बाँपीझ्याला, काठमाडौँ । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा दुई जना वरिष्ठ कूटनीतिज्ञसहितको ग्लोबल–५००० विमान बुधबार काठमाडौं आउने भएको छ ।
परराष्ट्र मन्त्रालयले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै ‘डिप्लोम्याटिक पर्मिसन’ सहित आउन लागेको भारतीय कूटनीतिक उडानका लागि ‘आवश्यक प्रबन्ध तय गर्न’ जानकारी दिएको हो । यो विमान बुधबार दिउँसो १ बजे काठमाडौं उत्रिएर बेलुकी साढे ९ बजे दिल्ली फर्कन लागेको जानकारी गराइएको छ ।
मन्त्रालयको पत्रपछि प्राधिकरणले काठमाडौंस्थित भारतीय दूतावासलाई ‘डिप्लोम्याटिक पर्मिसन’ उपलब्ध भएको र उडानको समय तालिकाअनुसार सबै प्रबन्ध तय भएको सूचना मंगलबार दिउँसो दिएको थियो तर दुई विशिष्ट कूटनीतिज्ञ र भ्रमणको कारणबारे केही खुलाइएको छैन ।
कात्तिक महिनाभित्रै नेपाल भ्रमणमा आउन लागेका भारतीय सेनाका स्थल सेनाध्यक्ष नरवणेले दुई महिनाअघि ‘चीनको इसारामा नेपालले लिपुलेक भूमि आफ्नो नक्सामा पारेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेकामा यसबारे सुरक्षा र सतर्कतासहितको भ्रमण तिथि तय गर्न बुधबार आउने भारतीय कूटनीतिज्ञले परामर्श गर्ने स्रोतले बतायो ।