बाँपीझ्याला, अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम परिणाम अझैसम्म आउन सकेको छैन ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन राष्ट्रपति बन्नका लागि ६ इलेक्टोरल भोट मात्र टाढा छन् । मिशिगन र विस्कोन्सिन जस्ता महत्त्वपूर्ण स्विङ स्टेटहरू जितेपछि बाइडनले २६४ भोट ल्याएका छन् भने डोनल्ड ट्रम्पको २१४ भोट छ ।
पेन्सिल्भेनिया, जर्जिया र एरिजोनामा मतगणना जारी छ र निर्वाचन अधिकारीहरूले मतपत्र मिलान गरिरहेका छन् । ट्रम्पले पेन्सिल्भेनिया र जर्जियामा अग्रता लिएका छन् तर बाइडनले उनलाई कडा टक्कर दिइरहेका छन् ।
नेभादामा बाइडन अगाडि छन् भने नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् ।
एसोसिएटेड प्रेस तथा अन्य समाचार संस्थाले एरिजोनामा बाइडन विजयी भएको घोषणा हिजै गरे । त्यो अन्तिममा साँचो साबित भयो भने रिपब्लिकनहरूको किल्लामा डेमोक्रेटको जीतलाई ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ । तर मतगणना हुँदै जाँदा बाइडनको अग्रता केही घटेको छ ।
ट्रम्पको निर्वाचन अभियानले पेन्सिल्भेनिया र जर्जियामा मतगणना रोक्न मुद्दा दायर गरेको छ । पेन्सिल्भेनियाको एब्सेन्टी ब्यालोट गन्नका लागि थप समय लिने निर्वाचकहरूको निर्णयलाई अदालतमा उसले चुनौती दिने भएको छ । चाथाम काउन्टीमा ५३ वटा मतपत्र अवैध रहेको तर त्यसलाई पनि गनिएको भनी ट्रम्प पक्षले आरोप लगाएको छ तर कुनै प्रमाण प्रस्तुत गरेको छैन ।
मिशिगनको डेट्रोइटमा मतगणना केन्द्र बाहिर ट्रम्पका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन् । एरिजोना राज्यको फिनिक्सको मतदान केन्द्रमा पनि उनीहरूले विरोध गरेका छन् । मिशिगनमा उनीहरूले मत नगन्न भनेका छन् अनि फिनिक्समा चाहिँ गनिरहन भनेका छन् ।
पूरै मत नगनिसकिएको अवस्थामै ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् । उनले यस्तो घोषणा गरेको ट्वीटलाई ट्विटरले लुकाएर यो गलत सूचना भएको भन्ने लेबल लगाइदिएको छ । ट्रम्पका यस्ता दाबीहरूको कुनै कानूनी आधार छैनन् ।
बाइडनले पनि शुरूमा अलिक सतर्कता अपनाएको भए पनि पछि गएर चाहिँ आफूहरूले नै जित्न लागेको भनी सामाजिक सञ्जालमा लेखे । फेसबूक र ट्विटरले उनका पोस्टहरूमा पनि चेतावनीको लेबल लगाएका छन् ।