Search

सरकारले ल्यायाे तत्कालीन र दीर्घकालीन एकीकृत कार्ययोजना

सरकारले ल्यायाे तत्कालीन र दीर्घकालीन एकीकृत कार्ययोजना

१९, कार्तिक, बाँपीझ्याला, काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन नहुँदा ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । सवारी साधान दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजनाले औँल्याएको छ ।

कार्ययोजना निर्माण कार्यदलका संयोजक महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल करिडोर क्षेत्रका सडक र अन्य सडक निर्माणको ढिलासुस्ती, सडक छेउमा मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको प्रयोग हुन नसक्नुलगायत कारणले समस्या बल्झिरहेको बताउनुहुन्छ ।

उहाँका अनुसार समयसापेक्ष कानूनको सुधार हुन नसक्नु, दक्ष चालकको अभाव, सम्बद्ध निकायबीच प्रभावकारी समन्वय र सहकार्यको अभाव हुनुलगायत कारणले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आएको अध्ययनमा पाइएको छ । पछिल्लो समयमा ट्रफिक प्रहरीकै प्रयासमा भइरहेका संरचनामा आवश्यक व्यवस्थापन र प्रविधिमैत्री बनाउँदै लगेको समेत उहाँले जानकारी दिनुभयो ।

पछिल्ला केही वर्षमा उपत्यकाको ट्राफिक व्यवस्थापनमा सकारात्मक काम नभएका होइनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न योजना बनाई कार्यान्वयन गरेकाले सकारात्मक सुधार भएको छ ।

खाल्डाखुल्डी पुर्न प्रधानमन्त्रीकै निर्देशन चाहिने अवस्थाबाट माथि उठेर अहिले एकाधबाहेक त्यस्ता समस्या छैन । धुलाम्मे हुने काठमाडौँका सडक केही निश्चित ठाउँमा बाहेक अहिले धुलो देखिँदैन ।

हाल व्यवस्थापन भएको सडकका मुख्य सडक क्षेत्र चिल्ला र सडक सङ्केतयुक्त पाइन्छ तर यतिले मात्रै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बन्ने अवस्था छैन । सवारीको अत्याधिक चाप, साँघुरा सडक, चोकगल्लीको उचित व्यवस्थापन नहुँदा सवारी आवागमनमा अवरोध सिर्जना भइरहेकै छ ।

यातायातमा जोरबिजोर प्रणाली लागू हुँदा पनि सवारी जाम नरोकिँदा त्यसको उचित व्यवस्थापनको टड्कारो आवश्यकता ठानी गृह मन्त्रालयले एकीकृत कार्यायोजना बनाएर लागू गर्ने प्रक्रिया अघि बढाएको हो ।

त्यही सिलसिलामा प्रवउ ढकालको संयोजकत्वमा गत साउनमा गठन भएको छ सदस्यीय कार्यदलले ‘उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना २०७७’ बनाई गृह मन्त्रालयमा बुझाएको छ । कार्ययोजनाले तत्कालीन र दीर्घकालीन गर्नुपर्ने कामलाई बुँदागतरूपमा औँल्याएको छ ।

उक्त कार्ययोजना उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महत्वपूर्ण भएकाले उच्च प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने गृहमन्त्री रामबहादुर थापा बताउनुहुन्छ । कार्यान्वयनमा लैजानका लागि गृहको प्रयास मात्रैले पुग्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय तहका साथै सम्बद्ध निकायको समन्वय आवश्यक छ । उक्त कार्ययोजना सबै निकायसँगको सहकार्यमा बनेकाले अबको प्रयास एकीकृतरूपमै जाने विश्वास मन्त्रालयको छ । गृहसचिव महेश्वर न्यौपानेले केही अपुग भएका विषय समेटेर कार्ययोजना लागू गर्नुको विकल्प नभएको बताउनुभयो ।

सडक विस्तार
सडक विस्तारको प्रक्रियामा रहेका सबै सडकलाई तत्कालै विस्तार गर्नुपर्ने कार्ययोजनाले प्राथमिकताका साथ उठाएको छ ।

गौरीघाटको प्रहरी विटको पर्खाल भत्काइ सडक फराकिलो गर्नुपर्ने, जडीबुटी र राधेराधे पुलको बाँकी काम सम्पन्न गरी सर्भिस लेन खोल्नुपर्ने तत्कालीन योजनामा राखिएको छ ।

साँघुरा सडक र सवारी चाप हुने चोकको अध्ययन गरी विस्तार गर्नुपर्ने, चक्रपथ सडकको बाँकी खण्ड विस्तारको काम सम्पन्न गर्नुपर्ने, बाहिरी चक्रपथको अवधारणालाई अघि बढाउनुपर्ने, नागढुङ्गा र टोखाको सुरुङ योजनालाई अघि बढाउनुपर्ने दीर्घकालीन योजनामा उल्लेख गरिएको छ ।

सडक कालोपत्र
उपत्यकाको सम्पूर्ण सडकको नियमित अनुगमन गरी समयमै खाल्डाखुल्डी पुर्ने र कालोपत्र गर्नुपर्ने, पेट्रोलपम्पसम्बन्धी मापदण्ड लागू गराई सडकमा परेका पम्प हटाएर सडक विस्तार गर्नुपर्ने तत्कालीन कार्ययोजना समावेश छ ।

यस्तै मापदण्डविपरीतका कारखाना वर्कशपलगायतका संरचना हटाई व्यवस्थापन गर्नुपर्ने ‘अटोजोन’ निर्माणसम्बन्धी अवधारणा र कारखाना सञ्चालन निर्देशिक कार्यान्वयन गराउनुपर्ने दीर्घकालीन योजनामा समावेश गरिएको छ ।

पार्किङ व्यवस्थापन
सडकमा हुने अनधिकृत हटाई सशुल्क र निःशुल्क पार्किङको पुनरावलोकन गरी कार्यान्वयन गर्नुपर्ने, करिडोर क्षेत्रमा पनि उचित स्थानमा पार्किङको व्यवस्थापनका साथै सडक छेउका खाली जमिनमा स्मार्ट पार्किङको व्यवस्थापन गर्नुपर्ने तत्कालीन कार्ययोजनामा उल्लेख छ ।

यस्तै दीर्घकालीन कार्यायोजनाअनुसार स्मार्ट पार्किङको अवधारणालाई अध्ययन गरी पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।

बाहिरबाट आएका सवारी पार्किङका लागि नाका क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने, सबै व्यापारिक क्षेत्र, होटललाई पार्किङको व्यवस्थापन गर्न लगाउनुपर्नेलगायत विषय समावेश गरिएको छ ।

अण्डर पास र फ्लाइओभर
उक्त एकीकृत कार्ययोजनाले तीनकुने, जडीबुटी, कोटेश्वर, बबरमहल, सिंहदरबार क्षेत्रमा आवश्यकतानुसार अण्डरपास र ‘फ्लाइओभर’ सडक निर्माण गर्नुपर्नेमा जोड दिएको छ । उता पशुपति क्याम्पस, मित्रपार्क, रातोपुल, गौशालालगायत क्षेत्रमा पनि अध्ययन गरी सडक व्यवस्थापन गर्न सुल्झाइएको छ ।

वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते करिडोरका पुलपुलेसा, सडक व्यवस्थापनमा जोड दिइएको छ । छाडा चौपायका लागि काञ्जी हाउसको व्यवस्थापन गर्नुपर्ने कार्ययोजनाले समेटेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment