर ५१ फिट मात्र मूर्ति निर्माण गरिएको हो । सो मूर्ति भारतका कलाकार पिपुल अग्रवालले बनाएका हुन् भने हिल ट्यांक प्रालिका प्रबन्ध सञ्चालक उद्योगपति एवं समाजसेवी कमल जयनले प्रायोजन गरेका हुन् ।
मूर्ति राख्ने स्ट्यान्ड निर्माणमा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा बेल्फेयर सोसाइटीका मुरलीधर रुंगटाले आर्थिक सहयोग गरेका छन् । समिति अध्यक्ष बराल, समाजसेवी जयन, व्यवसायी रुंगटाले जनही १/१ करोडभन्दा बढी रकम मूर्ति निर्माणका लागि दान दिएका हुन् ।
मूर्ति स्थापनासँगै समितिले पहिलो चरणको काम अन्तर्गत मूर्ति जडान सहितको १०८ स्वर्गद्वारी सिँढी, ढुंगा बिछ्याउने, रंगरोगन, फिनिसिङ लगायतको काम गर्न थप २ करोड रकम जोहो गर्नुपर्ने समितिका अध्यक्ष बरालले बताए । समितिले आर्थिक संकलनका लागि २०७३ फागुन ३ देखि १३ सम्म पुम्दीकोटमा महादेव पुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरेको थियो । महायज्ञबाट मात्रै ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो । महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड रुपैयाँ उठन् बाँकी रहेको बताइएको छ ।
बृहत् योजना सफल बनाउन संघीय सरकारले साढे ४ करोड, पोखरा महानगरपालिकाले डेढ करोड, गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ सहयोग गरेको छ । कूल २२ रोपनी क्षेत्रफलमा रहेको जग्गा समितिले ३० वर्षको लागि नेपाल सरकारसँग भाडामा लिएको हो ।
पुम्दीकोटबाट पोखरा बजार, फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि, धौलागिरि, मनास्लु लगायतका हिमशृंखला, विश्व शान्ति स्तुपा, सराङ्कोट, काहुँडाडा, मट्टिखान, हरियोवन, विभिन्न प्रजातिका बिरुवा, चराचुरुङ्गी समेत देख्न सकिन्छ । पुम्दीकोटमै यसअघि ‘भ्यू टावर’ निर्माण भइसकेको छ ।