बाँपीझ्याला, सरकारले कात्तिक ७ गते (भोलि) देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन् ।
नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरेका हुन् । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङ्ले स्पस्ट पारेका छन् ।
थप समाचार
क्लिन फिड लागू भएपछि ग्राहकले थप शुल्क तिर्नुपर्ने !
मन्त्रालयका सहसचिव डिल्रिाम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ । कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए । मन्त्रालयले यससम्बन्धी छुट्टै विज्ञप्ति समेत जारी गरेको छ।