बाँपीझ्याला, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुटुमा रहेको घण्टाघरमा तपाईं जतिसुकै बेला जानुस्, त्यहाँ जहिल्यै पनि १० बज्नलाई २ मिनेट बाँकी हुन्छ ।
समय थाहा पाउनका लागि भन्दै करीब ३३ वर्ष पहिले घण्टाघर निर्माण गरिएको थियो । उक्त घण्टाघरको घडी चल्न छाडेको गरेको धेरै समय भएपनि प्रदेश सरकार र नगरपालिकाको ध्यान जान सकेको छैन । घण्टा घरको घडीले सरकारलाई गिज्याइरहेको छ ।
प्रदेश सरकारको मुख्यालयनजिकै रहेको घण्टाघरलाई व्यवस्थित गराउन नसक्दा अहिले जनमानसमा आलोचना हुने गरेको छ ।
उतिबेला सबैको हातमा घडी थिएन । कतिपयले आकाशको सूर्यलाई हेरेर समयको आकलन गर्थे । उनीहरूले सूर्यलाई हेरेर आकलन गरेको समय मिल्दोजुल्दो हुन्थ्यो र सोहीअनुसार काम गर्थे ।
स्थानीय उज्ज्वल कार्की भन्छन्, ‘एकअर्कासँग भेटघाट गर्थे । त्यसलाई सहज बनाउन २०४४ सालमा घण्टाघर निर्माण गरियो ।’
घण्टाघरको घण्टी बजेपछि एकिन समय सबैलाई थाहा हुन्थ्यो । करिब साढे दुई किलोमिटरसम्म घण्टीको आवाज पुग्थ्यो । केही त यहाँसम्म आएरै भए पनि समय हेर्ने गर्थे ।
तर अहिले यही घण्टाघरमा निर्माण गरिएको घडीको सुइ रोकिएको धेरै समय भइसकेको छ ।
प्रदेश राजधानी बनेसँगै यहाँ आवातजावत गर्नेको भीड छ । तर यसको महत्त्व त्यो भीडसम्म पुग्न सकेको छैन ।
यसलाई मर्मत गर्न न कुनै निकाय लागेको छ न त यसमा घडी हेर्न नै कोही आउँछ । शायद धेरैलाई यो घडी बिग्रिएको थाहा नै छैन होला । कारण, ‘यो घडीलाई वास्ता नगर्नु !’
सुर्खेतमा घुम्नलायक केही स्थान मात्र छन्, ती मध्येको चर्चित यो एक पर्यटकीय स्थल पनि हो ।
स्थानीय रामसरा विक भन्छिन्, ‘सरकारले करोडौं बजेट फ्रिज गराएको समाचार हामी सुन्ने गर्छौं तर दुईचार लाख लगानी गरेर सरकारले यो घडी सुधार्न सक्दैन । यो लाजमर्दो कुरा हो । समय थाहा पाउने माध्यमभन्दा पनि इतिहास भएकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यो अहिले सुर्खेतको पर्यटकीय क्षेत्रका रूपमा हेरिन्छ । कर्णालीकै पहिलो पार्क भनेर घण्टाघर पार्कलाई बुभिन्छ ।
चिनियाँ कम्पनीले भेरी नदीमा पुल निर्माण गर्दा बचेको पैसाले घण्टाघर निर्माण गरिएको अधिवक्ता दुर्गाप्रसाद सापकोटा बताउँछन् । नागरिक समाजबाट घडी मर्मतका लागि पहल भए पनि सरकारले यसलाई वास्ता गरेको छैन ।
‘हामीले पहिला पनि क्षेत्रीय प्रशासकलाई संकेतस्वरूप बिग्रिएको घडी उपहार दिएका हौं,’ उनले भने, ‘तर सुनुवाइ भएन ।’
करीब २०६८ सालदेखि बिग्रिँदै आएको उक्त घडी करीब दुई वर्षदेखि पूर्णरूपमा बिग्रिएको छ । घण्टाघर पार्क सञ्चालनका लागि नगरपालिकाले घण्टाघर पार्क रिसोर्टसँग सम्झौता गरेको छ । २०६७ सालदेखि नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरेको थियो ।
उक्त सम्झौतामा घडी बिग्रिए पार्क सञ्चालनको जिम्मा लिएको घण्टाघर पार्क रिसोर्टले मर्मत गर्ने र पूर्णरूपमा बिग्रिए नगरपालिकाले नयाँ खरिद गर्ने सम्झौता भएको छ । वीरेन्द्रनगर नगरपालिकाको प्रस्तावमा कर्णाली प्रदेश सरकारले १५ लाख रूपैयाँ घडी खरिदका लागि छुट्याएको थियो । तर उक्त रकम खर्च हुन नसकेको घण्टाघर रिसोर्ट पार्कका सञ्चालक चिन्तामणि शर्माले बताए ।
घडी निर्माणकालागि बजेट भएपनि अख्तियारमा बारम्बार मुद्दा आयो । घडी बिग्रिएको विषयमा मैले जानकारी गराएको छु,’ उनले भने, ‘नयाँ खरिद गर्ने मेरो जिम्मामा छैन । मर्मत गर्ने जिम्मेवारी मात्र हो ।’
२०४४ सालमा घण्टाघर मात्र भएकोमा २०५५ सालदेखि पार्कको रूप लिएको थियो ।
पछिल्लो समय यो वीरेन्द्रनगरको पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । यहाँ चारवटा घडी जडान गरिएको छ ।