अजय प्रधान
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षणको काम गर्दै आएको आवाज नेपाल दोलखालाई एक रोपनी जग्गा प्राप्त भएको छ । भीमेश्वर नगरपालिका २ निवासी समाजसेवी भूपू प्रहरी कल्याण बहादुर श्रेष्ठले आवाज नेपालको नाममा भीमेश्वर नगरपालिका वडा नं २ साविक दोलखा गाविस वडा नं. –८ तिखातल चुलचुले गोलेगाउँमा रहेको ४७९.कित्ता नम्वरको १ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनु भएको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले बताउनु भएको छ ।
तिखातल निवासी दानवीर श्रेष्ठका ३ छोरा मध्य एक छोराको अल्पायूमा मृत्यु वियोग र अर्का एक छोरामा पनि बौद्धिक अपाङ्गताको समस्या भोगेका श्रेष्ठ परिवारले आवाज नेपालको कामको प्रसंसा गर्दै आफूले पनि यस्तै सहयोग गर्ने चाहाना अनुसार सुविधासम्पन्न भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेको जानकारी प्राप्त भएको छ । विहिवार श्रेष्ठकी श्रीमती सरिता श्रेष्ठ, छोराहरु रामकुमार श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठको उपस्थितिमा जिल्ला मालपोत कार्यालयमा आवाज नेपालको नाममा जग्गा पास ग गरि दिएको श्रेष्ठ परिवारले जनाएको छ । जग्गा पास गर्दै दाता कल्याण बहादुर श्रेष्ठले स्नेह केन्द्रको दिगो व्यवस्थापन गर्न जग्गा दान गर्न पाउँदा धेरै लामो समयपछिको चाहना पूरा बताउनुभयो ।
२०६९ सालदेखि जोखिममा परेका महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज नेपालले सदरमुकाम चरिकोट नजिकै निशुल्क जग्गा पाएपछि दोलखाली महिला र हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि सुविधा सम्पन्न भवन निर्माणमा सहयोग पुगेको आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीले बताउनु हुर्दै खुसी व्यक्त गर्नुभयो । आवाज नेपाललाई आवाज विहीनहरुको आवाज वन्ने र जोखिममा परेका महिला तथा बालबालिकाले आपनै घरको महशुष गर्न पाउने अवसर प्रदान गर्ने श्रेष्ठ परिवारप्रति अध्यक्ष कार्कीले कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गर्नु भयो । आवाज नेपालले आपनै नाममा जग्गा प्राप्त गरेसंगै अवका दिनमा समस्यामा परेका सबै प्रकृतिका संकटासन्न अवस्थाका प्रभावितलाई सेवा दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
लामो समयदेखि संकटासन्न अवस्थामा रहेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको आवाज नेपालका लागि बहुउद्देश्यीय काम गर्न सहज हुने आवाज नेपालले जनाएको छ । आवाज नेपालले मानसिक समस्या,अपाङ्गता भएका,हिंसा प्रभावित तथा जोखिममा परेका महिला तथा बालबालिका, जेष्ठ नागरिक तथा समस्यामा परेका पुरुषलाई समेत व्यवस्थापन गर्ने गरी अन्य जग्गा समेत भाडामा लिएर काम गर्न सकिने छ । अध्यक्ष कार्कीका अनुसार स्नेह केन्द्रमा आउने प्रवाहित आयआर्जनका लागि पशुपालन, तरकारी खेती, सीपमूलक जीवन उपयोगी सिप सदुपयोग लगायतका कार्य गर्न समेत सहज हुनेछ ।
करिव ९ वर्षदेखि महिला हिंसाका क्षेत्रमा काम गर्दै आएको आवाज नेपालले वि.सं २०७२ सालको विनाशकारी भुकम्प पछि स्नेह केन्द्र सञ्चालन गर्दै सदरमुकाम चरिकोटमा रहेको कृषि सामग्री संस्थानको भवन तथा जग्गा भाडामा लिएर जोखिममा रहेका महिला बालबालिका तथा जेष्ठ महिलाको संरक्षण, न्यायको लागि सहजीकरण, पारीवारिक पुनरस्थापना, आयआर्जनका लागि पहल,दीर्घकालीन व्यवस्थापनका लागि समन्वय तथा सहकार्यको काम गर्दै आएको छ । हाल स्नेह केन्द्रमा बालबालिका, किशोरी, सुत्केरी, गर्भवती, जेष्ठ महिलासहित संकटासन्न अवस्थामा रहेका १९ जना प्रभावित रहेका छन् ।
स्नेह केन्द्रको नियमित आय आर्जनको स्रोत नभएपनि विभिन्न व्यक्ती तथा संस्थाको सहयोगमा सञ्चालन हुदै आएको जानकारी संस्थाकी कार्यालय सचिव दुर्गा केसीको बताउनु भयो ।