
भीमेश्वर न.पा. –२, हाल जोटपाटी
प्राचीन ऐतिहासिक लिच्छवीकालीन सभ्यताको एउटा अलग्गै नेवार राज्यको रुपमा पहिचान भएको दोलखा राज्य हालको भीमेश्वर नगरको नामले प्रख्यात छ । जस्को प्राचीनतामा अभयपुुर शहर नामले लोकप्रियता रहेको थियो र भीमेश्वर अद्यपि छँदैछ, हिन्दू धर्म, बुद्ध धर्म, किराँत धर्मको समिश्रणमा सम्हालिएको मौलिकताको शहर दोलखा नगर । जहाँका रीतिरिवाज, चाडपर्वलाई केलाउने हो भने लगभग ९ महिनासम्म कुनै न कुनै चाडपर्व भैनै रहन्थ्यो, अधिकांश अझै पनि भैरहेको छ ।
२०४६ सालको राजनीतिक आन्दोलन पश्चात् नेपालमा गणतन्त्रको नाराबाजी सहित कडा आन्दोलन भए, २०४७ सालमा बहुदल घोषणा भयो, आम नेपालीको स्वतन्त्रताको चर्चा चल्यो, जनताले सोचेजस्तो र खोजेजस्तो शासनको निर्णय अनुसार गणतन्त्रात्मक संविधान जारी भयो, जनताबाट चुनिएका जननिर्वाचित नागरिकले खुल्ला रुपमा मन्त्रिपरिषद बने, जसको बागडोरको रुपमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टीका मूलधारको व्याख्या हुन थाल्यो ।
यसरी जब देशमा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध केही बुज्रुकहरुले आमूल परिवर्तनको नाममा आफ्नो छत्रछायामा चलिरहेको परम्परागत चाडपर्व, धर्म र संस्कृतिलाई जातीय अपव्याख्या गरेर शोषण र उत्पीडनको नाम दिएर गुठी, संघ संगठन भित्र रहेका जग्गा जमीन माथि हक अधिकारको खुल्ला उद्घोष गरेर संस्कृति माथि तालाबन्दी लगाई दिए कि “जसको जोत उसको पोत“ भनेर ।
यही नाराको कारणले दोलखा अभयपुरका झण्डै ७५५ गुठी तहसनहस हुन पुगे, जसले गर्दा नियमित रुपमा चलि आएको ’हीपाथामी’ जात्रामा टाँचा लाउन पुग्यो । बर्सेनि भैरहेको भिमेश्वर मन्दिरको प्रमुख पूजाआजा समेतमा वाधा पर्न गयो ।
हीपाथामी पर्व नेपाल अधिराज्यभरमै एक मात्रै त्यस्तो मौलिकता भएको पर्व हो, जुन कुरा किराँत कालीन सभ्यता देखि शाहकालीन शासनकाल सम्म नियमित चलि आएको हो । जुन पर्वमा दोलखा जिल्ला अन्तर्गतको सुस्पा, क्षमावती, सुनखानी, बाबरे क्षेत्रमा रहेका थामी जातीयता भित्र समेटिएको थियो, भिमेश्वर गुठी र दोलखा राज्यको एक महत्त्वपूर्ण विशेष किंवदन्तीमा आधारित भएको पर्व हो । यसको विशेष वर्णन “दोलखाको ऐतिहासिक रुपरेखा “ नामक ग्रन्थमा उल्लेख गरिएको छ । र कालिन्चोक युवा क्लवले प्रकाशन गरिएको “आँखा“ पत्रिकाहरुमा पनि पढ्न पाईन्छ ।
अब प्रसङ्गमा जाँदा यो “३ हीपाथामी“ पर्व दशैंको टीकाको दिन मनाईन्थ्यो । गणतन्त्रको विगुल फुक्ने केही बुज्रुक कम्युनिस्ट भनाउदाहरुले जातीय शोषण, दासी चलनको अपव्याख्या गरेर जात्रा गर्न आउन चाहनेहरुलाई समेत स्वतन्त्रता र मौलिक हक अधिकारको प्रलोभनमा पारेर ती सामान्य सोझा जनजातिहरुलाई संस्कृति जोगाउनबाट वञ्चित गराएको कारणले नै यो पर्व रोकिएको हो । हो स्वतन्त्रता जरुरी हो, तर स्वतन्त्रताको नाममा आफ्नो परम्परा माथि नै प्रतिबन्ध लगाउन उचित थिएन ।
कम्युनिस्ट बिचार धाराको धारणाकै अनुसरण गर्ने हो भने थाईलैण्ड, भुटान, चीन, जापानमा पनि सबै परम्परालाई स्थगन गर्न सक्थे होलान्, तिब्बतको ल्हासामा अझै पनि आफ्नो संस्कृति परम्परालाई बन्द गर्न सकेका छैनन्, हाम्रो देशमा चाहिँ किन ?
लाटो देशमा गाँडो तन्नेरी’ भनेजस्तै सोझा सादा जनतालाई मौलिक हक अधिकारको नारा तेर्साएर आफ्नो लोकमा चलिरहेको रीतिरिवाज माथि प्रतिबन्ध लगाएर, जातीय शोषणको नाममा भड्काएर परम्परागत नीतिगत चालचलन रोक्न खोज्नु बुद्धिमता नहोला कि ?
यसलाई अबका पिंढीले के कसो गर्लान्, कसरी दिगो राख्लान् भनेर चिन्ताको व्याख्या गर्नुभन्दा अहिले भैपरि आएको समस्याको निराकरण कसरी गर्ने त्यो बारे सोच्नुपर्ने नितान्त जरुरी छ । अस्तु !