Search

दशैँको महत्त्व र शुभ साईतहरु

दशैँको महत्त्व र शुभ साईतहरु

ज्यो.पं विष्णु खनाल
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।

मिति २०७७ साल कार्तिक १ गते शनिबार आश्विन शुल्कपक्ष प्रतिपर्दा परेवौतिथी राती ११ः२९ बजेसम्म त्यस उप्रान्त दुतिया तिथी आरम्भहुने भएकोले घटस्थापनाको साईत बिहान ११ ः ४६ बजे रहेको छ भने १० गते सोमबार विजयादशमी अर्थात् दशैंको टीका परेको छ । विजयादशमीको दिन प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान १० बजेर १९ मिनेटको साइत रहेको छ।प्रतिपदा दिन देखि १० गते सोमबार दशमीमा देवीको बिशेष पूजा, अर्चनागरी १४ गते शुक्रबार कोजाग्रत पूर्णिमाको दिन बिसर्जन गर्ने गरिन्छ ।

दशैँलाई बडा दशैँ, दशहरा, विजया दशमी, आयुध पूजा आदि नामले चिनिन्छ । यो नेपालीहरूको प्रमुख पर्व हो । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो । दसैँ नेपालीहरू र विशेषतः नेपाली हिन्दुहरूको सबैभन्दा ठुलो पर्व हो ।

नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दसैँ पनि अङ्ग्रेजी क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ ।

दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमाकोजाग्रत दसैँका प्रमुख तिथिहरू हुन् । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी यो दिन ः

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः ।।

परेवाको दिन शैलपुत्री देवीको पूजा ,अर्चनागरी नैवेद्द घ्यू,द्वितीयाको दिन ब्रह्मचारिणी देवीको पूजागरी नैवेद्द शख्खर,तृतीयाको दिन चन्द्रघण्टा देवीको पूजागरी नैवेद्द दुध,चौंथीको दिन कुश्माण्डा देवीको पूजागरी नैवेद्द पूवा ,पञ्चमीको दिन स्कन्दमाता देवीको पूजागरी नैवेद्द केरा ,षष्ठीको दिन कात्यायनी देवीको पूजागरी नैवेद्द मह ,सप्तमीको दिन कालरात्रि देवीको पूजागरी नैवेद्द चाकु ,अष्टमीको दिन महागौरी देवीको पूजागरी नैवेद्द नरिवेल, नवमीको दिन सिद्धिदात्री देवीको पूजागरी नैवेद्द लावा चढाउनु पर्दछ र नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठगरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजा आजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।आश्विन शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा मनाइन्छ । यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मा सम्म गरिन्छ ।

आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्ष्यमताअनुसार मिठो खाना खाने(ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा एउटा हो अरू दुईवटा हुन् चैत्र (चैत) को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन् ।

प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण यात्राको लागि प्रस्थान गर्दथे । यस दिन ठाउँ ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाईन्छ। विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति(पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो ।

दसैँ पर्वले दश प्रकारका पापहरू( काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) प्रेरणा दिन्छ ।

नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छ शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

यस वर्ष कोरोनाबाट बच्न घरघरमै सुरक्षित रहेर मान्यजनबाट आशीर्वाद लिनुपर्ने छ । व्यक्तिको शरीर रहे मात्र चाडपर्व मनाउन सकिने भएकाले सुरक्षित तरिकाले दशैँ मनाउन पञ्चाङ्ग निर्णायक समितिले आह्वान गरेको छ । यही निर्णयलाई हामी सवैले पालना गरी घरमै बसौं र सुरक्षित रहौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!