०४ कार्तिक, बाँपीझ्याला, काठमाडौं । राम्रा र स्तरीय फिल्म प्रदर्शनमा आऊन्। फिल्म हलमा खचाखच दर्शक होऊन्। फिल्म सकिएर भ¥याङ झर्दै गरेका दर्शकको दृश्य होस्।
हातमा कफी बोकेर हलतिर जाँदै गरेका मानिसको भीडभाड होस्। हरेक सो हाउसफुल होऊन्।
फिल्मको चर्चा–परिचर्चाले बजार तताओस्। हरेक हल सञ्चालक तथा निर्माता, निर्देशक र कलाकारले कल्पना गर्ने दृश्य हो यो। तर विश्वभर फैलिएको कोभिड–१९ को महामारीले गर्दा मनोरञ्जनको क्षेत्र ठप्पप्रायः छ।
चलचित्र प्रदर्शन हुने मन्दिरहरू बन्द छन्। मर्निङ सोबाट नाइट सोसम्म हल्लाखल्ला हुने हलमा यति खेर सन्नाटा छाएको छ।
हल बन्द भएसँगै यस क्षेत्रमा काम गर्ने हजारौं मानिस बेरोजगार भएका छन्।
हल सञ्चालकहरू हल खुलाउने तयारीमा छन्। कोरोना भाइरसको प्रकोप कहिलेसम्म रहिरहने हो, कुनै टुंगो नभएकाले पनि उनीहरू स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै हल सञ्चालन गर्ने मनसायमा पुगेका हुन्।
चलचित्र निर्माता संघ, चलचित्र कलाकार संघ, चलचित्र प्राविधिक संघ तथा चलचित्र विकास बोर्डलगायतले फिल्म सुटिङ गर्न अनुमति दिनुपर्ने, फिल्म हल सञ्चालन गर्न पाउनुपर्नेलगायतका माग राखी सरकारलाई ज्ञापनपत्र पनि बुझाएका छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले दिएको जानकारीअनुसार यस विषयमा सञ्चार मन्त्रालयले पनि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ।
तर सरकारबाट कुनै निर्णय आएको छैन। दाहाल भन्छन्, ‘दसैंमा नयाँ फिल्म रिलिज गर्न पाउनुपर्ने माग हल सञ्चालकको छ।