Search

घटस्थापना : नवरात्री आरम्भ, दशैको पहिलो दिन

घटस्थापना : नवरात्री आरम्भ, दशैको पहिलो दिन

१ कार्तिक, २०७७, बाँपीझ्याला, दोलखा । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवीदेवताको आव्हान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ ।


यसै गरी ऐतिहासिक शहर हालको भीमेश्वर नगर दोलखामा सरकारी पूजाआजाको लागि तलेजु भगवानको मन्दिर र त्रिपुरासुन्दरी मन्दिरमा जमरा राख्ने गरिन्छ भने स्थानिय वासिन्दाहरुले आ–आफ्नो कुलमा जमरा राख्ने गरिन्छ । जमरा राख्नु भन्दा पहिले विहानै स्थानिय वासिन्दाहरु आ–आफ्नो कुलको लागि चोखो पानी लिन तिनधारा राईतीमा जान्छन र बाह्मणले मन्त्रतन्त्रका साथै तान्त्रिक विधिबाट पूजाआजा गरी चोखो पानी थाप्न लगाई राजकुलेश्वर तलेजु मन्दिर, त्रिपुरासुन्दरी मन्दिर लगाएत आ–आफ्नो कुलमा लगेर नृत्य पूजाआजाको विधी गरी नवरात अर्थात जमरा राख्नको लागि बालुवा, माटो मिलाएर राखेको ठाँउमा जौ छरी जमरा राख्ने गरिन्छ । विशेष गरी यसरी जमरा राख्ने कार्य कुलको मुल मान्छे अर्थात थाकतीले राख्ने गरिन्छ । जुन घरमा कुलमा थाकती हुदैन उक्त घरमा घरको मुल मान्छेले जमरा राख्ने चलन रहेको छ ।

घटस्थापनाको दिन किन जमरा राखिन्छ त ? जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूप महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् ः प्रकति (पूर्व, चण्डिका आग्नेय, भद्रकाली दक्षिण, सर्वमङ्गला वायव्य, वैष्णवी उत्तर, शिवप्रिया ईशान, जगदम्बिका जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ ।


हिन्दु धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो । यसैले दशैंको अवसरमा आ–आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गरिनुबाहेक अन्य देवीस्थलहरूमा गई देवीदेवताहरूको पूजा उपासना, पुकार तथा दर्शनको लागि जानु आवश्यक नपर्ने वास्तविकतातिर औंल्याएको पाइन्छ । यसरी विधिवत रुपमा नवरात राखे पछी अर्थात जमरा राखेको दिनदेखि दशै शुरु भएको मानिन्छ ।


घटस्थापना मिति आश्विन शुक्ल प्रतिपदा यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी), स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ । पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!