Search

पिसिआर रिपोर्टमा ढिलासुस्ती, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

पिसिआर रिपोर्टमा ढिलासुस्ती, रिपोर्ट कुर्दा कुर्दै बिरामी सिकिस्त

बाँपीझ्याला, काठमाडौं । चन्द्रागिरीकी गंगा ढुंगानाले पिसिआर परीक्षणको लागि शसस्त्र प्रहरी बल कोभिड अस्पतालमा नमूना दिएको सोमबार ६ दिन पुरा भएको छ। उनले गत मंगलबार नमूना परीक्षण गर्न दिएकी थिइन्। उनी ६ दिनदेखि आइसोलेसनमै बसिरहेकी छिन्। तरकारी बजार र दैनिक सामान किन्न पसल गइरहने गरेको र रुघाखोकी देखिएपछि उनी शंका लागेर परीक्षण गर्न गएकी हुन्।

अहिले खास लक्षण नभएपनि धेरै दिनदेखि रिपोर्ट बिना आइसोलेसनमा बस्दा दिक्क भएको उनले बताइन्। उनले नमूना दिंदा अस्पतालले दुई दिनपछि सम्पर्क गर्नु भनेको थियो। रिपोर्ट आउने अवधिसम्म दोधारमा करिव एक साता कोठाभित्रै बस्न बाध्य भएको बताइन्। ‘मेरो त लक्षण गइसकेको छ, जो साँच्चिकै लक्षण भएकाहरु छन्, उनीहरुको उपचार ढिला हुने भयो’ उनले सोमबार नागरिकसित भनिन्।

कन्ट्याक्ट ट्रेसिङमा परेका सिआइएनका पत्रकार केशव भुलले रिपोर्ट नै ढिला आएपछि सामाजिक संञ्जालमै पीडा पोखे। सँगै बस्ने भान्जा संक्रमित भएपछि भुल सहित परिवारका तीन जनाले परीक्षण गरेका थिए। उनको काठमाडौ नगरपालिका – १० वडामा परीक्षण गराएका थिए। परीक्षणको क्रममा टोलीले भोलिपल्ट रिपोर्ट आउने जानकारी गराएका थिए।

यही अनुसार भुल परिवारले रिपोर्ट पर्खिन थाले दुई,तीन हुँदै पाँच दिन बित्यो। पाँचौ दिनको राति मात्र रिपोर्ट आयो। परीक्षण भएका मध्येमा पत्नीमा संक्रमण देखियो। भनेकै बेला रिपोर्ट नआएपछि डेराको सीमित ठाउँमा बस्ने भुल परिवारलाई आइसोलेसन बस्न कठिन पर्यो।

‘मेरो रिपोर्ट नेगेटिभ आएको छ, समयमै रिपोर्ट पाएको भए अफिस जान पाउँथे’ उनले भने। रिपोर्ट नआउन्जेल को संक्रमित छ या छैन भन्ने कुराको अन्यौलताले समस्या उत्पन्न गराएको भुलले बताए। खाना पकाउने कसले, धारामा पानी भर्न जाने कसरी ? समस्या पर्यो’ उनले भने। ढिला रिपोर्टको कारण आफु परिवारसँग खास एकान्तबास हुन नसकेपछि पुन परीक्षण गर्नु पर्ने स्थिति आएको उनले सुनाए।

पिसिआर रिपोर्ट ढिला आउनुको पछि क्षमता भन्दा बढी नमुना संकलन हुनु पहिलो कारण रहेको प्रयोगशाला तथा अस्पतालरुहरुको जवाफ छ। बिशेष गरी सरकारी प्रयोगशाला र अस्पतालहरुमा संकलन हुने नमूनाहरु निशुल्क हुने र निशुल्क हुने प्रयोगशालाहरुमा नमूना पनि क्षमता भन्दा बढी संकलन हुने कारण समस्या उत्पन्न भएको सरोकारवालाहरु बताउँछन्।

भुलनै बस्ने घरकै अर्को कोठामा बस्ने सरकारी कर्मचारीको छ दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन। भुल परिवारसित अघिल्लो दिन खाना खाएको कारण उनी ट्रेसिङमा परेका हुन्। ६ दिन बितिसक्दा पनि रिपोर्ट नआएपछि उनी सोमबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगाला नै पुगे। तर त्यहाँ पनि रिपोर्ट पाएनन् साँझसम्म आइपुग्ने आश्वसनमा घर फर्किए।

रिपोर्ट नआएपछि उनी ६ दिनदेखि कार्यालय जान पाएका छैनन् नै। दशैको लागि घर जाने जहाजको टिकट पनि काट्न पाएका छैनन्। ‘नेगेटिभ आयो भने जहाजमा घर जाउँला भनेको,रिपोर्ट नै आएन’ उनले भने।

यी तीन प्रतिनिधि पात्र बाहेक ढिला रिपोर्टको अन्यौलता झेल्ने उपत्यकामा धेरै छन्। रिपोर्ट ढिला आएपछि टिचिङ अस्पतालमा काठमाडौका ३४ वर्षीय युवक एक साता अघि सिकिस्त भएर पुगे। कोरोनाकै लक्षण देखिएपछि चिकित्सकले छातिको एक्सरे गरेर कोरोना भएको पहिचान गरेका थिए। सोही अनुसार उपचार सुरु गरेको अस्पतालका कोभिड १९ संयोजक डा. सन्त कुमार दासले बताए। ‘ उपचार सुरु गरेको भोलिपल्ट मात्र रिपोर्ट आयो’ उनले भने। उपचार पछि युवकको स्वास्थ्यमा सुधार आइसकेको डा.दासले जानकारी दिए।

पिसिआर नमूना परीक्षण गर्न दिएपनि समयमै रिपोर्ट नआएपछि बिरामी कोरोनाको लक्षण सहित आकस्मिक कक्षमा पुग्ने गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। रिपोर्ट नआउँदै कोरोना संक्रमणले च्यापेपछि अस्पताल पुग्नेहरु उल्लेखनीय संख्यामा रहेको अस्पतालका कोभिड १९ संयोजक डा. बिमल पाण्डेले बताए।

‘ यसरी आउनेहरुलाई शंकास्पद आइसोलेसन वार्डमा राखेर उपचार सुरु गछौं’ उनले भने। यस्ता बिरामीहरु कति आउँछन् भन्ने अस्पतालसँग यकिन तथ्याकं नएपनि धेरैको संख्यामा आउने गरेको डा.पाण्डेले बताए।

पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै बिरामी परेर आउनेहरु दैनिक औषत १२ जना अस्पताल पुग्ने गरेको शसस्त्र प्रहरी बल अस्पतालका कोडिभ उपचार संयोजक डा. प्रवीण नेपालले बताए। यसरी आउनेहरुलाई शंकास्पद आइसोलेसन वार्डमा उपचार गर्ने गरेको उनले बताए। ‘ बिरामी भर्ना भएपछि पोजिटिभ आउनेहरुको कोरोनाको उपचार गर्छौ, नआउनेहरुको रोग अनुसारको उपचार गर्छौं’ उनले भने।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड १९ टेष्टिङ गाइडलाइन अनुसार कुनै पनि प्रयोगशालाले ७२ घण्टाभित्र रिपोर्ट मेसेज गरेर बिरामीलाई जानकारी गराउनु पर्छ। कोभिड १९ केन्द्रित अस्पताल र प्रयोगशालाहरुबाट रिपोर्ट ढिला आउने गरेको पाइएको छ। रिपोर्ट ढिला दिने प्रयोगशालाहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शसस्त्र प्रहरी बल कोभिड अस्पताल र पाटन अस्पताल लगायत छन्।

धेरै चाप हुँदा ढिला भो : प्रयोगशाला

पिसिआर रिपोर्ट ढिला आउनुको पछि क्षमता भन्दा बढी नमुना संकलन हुनु पहिलो कारण रहेको प्रयोगशाला तथा अस्पतालरुहरुको जवाफ छ। बिशेष गरी सरकारी प्रयोगशाला र अस्पतालहरुमा संकलन हुने नमूनाहरु निशुल्क हुने र निशुल्क हुने प्रयोगशालाहरुमा नमूना पनि क्षमता भन्दा बढी संकलन हुने कारण समस्या उत्पन्न भएको सरोकारवालाहरु बताउँछन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाका अनुसार यो प्रयोगालामा पिसिआर परीक्षण क्षमता दैनिक १८ सयदेखि २ हजार हो। तर दैनिक ३ हजारदेखि ३५ सयसम्म बढी नमूना संकलन हुने कारण तोकेको समयमा परीक्षण गर्न नसकेको उनको भनाइ छ।

शसस्त्र प्रहरी बल कोभिड अस्पतालले पनि क्षमता भन्दा बढी नमूना संकलन हुनुले समस्या उत्पन्न गराएको जनाएको छ। अस्पालका कोभिड १९ उपचार संयोजक नेपालका अनुसार अस्पतालको क्षमता दैनिक १ सय ४० वटा नमूनाको लागि मात्र छ। दैनिक १ सय ८० वटा नमूना संकलन हुने गर्छ। क्षमता भन्दा बढी भएपछि ४० वटा बढी नमूना त्यही दिन परीक्षण हुन सक्दैनन्।

दैनिक ४० वटाको दरले भण्डारण भएपछि सवैको रिपोर्ट भनेकै बेला नभएको अस्पतालका कोभिड संयोजक डा. नेपाल बताउँछन्।

क्षमता भन्दा बढी नमूना संकलन बाहेक हाल नेपालमा प्रचलनमा रहेको पुल टेष्टिङ परीक्षण (एकै पटक १० वटा परीक्षण गर्ने बिधि) ले पनि रिपोर्टमा ढिलाइ भएको हो। यो बिधि अनुसार १० वटा परीक्षण भएका मध्येमा एउटाको मात्र पोजिटिभ रिपोर्ट आएमा पुन सवैको छुट्टा–छुट्टै परीक्षण गर्नु पर्ने हुन्छ।

दोहाराएर परीक्षण गर्दा परीक्षण भएका मध्येमा केहीको ढिला हुने गरेको प्रमुख रुना झाले बताइन्।‘ एकैदिन धेरैको रिपोर्ट आएको हुन्छ, केहीको दोहोर्याएर गर्दा ढिला हुन्छ, एकाधको ढिलाइ पनि हुन्छ’ उनले भनिन्।

लक्षण भएका र जोखिम समूह भन्दा बढी लक्षण नभएका र रहरको लागि पिसिआर परीक्षण गर्नेहरुको कारण बास्तवीक सक्रमित मर्कामा परेको डा. नेपाल बताउँछन्। यसको समाधानको लागि लक्षण भएकाहरुको प्राथमिकता तोकेर नमूना संकलन गर्ने र त्यही अनुसार परीक्षण गर्ने र नभएकाहरुको त्यही अनुसार व्यवस्थापन गर्न सकेमा बास्तवीक संक्रमित मर्कामा नपर्ने डा. नेपालको सुझाव छ।

नेपालमा हाल भइरहेको पुल टेष्टिङको सट्टा एन्टिजेन परीक्षण संचालनमा ल्याएमा बिरामीले छिटो रिपोर्ट पाउन सक्ने राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धन प्रसाद पौडेलेको सुझाव छ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment