३० असाेज, बाँपीझ्याला, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मुटु नै नभएकाे बताउनु भएकाे छ ।
कोरोना भाइरसबाट संक्रमित भएर १३ दिनदेखि घरमै आइसोलेसनमा बसिरहनु भएका नेता थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियाे सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्रीसँग मुटु नभएकाे बताउनुभएकाे हाे ।
कोरोनाका कारण सबैक्षेत्र प्रभावित हुँदा पनि कुनै पनि कुरामा प्रधानमन्त्रीलाई नछाेएकाे भन्दै उहाँले भन्नुभएकाे छ- ‘अब हामीले भन्नु नै पर्छ । हाम्रो प्रधानमन्त्रीसँग मुटु छैन ।
हाम्रो प्रधानमन्त्रीसँग मन छैन । प्रधानमन्त्रीसँग मुटु नै रहेनछ । यतिका कुरा हुँदै गर्दा दुख्दा पनि नदुख्ने, पोल्दा पनि नपोल्ने । छुँदा पनि नछुने । भनेपछि प्रधानमन्त्रीसँग मुटु छैन ।’
काेराेना कहरले जनतालाई पोलेको कुरालाई प्रधानमन्त्री ओलीले प्रथामिकता नदिएकाे सांसद थापाले बताउनुभयाे । ‘प्रधानमन्त्रीको पहिलो प्राथमिकता प्रचण्डसँगको भेटघाटमा छ । पार्टीभित्रको झगडा, लुम्बिनी प्रदेश राजधानीमा आफ्नै दलका दुई नेता मिलाउने प्राथमिकता छ ।
प्रधानमन्त्रीको अहिलेको प्राथमिकता कर्णालीको झगडा मिलाउने छ । त्यसपछि मन्त्रिमण्डल पुनर्गठनले एकथरि नेताहरु रिसाउने भएपछि फकाउने र ढाल्नेभन्दा अरू ध्यान छैन,’ उहाँले भन्नुभएकाे छ ।
सांसद थापाले आफूलाई ९ औं / १० औं दिनमा ज्वरो खोकीलगायतका काेराेनाका लक्षणसमेत देखिएकाे जानकारी दिनुभएकाे छ । कोरोनाको अर्को परीक्षण कुरिरहेको र केही दिनमै संक्रमणबाट मुक्त आशा पनि व्यक्त गर्नुभएकाे छ ।
उहाँले भन्नुभएकाे छ- ‘मसहित बुबा, आमा, श्रीमती, छोरीलगायत नौं जना घरमा आइसोलसेनमा छौँ । शुभेच्छा र आशीर्वादले गर्दा अहिलेसम्म कसैलाई गाह्रो भएको छैन । आशा छ, केही दिनभित्रै हामी संक्रमणबाट मुक्त हुनेछौँ ।’
काेराेनाका कारणले सर्वसाधरण कंगाल बनेर सडकमा आइपुग्दासमेत प्रधानमन्त्री ध्यान नदिएकाे उहाँकाे गुनासाे छ । ‘कोरोनाका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएका छन् ।
त्यहाँभित्र पनि नन-कोभिड । संक्रमण नभएको तर अन्य रोगको उपचार नपाएर अस्तव्यस्त भएको छ ।
अर्कोतिर, आर्थिक क्षेत्र तहसनहस भएको छ। हजारौं मान्छेहरु बेरोजगार भएका छन् ,’ उहाँले भिडियाेमर्फत भन्नुभएकाे छ, ‘स्वरोजगार भएका व्यक्तिको जीवन अस्तव्यस्त बनेको छ ।
कंगाल बनेका छन्,सडकमा आइपुगेका छन् । यस्तो बेलामा यी कुनै पनि कुरामा प्रधानमन्त्रीले ध्यान दिएको पाइएन ।’
स्वास्थ्य मन्त्रालयकाे बेताल
सांसद थापाले स्वास्थ्य मन्त्रालय बेताल भएकाे बताउनुभएकाे छ । सर्वसाधरण उपचारका लागि काठमाडौं आउदा पनि उपचार नपाएकाे उहाँले बताउनुभएकाे छ । ‘स्वास्थ्यको जिम्मा लिएको स्वास्थ्य मन्त्रालय बेताल छ ।
सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएकाे छ,’ उहाँले भन्नुभएकाे छ, ‘गरिब गुरुवा उपचारका लागि काठमाडौं उपचार गर्न आउँछन्,उनीहरु कहाँ गएर उपचार गर्ने ? उनीहरुले उपचार कहाँ गर्ने ?’
सांसद थापाले काठमाडौं उपत्यकाभित्रकाे मेडिकल कलेजहरुमा कोभिड अस्पताल बनाउन सकिने बताउनु भएकाे छ । ‘नेपाल मेडिकल, किस्ट मेडिकल कलेज छन् ।
मेडिकल कलेजहरुलाई लिन सकिन्छ। तिनिहरुमा सयौं बेड छन् । २५ सयदेखि तीन हजार बेड क्षमताको कोभिड अस्पताल बनाउन सकिन्छ ।
एउटा रोष्टर बनाएर गर्यो भने त्यहाँभित्र क्रिटीकल केसहरु हेर्न पनि सकिन्छ। त्योभन्दा बाहिर गर्ने कार्य काठमाडौंमा १५ हजार क्षमतासम्मको आइसोलेसन बनाउन सकिन्छ, सार्वजनिक भिडियाेमा उहाँले बताउनु भएकाे छ ।
काेराेनाविरूद्ध स्थानीय र प्रदेश सरकारको समन्वय गरेर प्रभावकारी प्रणाली बनाउन सकिने सुझाव पनि दिनुभएकाे छ । ‘समय त धेरै घर्किएको छ । तर, गर्न सकिने समय अहिले पनि छ । स्रोत र साधन हामीसँग छ ।
स्थानीय र प्रदेश सरकारको समन्वय गरेर प्रभावकारी प्रणाली बनाउ सकिन्छ,’ उहाँले भन्नुभएकाे छ, ‘ सबै नागरिक यो बेला सरकारलाई मद्धत गर्न चाहिरहेका छन् । कोभिड नियन्त्रणका लागि सरकारले गरेका कदम असफल होस् भन्ने को चाहन्छ ? हामी सबै मान्छे हौं नि ।
सरकारको सफलतासँग प्रत्येका परिवार जोडिएको छ । राजनीतिक पूर्वाग्रहले हेरिए पनि यो बेला कोभिड नियन्त्रणमा सरकार सफल होस् नै भन्ने सबैको चाहना हुन्छ ।’