Search

ब्युटी पार्लर र शैलुनले दिन थाले होम डेलिभरी सेवा

ब्युटी पार्लर र शैलुनले दिन थाले होम डेलिभरी सेवा

असोज, बाँपीझ्याला, काठमाडौं । ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न दिनुपर्ने माग राख्दै गत भदौको अन्तिम सातामा माइतीघर मण्डलामा व्यवसायीहरुले प्रदर्शन गरेका थिए । सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरी ४ जिल्लाका व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्न नदिए सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका थिए ।

सरकारले कोरोना संक्रमणका बेला अन्य व्यवसायहरू सञ्चालन गर्न दिएपनि ब्युटी पार्लर, शैलुन लगायतका सौन्दर्य कला व्यवसायलाई सञ्चालन गर्न नदिएको भन्दै सरकारसमक्ष चलाउन पाउनुपर्छ भन्दै माग राखेका थिए ।

सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि पार्लर तथा शैलुन व्यवसाय खुलेको छ । तर, यसै लकडाउन र निषेधाज्ञाको समयमा भने विभिन्न ब्यूटिशियन तथा शैलुन एक्सपर्टरूले घरमा गएर सेवा प्रदान गर्दै आएका छन् ।

लकडाउनको समयमा बाहिर निस्कन निषेध गरेसँगै धेरै पुरुष तथा महिला पार्लर अवथा शैलुन जान नपाउँदा समस्यामा परेका थिए । यही सन्दर्भलाई जोड्दै सामाजिक सञ्जालमा विभिन्न प्रकारका व्यङ्ग्यात्मक ट्रोलहरू पनि सार्वजनिक भए ।

तर, लामो समयको बन्दाबन्दीका कारण बेरोजगार भएका र पार्लर पनि चलाउन नसक्ने अवस्थामा पुगेपछि व्यवसाय चलायमान बनाउनका लागि यस क्षेत्रमा कार्यरत व्यवसायीले घर–घरमा सेवा प्रदान गर्दै आएका छन् ।

लकडाउनले करिब ३ महिना पूर्णरूपमा बन्द भएको अनानेक ब्यूटीपार्लर तथा शैलुन एण्ड स्पाले आफ्नो नियमित सम्पूर्ण ग्राहकहरूले घर घरमा सेवा प्रदान गर्नुपर्ने माग राखेपछि घरघरमा सेवा प्रदान गर्दै आएको शैलुनका प्रबन्धक जुली राई बताउँछिन् ।

राईले लामो समयको बन्दाबन्दीका कारण सेवा लिन नपाएका ग्राहकहरूले नै सञ्चालन गर्नुपर्ने माग गरेसँगै विगत साढे दुई महिनादेखि सेवा प्रदान गर्दै आएको बताइन् ।

‘अनानेक बिउटीले उपत्यकामा रहेका सम्पूर्ण ग्राहकलाई ग्रुप वर्क गरेर सेवा दिई रहेका छौं,’ उनले भनिन्, ‘करिब दुई÷तीन दिनमा ४५÷५० जनालाई सेवा दिँदै आएको छौं ।’

यस्तै घरमा सेवा लिनक लागि सेवाग्राहीले एक÷दुई दिन अगाडि नै बुकिङ गर्नुपर्ने हुन्छ । राईका अनुसार अग्रीम बुकिङको लागि भाइबर, वाट्सअप तथा म्यासेन्जरबाट बुकिङ गर्न सक्ने बताइन् । एक÷दुई दिन अगाडि नै बुकिङ गरेको अवस्थामा सबै सामान तयार गर्न सजिलो हुने भएकाले अग्रिम बुकिङ गर्नुपर्ने उनी बताउँछिन् ।

त्यसैगरी, घरघरमा सेवा प्रदान गर्दा पार्लरको जस्तो सहज नभएता पनि अर्को फाइदा रहेको उनी बताउँछिन् ।

‘पार्लरमा आउँदा कपाल, फेसियलजस्ता अन्यकोलागि छुट्टाछुट्टै सेक्सनको व्यवस्था हुन्छ । तर, ग्राहकको घरमा जाँदा त्यहाँको व्यवस्था अनुसार नै चल्नुपर्ने हुँदा केही मात्रामा समस्या भइरहेको छ,’ उनले भनिन् ।

तर, घरमै सेवा दिन जाँदा लकडाउनको समयमा सबै परिवार हुने भएकाले मन पर्ने वित्तिकै अन्यले पनि चासो राखेकाले एउटैमा २÷३ जनालाई सेवा दिन पाइरहेको उनले बताइन् ।

यसका साथै, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै मूल्य पनि पहिलेको जतिनै रहेको उनको भनाइ छ । घरमा सेवा प्रदान गर्नको लागि बिउटीसियनहरूले पीपीई, मास्क, स्यानीटाइजरलगायत सीसीएमसीले तोकेको मापदण्ड पूरा गरेको उनको भनाइ छ । साथै, एकैदिनमा २० हजारभन्दा माथिको सामान प्रयोग गरेमा ग्राहकलाई गिफ्ट भौचरको पनि व्यवस्था रहेको छ ।

‘घरमै आउने पार्लर घरपर्लर अब घर घरमा पार्लर’ नाराका साथ गत बैशाख २५ गतेबाट ग्राहकहरूको मागअनुसार सेवा प्रदान गर्दै आएको घरपार्लर कम्पनीको संस्थापक नेपाली सुमनले जानकारी दिए । उनका अनुसार लकडाउनकै समयलाई सदुपयोग गर्नको लागि नयाँ संकल्पना गरेर घरपार्लर, सरसफाई, हाउसमेड, फोटोग्राफी तथा भिडियोग्राफी, बिजुलीको काम तथा प्लम्बिङको सुविधा दिँदै आएको बताए ।

पहिलो प्राथमिकता पार्लर भएका कारण कोरोनाको समयमा पनि दैनिक १० देखि १२ जनालाई घरमा गएर पार्लर तथा शैलुनको सेवा दिँदै आएको उनको भनाइ छ ।

साथै सीसीएमसीको मापदण्ड अनुसार नै सबै व्यवस्था गरेको घरमै गएर सेवा दिइरहेको हुनाले यस अवधिमा रोजगारी सिर्जना गर्न पाएकोमा खुसी व्यक्त गरे । साथै, करिब लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका प्रोफेशनल बिउटीशियनहरूबाट सेवा प्रदान गरेको हुनाले ग्राहकहरूको राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!