श्रेष्ठ सत्य, द्वाल्खा हाल वेलायत
सानोमा परालको कुन्यूमा बसेर राति अबेरसम्म टोलका सिनियर दाजु, दिदीहरुले विभिन्न दन्त्यकथा, लोक कथा तथा भूतका कथाहरु सुनाउनु हुन्थ्यो । त्यस मध्ये शान्त दाइले भन्नु भएका कथाहरु मलाई सा¥है मन पर्थे । एक रात शान्त दाइले सत्य घटनामा आधारित भनेर सुनाउनु भएको यो कथा सम्झिंदा मलाई अझै डरले आङ सिरिङ्ग भएर आउँछ ।
दोलखावासीहरुको पुजाआजा, मर्दापर्दा, काजकिरिया, श्राद्ध लगायत सम्पूर्ण शुभ अशुभ कार्यमा भी.न.पा. –२ ड्वाक्थीलीका रामे बाजेलाई नै आफ्नो पुरोहितको रुपमा बोलाउने गर्दथे । तर जतिबेला रामेबाजे सानै हुनुहुन्थ्यो यो काम उहाँँको बुुबाले गर्नुहुन्थ्यो । त्यतिबेला रामे बाजे सानै हुनुहुन्थ्यो त्यस्तै १५–१६ वर्षको । रामे बाजेको बुबा त्यस दिन सन्चो नभएर घरमै बस्नुपरेको थियो र दोलखा शहरको तल्लो टोलमा एउटा सत्य नारायण पुजा गर्नका लागि उहाँको बुबाले रामे बाजेलाई नै पठाउनु परेको थियो बाध्यातावश । रामे बाजेलाई घर छाड्ने बेलामा उहाँको बुबाले भन्नुभएको थियो कि समयमै पुजा सकेर जसरी पनि साँझ घर फर्किनु ।
रामे बाजे बेलैमा पुजा घर पुगे ता पनि पूजाका सर–सामानहरु जम्मा गर्दा गर्दै सत्य नारायणको पुजाको शभारम्भ गर्दा साँझको करिब सात बजिसकेको थियो । पूजा सकिंदा त रातको करिब एघार बजिसकेको थियो । रामे बाजेको घर जानलाई दोलखा शहरबाट पैदल जंगलैजंगलको बाटो काँलर वन भएर करिब डेढ दुइ घण्टा नै लाग्दथ्यो । पुजा घरका मान्छेहरुले रात धेरै छिप्पिसकेकोले भोलिपल्ट मात्रै घर जानको लागि आग«ह गर्दा पनि उहाँले बुबाको वचन सम्झेर घरै फर्किन थाल्नु भयो । त्यस माथि जुनेली रात भएकोले उहाँलाई घर फर्किन त्यति डर लागेन ।
आफूले पुजामा दानका रुपमा पाएका सबै सामानहरु पुजा घरमै छाडेर अलि अलि आहार गरेर रामे बाजे घरतिर लाग्दा मध्यरात हुन लागि सकेको थियो ।
पुजा घरबाट बाहिर निक्लिने बित्तिकै जूनको उज्यालोले रामे बाजेलाई साथ दिएको भएतापनि बाटोको सन्नाटा अनि बेला बेलामा जंगल भित्र स्याल रोएको आवाजले उहाँलाई भयभीत पार्दै गएको थियो । दिउँसोको समयमा थुप«ै मानिसहरुको आवात जावत हुने दोलखा शहरका गल्ली चोकहरु पनि त्यो रातको समय नितान्त सुनसान थियो । कोही अन्य मानिस भेट्न या मानिसको आवाज मात्रै सुन्न पाएपनि केही राहतकोे महशूस हुन्थ्यो कि जस्तो लाग्न थालेको थियो रामे बाजेलाई । राती जूनको उज्यालोमा दोलखा शहरका सुनसान घरहरु देख्दा पनि रामे बाजेलाई अझंगका दैत्यहरु घोसेमुण्टो लगाएर शिकार खोजिरहे जस्तै भान हुन थालेको थियो ।
रामे बाजे तल्लो टोल पार गरेर माथिल्लो टोल तिर जाने उकालो चढ्न लाग्दा, उकालोको बीच, बालमन्दिरको अगाडि कोही उभिरहेको जस्तो देख्नु भयो र हतार हतार कोही मान्छे त भेटियो भन्दै उत्साहित भएर छिटो छिटो उकालो चढ्नुभयो त्यो मानिसलाई भेट्नका लागि तर जति नजिकिंदै गयो त्यति नै त्यो आकृतिअग्लो अग्लो देखिंदै जानथाल्यो । आकृतिको केही नजिक पुग्दै अनपत्यारिलो दृश्यले बाजेको सातोपुत्लो उडाइदियो ।
त्यो अग्लो आकृतिको खुट्टा त भुइँमा थियो भने टाउको माथि माथि आकासको तारा मण्डल सम्मै पुगेको थियो । रामे बाजे बेस्सरी आँत्तिनु भयो र फेरि अघि बढ्न खोज्नु भयो तर त्यो अग्लो आकृति रामे बाजेको अगाडिको पूरै बाटो नै छेकेर उभिएको थियो । रामे बाजेको होशहवास सबै उडिसकेको थियो । अचानक उहाँको मुखबाट यौटा मन्त्र उच्चारण हुनपुग्यो र त्यो मन्त्रको आवाज गुन्जिने बित्तिकै त्यो आकृति त्यहीं को त्यहीं गायब भयो ।
त्यो आकृति हराए पछि रामे बाजे एकै सासमा बाँकी उकालो बाटो कटेर दोलखा शहरको माथिल्लो टोल आइ पुग्नुभयो । माथिल्लो टोलको स्वयंभूथान अगाडिको फराकिलो आँगन जुन दिउँसो भरि मानिस हरुको घुइँचोले भरिएको हुन्थ्यो तर त्यो रातमा बिलकुल सुनसान थियो । त्यो आँगनको छेउदेखि आँखा दगुराउँदै जाँदा आँगनको बीचमा उहाँले यौटा लाखे जस्तो आकृति नाचिरहेको दृश्य देख्नुभयो । न बाजागाजा, न सनही, न दर्शक त्यो लाखे एक्लै छमछम्ती नाचिरहेको देखेर रामे बाजेलाई पहिला त अचम्म लाग्यो तर यो साँच्चैको लाखे पक्कै पनि होइन भनेर लख काट्न उहाँलाई धेरै बेर लागेन ।
रामे बाजेले मनमनै लाखेलाई “तँ नाँच्दै गर, म चाहिं भागें” भनेर आँगनको छेवैबाट भाग्नै लाग्दा त्यो लाखे जस्तो आकृति दाह«ा देखाएर मुख भाउँदै दगुर्दै आउ र रामे बाजेको अगाडि उभिएर उहाँको बाटो छेकिदियो । रामे बाजेले आँत्तिदै अघि अग्लो आकृतिका लागि प्रयोग गरेको मन्त्रोच्चारण गर्नुभयो तर यसको असर त्यो लाखेमा कत्तिपनि परेन । त्यो लाखे आकृति झनै रिसाए जस्तो गरेर रातोरातो आँखापार्दै मुखखोल्दै, दाह«ा किट्दै रामे बाजेको छेवैमा आइपुग्न थालि सकेको थियो । रामे बाजेलाई उहाँको बुबाले यस्तो अवस्थामा प्रयोग गर्ने मन्त्र र विधि सिकाउनु भएको थियो तर त्यो विधि अनुसार मन्त्रले चामल फुकेर चामलले त्यो लाखे आकृतिलाई जोडले हिर्काउनु पथ्र्यो । रामे बाजेलाई मन्त्र त आउँथ्यो तर चामल उहाँ सँग थिएन ।
रामे बाजेले हतार हतार आफ् दौरा सुरुवाल सबै गोजीहरुमा चामल छ कि भनेर खोज्नुभयो । भाग्यवशः यौटा खल्तीमा उहाँले तीन दाना चामल पाउनु भएछ । त्यो चामललाई त्यो विशेष मन्त्रले फुकेर रामे बाजेले जोडले ताकेर लाखेको टाउकोमा प्रहार गर्र्नुभयो । त्यो चामलले लाग्ने बित्तिकै त्यो लाखे झैं आकृति भयंकर ठूलो स्वरमा “आइया” आवाजले दोलखा शहर पूरै थर्काएर दक्षिणतर्फ उफ्रिएर अलपभयो । त्यो आवाजले रामे बाजेको कानको जाली नै फुट्ला जस्तो भयो ।
रामे बाजे आफूलाई सम्हाल्दै, लामो लामो सास फेर्दै फेरि आफ्नो घर जाने बाटोमा पाइला अगाडि बढाउँदै जानुभयो । यस्तैमा माथिल्लो टोल कटेर उहाँ काँचती भन्ने ठाउँमा आइ पुग्नु भयो । काँचती पुग्दा त फेरि बडो अचम्मको दृश्य देख्नुभयो । रामे बाजे हिंड्नुपर्ने अगाडिको बाटोमा त यौटा ठूलो पोखरी पो छ । जुन अरु बेला कहिल्यै र दिउँसो रामे बाजे आउँदा त्यहाँ छँदै थिएन । अनि त्यो पोखरीमा र त्यसको वरिपरि थुप्रै हाँस, कुखुरा, चल्लाहरु र बंगुरहरु खेलिरहेका थिए । रामे बाजेलाई एकक्षण त त्यो दृश्य साँच्चै हो जस्तो लाग्यो तर एकछिन पछि उहाँले यो यथार्थ होइन भन्ने थाहा पाउनु भयो र उहाँले आँखा चिम्लेर ७ पटक चर्को आवाजमा एउटा मन्त्र जप्नु भयो । त्यसपछि आँखाखोल्दा त उहाँको अगाडि न त पोखरी, न त हाँस कुखुराहरु, त्यहाँ त मात्र सुनसान बाटो मात्रै बाँकी थियो ।
रामे बाजे आश्चर्य मान्दै फेरि बिस्तारै अघि बढ्नुभयो । भीमेश्वर मन्दिर पुग्नु अगाडिको सिंढीहरु चढ्न थाल्नुभयो । त्यस्तै ५, १० वटा सिंढीहरु चढिसकेपछि उहाँको ध्यान अचानक भीमेश्वर मन्दिरतिर गयो । अन्तिम सिंढीको बीचमा उभिएका सिंहहरु जस्तो आकृतिमा पुगेर उहाँको नजर रोकियो । सामान्यतया त्यहाँ बाटोको दुइ छेउमा एक एक सिंहको मूर्ती छ तर रामे बाजेले त्यसबेला हेर्दा त अर्को थप चारवटा सिंहहरु बाजेको पूरै बाटो छेकेर रामे बाजे तिरै हेरेर पुच्छर हल्लाइ रहेका थिए । रामे बाजेले शायद रातीको समय भएर दुइवटा सिंहलाई छ वटा देखिएको हो कि भन्ने शंका लागेर आफ्नो दुइवटै आँखा बेस्सरी माडेर फेरि हेर्नुभयो तर त्यहाँ निसन्देह नै छ वटा सिंहहरु बसिरहेका थिए त्यो पनिमूर्ती नभएर साँच्चैका सिंहहरु ।
रामे बाजेलाई यो साँच्चैको सिंह होइन बरु अरु नै केहीहो भन्ने भान एकछिनमा भइहाल्यो । उहाँले अघिल्लो पटक जस्तै त्यहीं उभिएर दुइटै आँखाचिम्लेर जोड जोडले एक विशेष मन्त्र उच्चारण गर्नु भयो र उहाँले आँखा खोल्दा त ४ वटै सिंहहरु गायब भइसकेका थिए । बाटोको दुइ छेउका दुइ सिंहका मूर्ती मात्रै त्यहाँ बाँकी रहेका थिए ।
एक पछि अर्को भयानक घटनाहरुले कलिलो उमेरका रामे बाजे विक्षिप्त झैं बनि सक्नु भएको थियो । “ फेरि अगाडि के सामना गर्र्नुपर्ने हो ?” भन्ने भयले रामे बाजेलाई बेस्सरी त्रसित बनायो । उहाँलाई पुजाघरमा बास नबसेर घर फर्किने निधो गरेकोमा बेस्सरी पश्चाताप लाग्न थाल्यो । एक मनले फेरि पनि फर्केर त्यहीं जाउँकी जस्तो पनि लाग्न थाल्यो तर अर्को मनले फेरि फर्किंदा अघिकै आकृतिहरु बाटो ढुकेर बसेका पो छन् की भन्ने भयले फर्किन पनिझनै आँट आएन उहाँलाई । यस्तैमा उहाँले पछाडि फर्किनु भन्दा अगाडि बढ्नु नै बेश होलाभन्ने निष्कर्ष निकाल्नु भयो ।
भीमेश्वर मन्दिरसम्म त घरैघरले भरिएको बाटो थियो तर मन्दिर कटे पछि भने रामे बाजे आफ्नो घर जान घना जंगलको बाटो भएर जानु पथ्र्यो ।
त्रसित र भयभीत मन मस्तिष्क अनि थकित तनलिएर रामे बाजे त्यो जंगलको बाटोतिर लाग्नुभयो छेवैको कालीमन्दिरलाई मनमनै गुहार माग्दै । त्यो जंगलको बाटो एक्लै हिंड्न अलिक मुटु दह्रो नभएको मान्छे दिउँसै पनि डराउँथे भने त्यो रातको समय जहाँबाक्लो रुखहरुको उपस्थितिलाई पार गरेर रामे बाजे हिंड्ने बाटोसम्म पुग्नजूनको किरणको सामथ्र्यले पनि भ्याउँदैन थियो भने अघिल्लो घटनाक्रमहरुले आतंकित रामे बाजेको मनस्थिति त्यहाँ बेहाल नै भएको थियो ।
जसै रामे बाजे त्यो अँध्यारो जंगलभित्र प्रवेश गर्नुभयो, उहाँले आफ्नो पछि पछि सयौंको संख्यामा आर्मी बटालियनहरु हिंडेको जस्तो बुट बजेको आवाज सुन्न थाल्नुभयो । रामे बाजे टक्क रोकिनु भयो त्यो आवाज राम्ररी ठम्याउनको लागि तर रामे बाजे रोकिने बित्तिकै त्यो आवाज पनि आउन बन्द भयो । फेरि बाजे हिंड्न थाल्ने बित्तिकै त्यो आवाजले रामे बाजेलाई पछ्याउन थाल्यो । यस्तो बेलामा कदापि पछाडि फर्केर हेर्नुहँुदैन भनेर उहाँको बुबाले भन्नु भएको वचन सम्झेर उहाँलाई पछि फर्केर हेर्ने हिम्मत जुटेन । रामे बाजे अलिक छिटो छिटो कुद्नुभयो, त्यो आवाजपनि त्यसरी नै छिटो छिटो कुद्यो । फेरि रामे बाजे विस्तारै हिंडेको जस्तो गर्नुभयो, त्यो आवाजपनि त्यसरी नै बिस्तारै हिंडेको सुनियो । अत्याधिक भयले रामे बाजेको मुटु अहिल्यै फुट्ला जस्तो धड्किन थाल्यो । अहिल्यै पछाडिबाट झम्टिने हो कि भरे नै झम्टिहाल्छ जस्तो लाग्यो ।
त्यस्तैमा रामे बाजेले पछाडि नफर्किकन विस्तारै निहुरेर भुइँबाट एक मुट्ठिी माटो टिप्नुभयो र त्यसलाई केही तन्त्रमन्त्र गरेर जोडले आफ्नो पछाडितिर फाल्नुभयो । लगत्तै त्यो बुटको आवाज पछि पछि सर्दै दूर हुँदै सुनिन छाड्यो ।
रामे बाजेलाई त्यो घना जंगलमा अघि बढ्ने बाहेक अन्य केही विकल्प थिएन । त्यो जंगलको तेर्सो बाटो आधा घण्टा जस्तो हिंडे पछि फोप्सति भन्ने ठाउँ आइपुग्थ्यो, जहाँ बटुवाहरुलाई विश्राम गर्न चौतारि पनिथियो । त्यहाँभने रुखहरु केही कम भएकोले जूनको किरण आइपुग्थ्यो । रामे बाजे त्यहाँपुग्नै लाग्दा परै बाट त्यहाँ जोडजोडले धेरै मान्छेहरु बोलेको जस्तो सुनियो । रामे बाजे नजिकै आइपुग्दा पनि त्यो कुन भाषाहो भनेर उहाँले पत्ता लगाउन सक्नु भएन । मान्छेहरुको आवाज सुनेर रामे बाजे परैबाट उत्साहित हँुदै हतार हतार त्यहाँ आइपुग्नु भएको थियो तर त्यहाँको दृश्यले भने उहाँलाई अझै हतोत्साहित नै तुल्यायो ।
त्यहाँ त अचम्मका मान्छेहरुको भींड थियो । ती मान्छेहरु कोही नांगै, कोही रुखका बोक्रा बेरेका कोहीपातहरुले जिउ टालेका जस्ता, कपाल लामा लामा र झिंग्रिंग परेका, दाह्री जुँगा लामा लामा, कोही मैलो टालोले जिउ बेरेका, कसैले हातमा दहीका ठेकी जस्तो बोकेका त कसैले रुखका हाँगाहरु बोकेका थिए, त्यस्तो मान्छेहरु रामे बाजेले जीवनमा पहिले कहिल्यै पनि देख्नु भएको थिएन । रामे बाजेलाई त्यहाँ देख्ने बित्तिकै ती मानिसहरु कोही रामे बाजेलाई गिज्याए जस्तो गरेर, कसैले आँखा तरे जस्तो गरेर हेर्दै जंगलभित्रै पसे । रामे बाजेलाई भने भयत्रास र अचम्मको अनुभव भइरहेको थियो ।
फोप्सतिबाट रामे बाजेको घर जान पूरै ओरालो बाटो लाग्नुपथ्र्यो, त्यहाँपुगे पछि रामे बाजेलाई अब कुदेरै एकैछिनमा घर पुगिन्छ भनेर अलिक ढुक्क जस्तो भयो । उहाँ तुफानी वेगमा यो ओरालो बाटोमा कुद्दै घरतिर लाग्नभयो । केही छिनमा छलुवा भन्ने ठाउँ पुग्नु भयो । त्यहाँ पुग्दा छलुवाको चौतारी देखि पूरै बाटो ढाकेर लामा लामा कपाल भएका मोटा मोटा, सामान्य मानिस भन्दा करिब दोब्बर तेब्बर साइजका आइमाइहरु जस्तो देखिने आकृतिहरु कपाल फिंजाएर, एकले अर्काको जुम्रा हेर्न र कपाल कोर्न लागेका जस्तो दृश्य देखेर रामे बाजे टक्क रोकिनु भयो । बाजेलाई यो साँच्चैको महिलाहरु होइनन् भनेर थाहा पाउन कत्तिपनि कठिनाइ भएन । त्यसैले रामे बाजेले अघिल्लो घटनाहरुमा प्रयोग गरेको मन्त्र फेरि उच्चारण गर्नुभयो तर तीआकृति त्यहाँबाट हट्नुको सट्टा झनै रिसाएको जस्तो गरेर उग्र रुपमा छिटो छिटो कपाल कोर्न पो थाले ।
छिटो छिटो चामल मन्तरेर प्रहार नगरे यिनीहरुले झम्टि हाल्लान् भन्ने जस्तो रामे बाजेलाई लाग्यो र उहाँले सबै गोजीहरु छाम्नुभयो तर कतै पनि एक गेडो चामल पनि भेटिएन । त्यस्तैमा रामे बाजेले आफू उभिएकै जमीन अगाडि हलुका निहुरेर छामछुम गरेर भुइँमा एउटा ढुंगाको टुक्रा भेट्टाउनु भयो र चामलको साटो त्यही ढुंगामा तन्त्रमन्त्र फुकेर बीचको आकृतिलाई जोडले प्रहार गर्नभयो । त्यो ढुंगाले लाग्ने बित्तिकै ती सबै महिला आकृतिहरु विजुली चम्के झैं उफ्रेर कतापुगे थाहा भएन तर पारी डाँडाबाट “तँ आजबचिस्” भन्ने भयानक आवाजले त्यो पूरै पहाड थर्कियो । त्यो चर्को आवाजले बाजेको दुवै कान फुट्ला जस्तो भयो । डरले उहाँको मुटु छाति सबै फुट्ला जस्तो भयो । उहाँ आफुलाई सम्हाल्न नसकेर एकछिन त्यही चौतारीमा ढल्नुभयो । एकछिनमा फेरि बिस्तारै उठेर फेरि खरायोको गतिम ाओरालो बाटोमा कुद्नु भयो ।
त्यहाँबाट उहाँ चिसापानी भन्ने ठाउँमा पुग्दा त्यस्तो राती पनि चिसापानीको धारामा थुप्रै मान्छे जस्ता आकृतिहरु नांगै नुहाइरहेका थिए । रामे बाजे उनीहरुलाई देखे पनि नदेखे जस्तो गरेर बाटोको छेउछेउबाटै खुरुखुरु आफ्नो बाटो लाग्नुभयो । त्यहाँबाट एकै सासमा उहाँ राम्पा पुग्नुभयो । राम्पामा आजकाल स्कुल भएको ठाउँमा उहाँ पुग्दा त्यहाँ त सयौं, हजारौंको संख्यामा भेडाहरु भ्या, भ्या गर्दै तल्तिरबाट रामे बाजे तिर आइरहेको देख्नुभयो । रामे बाजे एकछिन त्यहाँ टक्क रोकिने बित्तिकै ती भेडाहरु सबै रामे बाजेको आँखैको सामुन्ने गायब भए ।
रामे बाजेलाई यो रातीको सबै घटनाहरुले भयभीत र आश्चर्य चकित तुल्याइरहेको थियो । भेडाहरु गायब हुने बित्तिकै उहाँफेरि लामो सास तानेर कुलेलम ठोक्नुभयो र एकै सासमा आफ्नो घर पुग्नुभयो । घरको ढोकाभित्र पस्ने बित्तिकै रामे बाजे बेहोस भएर लड्नुभयो र भोलिपल्ट बिहानमात्रै उहाँको होश खुल्यो ।