बाँपीझ्याला, काठमाडौं । सीमा समस्याका कारण नेपाल–भारत सम्बन्ध महिनौंदेखि सुमधुर हुन सकेको छैन । कोरोनाको कहरले दुवै देश आक्रान्त छन् । यही असाधारण परिस्थितिमा भारतीय गुप्तचर संस्थाका प्रतिनिधि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन घण्टासम्म गफिनुको औचित्य के हो भन्ने प्रश्न उठिरहेको छ ।
सत्तारुढ दल नेकपा आन्तरिक विवादको भुमरीमा रुमल्लिएको छ । महिनौँदेखि नेकपाभित्रको विवादले ठोस समाधान पाउन सकेको छैन । पार्टीको आन्तरिक बैठक ठप्पजस्तै छ । सत्तारुढ दल नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्रका विवाद समाधानलाई पटक्कै समय दिन सकेका छैनन् । तर उनी विदेशी गुप्तचर प्रमुखसँग तीन घण्टासम्म कस्ता विषयमा अल्झिए होलान् ? जनताले आँकलन गर्न सकेका छैनन् ।
गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल बुधबार दिउसो १ बजे काठमाडौँ आई बिहीबार बिहान सवा १० बजे स्वदेश फर्किसकेका छन् । यो हिसावले गोयलको नेपाल बसाई २१ घण्टा भएको देखिन्छ । उनी फर्किसके पनि उनको रहस्यमय नेपाल भ्रमणको चर्चा भने अझै सेलाएको छैन ।
गोयलको भ्रमण र भेटवार्तालाई लिएर सत्तारुढ दलकै कतिपय नेताहरुले आपत्ति जनाइसकेका छन् । पूर्व गृह र रक्षा मन्त्रीसमेत रहेका तथा नेकपाका नेता भीम रावलले त प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ’ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको दावी गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै रावलले ट्वीटमार्फत विरोध गरेका हुन् ।
‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र, जस्तो समय र तरिकाले भ्रमण गराइयो, यो आपत्तिजनक छ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘यो कुटनीतिक मर्यादा विपरीत छ ।’
चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका गोयलले क–कसलाई भेटे ? किन आए अनि के गरेर फर्र्किए ? भन्ने कुरा रहस्यकै गर्भमा छ । परराष्ट्र मन्त्रालयलार्ई समेत पर्याप्त जानकारीविनै काठमाडौ आएका गोयलले प्रधानमन्त्री केपी ओलीसँगमात्रै ३ घण्टा बिताएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रम ओलीलाई भेट्न गोयल बुधबार बेलुका बालुवाटार आएको भन्दै भेटमा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको जनाएका छन् ।
गोयलका गतिविधि शंकास्पद
बुधबार काठमाडौँ ओर्लेलगत्तै दुतावासको गाडी चढेर विमानस्थलबाट बाहिरिएका गोयल दिउँसो १ बजेदेखि ३ बजेसम्म दूतावासमा बसेका थिए । त्यसपछि अपरान्ह चार बजे विशालनगरस्थित रअको काठमाडौँ हेर्ने अड्डामा उनी पुगेका थिए । त्यसपछि ह्यात होटल गएका उनले त्यहाँ जनता समाजवादी पार्टीका केही नेताहरुसँग नेपालको सम्पूर्ण गतिविधिको जानकारी लिएका थिए । ‘सांसदसमेत रहेका जसपा नेपालका एक नेताले नेपालको सवै गतिविधिबारे जानकारी गराएका छन्’, उच्च सुरक्षा स्रोत भन्छ, ‘गोयल काठमाडौ रहँदा बालुवाटारबाहेक अरुबेला ती सांसद गोयलसँगै रहेका छन् ।’
गोयल काठमाडौँ आएपछि राष्ट्रिय सुरक्षा परिषदको बैठक समेत बालुवाटारमा बसेको छ । सुरक्षा परिषद बैठक सकिएलगत्तै गोयल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । गोयल र प्रधानमन्त्री ओलीबीच बुधबार बेलुका सवा नौ बजेदेखि राति १२ः१० सम्म वार्ता भएको छ । उक्त वार्तामा ओलीले गोयलसमक्ष आफुलाई सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्नेबारे सरकारले केही सार्वजनिक गर्न चाहेको छैन ।
दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए ।
गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपाललाई भेटेको भन्ने समाचारहरु प्रकाशित भए पनि दुवै नेताले त्यसको खण्डन गरिसकेका छन् ।