बाँपीझ्याला, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक सेवाहरु बाहेकका सेवा स्थगित गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गरी आइतबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको जानकारी दिएका हुन् ।
सूचनामा पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण अत्याधिक बढिरहेको र आफ्नै कार्यालयमा पनि केही कर्मचारीहरुमा संक्रमण पुष्टि भएकोले सेवाग्राहीमा संक्रमण फैलिने उच्च जोखिम देखिएको भन्दै सेवा स्थगित गर्नुपरेको जनाइएको छ ।
सूचनामा भनिएको छः ‘कोभिड १९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड १९ संकट व्यवस्थापान केन्द्र (डिसीसीएमसी), सम्बन्धित सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतको छलफल, परामर्श एवम् निश्कर्षका आधारमा कार्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस कार्यालयबाट प्रदान गरिने तपसिलमा उल्लेखित अत्यावश्यक सेवाहरु बाहेकका सेवाहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट पर्न जाने असुविधाप्रति कार्यालय क्षमाप्रर्थी छ ।’