बाँपीझ्याला, नेपालमा अत्याधुनिक सुविधासम्पन्न भवनमार्फत चलचित्र प्रदर्शन शुरू गरेको पहिलो कम्पनी हो – क्यूएफएक्स । स्थापनाको एक दशमा क्युएफएक्सका शाखा काठमाडौंदेखि मोफसलसम्म पुगेको छ । करोडौं लगानी भएको छ ।
सामान्य हलमा चलचित्र हेर्ने बानी पारेका दर्शकलाई सुविधासम्पन्न अन्तराष्ट्रिय किसिमको हल शुरू गरेर एक दशकमै अधिकांश चलचित्रप्रेमीको मन जितेको क्युएफएक्स यतिबेला पूर्ण रुपमा बन्द छ ।
क्युएफएक्ससँग जोडिएका सयौं कर्मचारीको पनि रोजीरोटी गुमेको छ । ‘रोजीरोटी गुमेको मेरो पनि हो,’ क्युएफएक्सका निर्देशक नकिम उद्धिनले भने, ‘कोभिड–१९ का कारण न म न कर्मचारी सबैलाई गाह्रो परेको छ ।’
कोरोनाका कारण ८ महिनादेखि हल ठप्प भएका छन् । हल कहिले खुल्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो सम्भावना छैन । अब हल नखुल्दासम्मको एउटा विकल्प मःम व्यापार हो मेरो लागि । सोहि कारण मःम व्यापार शुरू गरेको हुँ ।’
रेगल सिनेमाजका अध्यक्ष तथा चलचित्र संघका पूर्व अध्यक्षसमेत रहेका उद्धिनले यसै हप्तादेखि फोर्जन मःमको कारोवार काठमाडौं र ललितिपुरका विभिन्न स्थानमा शुरू गरेको जानकारी दिएका छन् ।
‘कहिलेसम्म हल खुल्ला भनेर कुर्नु ?’ उनले प्रश्न गरे, ‘अहिलेको स्थितिमा हल खुलेपनि दर्शक आउने सम्भावना एकदमै कम छ । महिनौं बेरोजगार भएर बस्न त सकिन्न । सोहि कारण म र मेरो परिवारको पेट पाल्नकै लागि भएपनि यो कारोवार सुरु गरेको हुँ ।’
‘मैले मःम व्यापार शुरू किन गरेँ ?’ उनले आफैलाई प्रश्न गर्दै भने, ‘खाली बस्दा दिमाग ह्याङ भयो । यसका लागि पनि हो । अर्को कुरा आर्थिक रुपमा झन् झनु् नाजुक हुँदै गयो स्थिति । सोही कारण पनि मःम व्यापार शुरू गरेको हुँ ।’
नकिमलाई उदाहरणिय योङ इन्टरप्रेनरको रुपमा लिइन्छ । क्युएफएक्सको सफलतामा नकिमको सबैभन्दा ठूलो हात छ । नकिमका अनुसार कोरोनाको त्रास अहिले हटेपनि अझै १ वर्ष हलमा दर्शक आउने सम्भावना कम छ ।
उनले अन्तिममा भने, ‘करोडौं खर्च भएको क्युएफएक्स संचालन हुनका लागि परिस्थिति सही हुनुपर्छ । यत्तिकै हल खुल्नेवाला छैन । भारत र विदेशका विभिन्न देशमा पनि हल खुले, तर दर्शक नआएपनि बन्द भए ।’
कोरोनाको औषधी नआउँदासम्म हल व्यापार पहिलेजसरी संचालन हुन नसक्ने नकिमको अनुमान छ ।