बाँपीझ्याला, काठमाडौं । ५ वर्षअघिको विनासकारी भूकम्पले क्षति पु¥याएको ऐतिहासिक रानीपोखरी र नजिकै रहेको दरबार हाइस्कुलको पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी समेत रहेका थिए ।
२०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको सोही बर्षको माघ २ गते पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएको राष्ट्रिय पुनर्निमाण प्राधिकरणले जनाएको छ । रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अब अन्य सम्पदा पनि छिट्टै पुनर्निर्माण सकिने आशा व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको पुनर्निर्माण सकिएकोमा खुसी लागेको बताएकी छन् ।

रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पमा क्षति भएका संरचनाको बलियो गरी पुनर्निर्माण सकिने बताइन् । ‘भूकम्पबाट क्षतविक्षत भएका हाम्रा साँस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनर्निर्माण गर्नेछौँ,’ उनले भनिन् । २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी क्षति भएको रानीपोखरीको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले नै शिलान्याश गरेकी थिइन् । रानीपोखरीको किनारमा उभिएर गरिएको अठोट पुरा भएकोमा आफूलाई खुसी लागेको भण्डारीको भनाइ छ । भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि छिट्टै सम्पन्न हुने उनको विश्वास छ ।

परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उनले बताइन् । प्राधिकरणले तयार पारेको रत्नपार्कदेखि दशरथ रंगशाललाई जोडी तयार पारेको गुरु योजनाको भण्डारीले प्रशंसा गरेकी छन् । प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ,’ उनले भनिन् । पुनर्निर्माण हुँदै गरेको धरहरा र गुरुयोजनाले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुने उनको भनाइ छ ।