२४ असोज, बाँपीझ्याला, काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसीको तर्फबाट गठित वार्ता समितिले सरकारले सहमतिको लागि गम्भीरता नदेखाएको आरोप लगाएको छ ।
सरकारी प्रतिनिधिहरु सहमतिको लागि गम्भीर नबनेको र डा. केसी मरोस् भन्ने सरकारको नियत देखिएको केसी तर्फका वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले पत्रकार सम्मेलनमा भने ।
डा. केसी अनशनरत त्रिवि शिक्षण अस्तपाल परिसरमा पत्रकार सम्मेलन गरेर डा केसी पक्षका संयोजक क्षेत्रीले भने,सरकारले वार्ता गरेजस्तो गरेर छलछाम मात्र पारेको गरेको देखियो। डा केसी मरे मरोस् भन्ने सरकारको नियत देखिएको छ ।
हिजो बिहीबार राती सकिएको वार्तामा तयार भएको सहमतिको मस्यौदाभन्दा पनि पनि सरकार पछि हटेर प्रस्तुत भएपछि वार्ता असफल भएको हो ।
उनले अब डा. केसीको जीवनरक्षा र माग पूरा गराउन भोलिबाटै आन्दोलन गर्ने पनि जनाए । उनले आन्दोलनको लागि आम नागरिकलाई आह्वानसमेत गरे । डा. केसी २६ दिनदेखि अनसनरत छन् ।