बाँपीझ्याला, दोलखा । दोलखाको पहिलो कालिन्चोक सामुदायीक एफएम १०६.४ मेगाहर्ज १४ औँ वर्षमा प्रवेश गरेको छ । रेडियोले २०६४ साल कात्तिक २१ गते लक्ष्मी पुजाको दिनबाट औपचारीक प्रसारण सुरु गरिएको थियो । विगत वर्षहरुमा विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव मनाउने गरिएपनि यस वर्ष भने कोरोना भाइरसका संक्रमणका कारण औपचारीक कार्यक्रम नगरिने भएको स्टेशन मेनेजर जीवन लामाले बताउनु भएको छ ।

विश्वभरी कोविड १९ को संक्रमण भईरहेको बेला नेपालभर सहित दोलखा जिल्लामा पनि कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेकाले यस वर्ष वार्षिकोत्सवको अवसरमा कुनै पनि जमघट हुने किसीमका औपचारीक कार्यक्रम आयोजना नगरिएको जानकारी प्राप्त भएको छ । यसै गरी यसवर्ष भीडभाड नगरी कोभिड १९ कोरोना भाइरस विरुद्ध अहोरात्र खटिने स्वास्थ्यकर्मीको सम्मानमा वार्षिकोत्सव कार्यक्रम केन्द्रित हुने कालिन्चोक एफएमका स्टेशन म्यानेजर जीवन लामाले जानकारी दिनुभयो ।
यसैबिच प्रत्येक वर्ष एफएमले रेडियोमा कार्यरत एक जना उत्कृष्ट कर्मचारीलाई प्रदान गर्दै आएको कालिन्चोक स्मार्ट अवार्ड यस वर्ष प्रदान नगरिने भएको छ । त्यसैगरि २ जना स्रोता, २ जना वार्षिक ग्राहक र २ जना कृषक सम्मान गर्ने गरिएकामा यस वर्ष यी सबै कार्यक्रमहरु रोकिएको छ । यसै गरी रेडियोको प्रसारण अवधिभर सहयोग सहकार्य गर्ने साझेदार संस्था, विज्ञापनदाता, श्रोता शुभेच्छुक सबैलाई कालिन्चोक एफएम परिवारले धन्यवाद ज्ञापन गरिएको छ ।

यसै गरी कालिञ्चोक एफएमले आफ्नो वार्षिकोत्सवको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । विश्वभर फैलिएको कोभिड १९ कोरोना विरुद्ध अग्रपंक्तिमा अहोरात्र खटिने चरिकोट अस्पतालका मेडिकल अधिकृत डाक्टर हिमशैल खड्का र ल्याब टेक्निशियन सन्जु थामीलाई सम्मान पत्रका साथ सम्मान गरेको छ ।
उहाँहरुलाई भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीज्यूले सम्मान पत्र प्रदान गर्नु भएको थियो । त्यसैगरि एफएमले पानी तताउने डिस्पेन्सर एक थान र अक्सीजनको मात्रा चेकजाँच गर्ने पल्स अक्सीमिटर ३ थान अस्पताललाई सहयोग गरेको छ । कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल बढाउन र उनिहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कालिन्चोक एफएमका स्टेशन म्यानेजर लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भीमेश्वर नगरपालिका मातहत सञ्चालन भइरहेको चरिकोट अस्पतालका लागी स्वास्थ्य सामग्री सहयोग र आफ्नो स्वास्थ्यको पर्वाह नगरी आमनागरिकको जीवन बचाउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरेको भन्दै कालिन्चोक एफएमलाई धन्यवाद दिनु भयो ।