Search

चितवन राष्ट्रिय निकुञ्जमा शिकारीले मारे चार गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा शिकारीले मारे चार गैँडा

बाँपीझ्याला, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चार शिकारीका कारण हो । आठ गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृतावस्थामा फेला परेको थियो ।

टाउकामा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेका अवस्थामा फेला परेको छ ।

दुवैको खाग तस्करले लगेको बरालले बताए । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीन वटै गैँडा परेको अनुमान छ । माउ र बच्चाको खाग लगेको भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ ।

बरालले झण्डै ६ महिनाअघि तस्करले मारेर खाग लगेको हुन सक्ने बताए । सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीको अनुमान छ ।

निकुञ्जमा शिकारीले चार वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।

निकुञ्जमा शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिएका छन् ।

बरालले भने, ‘हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।’ सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । एकाएक शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।

प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए । निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।

सन् २०१५ को गणनानुसार नेपालमा ६४५ गैँडा छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । सो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!