Search

ऋणीलाई असोजसम्मको कर्जा असुलीमा छुट नदिने पक्षमा राष्ट्र बैंक, बैंकहरुलाई जसरी पनि उठाउनु पर्ने दबाब

ऋणीलाई असोजसम्मको कर्जा असुलीमा छुट नदिने पक्षमा राष्ट्र बैंक, बैंकहरुलाई जसरी पनि उठाउनु पर्ने दबाब

बाँपीझ्याला, काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई चालू आर्थिक बर्षको असोज मसान्तसम्मको किस्ता तथा ब्याज असुलीमा छुट नदिने भएको छ । कोरोनाको कारण आर्थिक बर्ष २०७६/७७ को पुस देखि असारसम्मको किस्ता असुलीमा व्यवसायको प्रकृत्ति अनुसार ६ महिनादेखि १ बर्षसम्मको समयसिमा दिएको राष्ट्र बैंकले चालू आबको साउनदेखि असोज मसान्तसम्मको पहिलो त्रैमासको किस्ता तथा ब्याज असुलीमा भने समय नदिने भएको हो ।


कोरोनाका कारण उद्योग व्यवसाय बन्द हुँदा ऋणीहरु किस्ता तथा ब्याज तिर्न नसक्ने अवस्थामा छन् भने बैंकहरुले पनि ऋणीसँग असुली गर्न राष्ट्र बैंकको सर्कुलर कुरेर बसेका छन् । असोज मासान्त आउन लागिसक्दा पनि राष्ट्र बैंकले कर्जाको किस्ता तथा ब्याज असुलीमा कुनै सम्बोधन नगरेपछि बैंकहरुलाई थप दबाब परेको हो ।

हामीले साउन पछि कोरोना केही कम हुँदै उद्योग व्यवसाय लयमा फर्कने र ऋणीसँग किस्ता र ब्याज सहज रुपमा उठाउन सकिने अनुमान गरेका थियौं,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘तर जति पछि भयो उत्तिनै धेरै कोरोना संक्रमण फैलिन थालेको छ तसर्थ चालू आबको असोज मसान्तसम्मको किस्ता र ब्याज कसरी असुल गर्ने भन्ने विषयमा थप अन्यौलता बढेको छ ।’ ऋणीसँग कर्जाको किस्ता र ब्याज असुलीमा राष्ट्र बैंकको निर्देशन कुरेर बसेको तर अहिले सम्म पनि कुनै सम्बोधन नहुँदा कर्जा असुलीमा थप दबाब परेको समेत ती बैंकरको भनाई थियो ।


यदि अबका दिनमा कर्जाको किस्ता र ब्याज असुलीमा राष्ट्र बैंकले कुनै नयाँ व्यवस्था नगरेमा बैंकहरुको खराब कर्जा ह्वात्तै बढ्ने समेत एक बैंकरले जानकारी दिए । ‘कोरोनाको कारण उद्योग व्यवसाय नचल्दा ऋणीलाई पेलेर किस्ता तथा ब्याज असुली गर्न सकिने अवस्था छैन,’ ती बैंकरले भने, ‘यदि ऋणीसँग असुली नगर्ने हो भने राष्ट्र बैंकको व्यवस्थाले थप असर गर्ने छ ।’ अहिलेको विषम परिस्थितीमा राष्ट्र बैंकले सम्बोधन नगरिदिँदा बैंकहरुले नै चेपुवामा परेको समेत ती बैंकरको गुनासो थियो ।

यसैगरी नेपाल राष्ट्र बैंकले पनि असोजसम्मको किस्ता र ब्याज असुलीमा अहिले कुनै पनि छुट नदिईने जानकारी दिएको छ । ‘हुने र सक्नेजति सबैले बैंकको किस्ता तथा ब्याज तिर्नुपर्छ भन्ने राष्ट्र बैंकको मान्यता रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तसर्थ असोज मासन्तभित्रको किस्ता र ब्याज असुलीको विषयमा राष्ट्र बैंकले छुट वा छुट दिनको लागि सर्कुलर जारी गर्दैन ।’ सोही अनुरुप बैंकहरुले पनि आफ्ना ऋणीहरुसँग असोज मसान्तभित्र किस्ता तथा ब्याज रकम असुली गर्न ताकेता गर्नुपर्ने राष्ट्र बैंक स्रोतको भनाई छ ।

तर, यदि कुनै ऋणीले बाध्यताबस किस्ता तथा ब्याज भुक्तानी गर्न सक्दैन भने सो सम्बन्धनमा असोज मसान्तपछि नीतिगत रुपमा कुनै सम्बोधन गर्ने तयारी गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । यस अघि पनि राष्ट्र बैंकले असार समान्तसम्मको कर्जा असुलीमा कुनै छुट नदिएर साउन लागेपछि मात्र सम्बोधन गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!